निर्माण पूरा नहुँदै भत्काइयो नेपालगन्जमा फुटपाथ



नेपालगन्जको गणेशमान चोकदेखि धम्बोझी चोकसम्म सुर्खेतरोडको पश्चिमपट्टी फुटपाथ निर्माण गर्ने भनेर नेपालगन्ज उपमहानगरपालिकाले सुरु गरेको योजना पूरा नहुँदै भत्काइएको छ । निर्माणको काम पूरा नहुँदै भत्काउनुपर्ने स्थिति आउनुले उपमहानगरको कार्यक्षमतामै प्रश्न उठ्न थालेको छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँके नेपालगन्जको गणेशमान चोकदेखि धम्बोझी चोकसम्म सुर्खेतरोडको पश्चिमपट्टी फुटपाथ निर्माण गर्ने भनेर नेपालगन्ज उपमहानगरपालिकाले सुरु गरेको योजना पूरा नहुँदै भत्काइएको छ । त्यसो हुनुको कारण गुणस्तर प्रमाणित भएका टायल लगाउनु र फुटपाथको गुणस्तर सुधार गर्नु रहेको नेपालगन्ज उपमहानगरपालिकाको भनाइ छ ।

ठेकेदार कम्पनी पनि पुराना टायलको सट्टा नयाँ टायल लगाउन उपमहानगरपालिकाबाट निर्देशन आएपछि भत्काइएको बताउँछ । नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर भुपेन्द्र बोहराले कम्पनीले फुटपाथमा लगाउने टायल एनएस प्रमाणित हुनुपर्ने र त्यसो नभए भुक्तानी नहुने बताए । निर्माण कम्पनीले पहिले प्रयोग गरेका टायलहरूको गुणस्तर जाँचका लागि पठाइएको र रिपोर्ट नआइसकेको बोहराले बताए । निर्माण कम्पनीले अहिले भत्काएर प्रयोग गरेका टायलको पनि गुणस्तर प्रमाण बुझाउन नसकेको उनको भनाइ छ ।

उता निर्माण कम्पनीले अहिलेपनि पुराना टायल र नयाँ टायल मिलाएर निर्माण गरिरहेको छ । जसमा नयाँ लगाइएको खैरो रङको टायलको लम्बाई पुरानो टायलसँग नमिल्दा ग्याप धेरै भइरहेको निर्माण गरिरहेका एक मजदुरले बताए । निर्माणको जिम्मा लिएको राज विल्डर्सका सञ्चालक रामआश्रय यादव उक्त ग्यापलाई स्टोन डस्टले ‘म्यानेज’ गरिने बताउँछन् ।

पहिलेको टायलको सट्टा सेतो रङको नयाँ टायल मिलाएर प्रयोग गर्न निर्देशन आएपछि आफूले निर्माण भएको फुटपाथ पनि भत्काएर पुनः निर्माण गरिरहेको यादवको भनाइ छ । उनले भने, ‘रातो र सेतो रङको टायल मिलाएर लगाउनु भनेपछि भत्काएर फेरि लगाउँदै छु ।’ इन्जिनियर बोहरा भने पुरानो टायल प्रयोग गरिरहेको विषयमा अनभिज्ञ छन् । लगाइएको टायलको गुणस्तर प्रमाणित नभएसम्म भुक्तानी नहुने उनले बताए ।

नालीदेखि डेढ मिटर चौडाइको करिब दुई किलोमिटर फुटपाथ निर्माण गर्ने भनेर सुरु गरिएको यस योजनाको हालतले नेपालगन्ज उपमहानगरपालिकाको ठेकेदार छनौटमाथि नै प्रश्न उठेको एक स्थानीयले बताए । स्थानीय व्यापारी समेत रहेका उनले भने, ‘जाबो फुटपाथको काम पनि गर्न नसक्ने कम्पनी कसरी छानिएको हो ? बनाएको छ, भत्काएको छ । उपमहानगरपालिकाको शैली नै ठिक भएन ।’

निर्माणको काम पूरा नहुँदै भत्काउनुपर्ने स्थिति आउनुले उपमहानगरपालिकाको कार्यक्षमतामै प्रश्न उठ्न थालेको छ । यसअघि ट्राफिक लाइट लगायतका संरचना बनाउँदा पनि सडकमा पटक–पटक भत्काउने र पुर्ने काम भएको थियो । जसमा उपमहानगरले सम्बन्धित निकायसँग गर्नुपर्ने समन्वयको अभाव देखिएको थियो ।

अहिले उपमहानगर मातहतकै योजना पनि पूरा नहुँदै भत्काउनुपर्ने स्थिति आएको छ । यस अवस्थाले फुटपाथको योजना नै पूरा नहुने दिशातिर अघि बढेको छ । निर्माण कम्पनीलाई दिइएको अन्तिम मौका अवधि अब एक हप्तामा सकिँदैछ । निर्माण थालिएको एक वर्षमा पूरा नभएको योजना एक हप्तामा सकिने अवस्था छैन ।

फुटपाथ निर्माणको काम २०८० सालको माघ महिनामा मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्धिन राइले शिलान्याश गरेर सुरुवात गरिएको थियो । पहिलो चरणमा २०८१ जेठभित्र गणेशमान चोकदेखि धम्बोझी चोकसम्म पश्चिमपट्टीको फुटपाथ निर्माण गर्नेगरी सुरु गरिएकोमा एक वर्ष पुग्न लाग्दा गणेशमान चोकबाट औद्योगिक क्षेत्रसम्म मात्रै टायल बिछ्याइएको थियो । त्यही पनि भत्काएर फेरि टायल लगाइँदै छ । निर्माण कार्यका लागि सम्झौताको म्याद २०८१ कात्तिकसम्म थपेकोमा कुनै प्रगति नभएपछि ठेकेदार कम्पनीमाथि कारबाहीको प्रक्रिया अघि बढिसकेको उपमहानगरको दाबी छ ।

उपमहानगरपालिकाका इन्जिनियर भुपेन्द्र बोहराका अनुसार निर्माण कम्पनी राज बिल्डर्सलाई माघ मसान्तभित्र काम सक्नेगरी प्रतिदिन कुल ठेक्का रकमको शून्य दशमलव ०५ प्रतिशत क्षतिपूर्ति तिराउने गरी कारबाही प्रक्रिया अघि बढिसकेको छ । उक्त अवधिमा काम पूरा गरेमा कम्पनीले क्षतिपूर्तिबाहेकको भुक्तानी पाउने र पूरा गर्न नसके क्षतिपूर्ति असुल गरी कालोसूचीमा राखिने बोहराले बताएका छन् ।

कुल ६१ लाख ३७ हजार बढी लागतमा निर्माण गरिसक्ने सम्झौता गरिएकोमा अहिलेसम्म ६ लाख १२ हजार रूपैयाँँ निर्माण कम्पनीले भुक्तानी पाइसकेको बोहराले जानकारी दिए ।

इन्जिनियर बोहराले निर्माण कम्पनीले कम मूल्यमा ठेक्का सकार्ने, धेरै योजनामा ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिको सिकार उक्त योजना पनि भएको बताए । कुनै बाधा अवरोध नरहेको योजना पनि निर्माण कम्पनीकै गल्तीले अलपत्र परेको बोहराको भनाइ छ । पहिले निर्माण गुणस्तरीय नभएको र काममा ढिलाई भएको विषयमा मिसन टुडेले यसअघि पनि रिपोर्ट प्रकाशन गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधबार