काम गरेको पैसा माग्दै पर्यटन कार्यालयमा मजदुरको धर्ना



कोहलपुर (बाँके) ।

बाँकेको नेपालगन्जस्थित रानी तलाउको पर्यटकीय पूर्वाधार निर्माणमा काम गरेका कामदारले भुक्तानीको माग गर्दै कोहलपुरस्थित पर्यटन डिभिजन कार्यालय बाँकेको कार्यालयमा धर्ना दिएका छन् । काम सम्पन्न भएको लामो समय बितिसक्दासमेत भुक्तानी नदिएको भन्दै उनीहरूले मंगलबार कार्यालयमा धर्ना दिएका हुन् ।

भुक्तानी माग गर्दै १४ जना कामदारहरूको टोली मंगलबार दिउँसो नेपालगन्जबाट कोहलपुरस्थित पर्यटन डिभिजन कार्यालय बाँकेमा पुगेको थियो ।

उनीहरूले कार्यालय अगाडि पर्यटन डिभिजन कार्यालय गरी खाने दे, लुम्बिनी प्रदेश सरकार भुक्तानी दे, रानी तलाउ निर्माण उपभोक्ता समिति तुरुन्त भुक्तानी दे भन्दै नारा लगाएका थिए । पीडितहरूले लामो समयदेखि काम गरेको रकम नपाएको भन्दै कार्यालयको ध्यानाकर्षण गराउँदै आएका छन् । धर्ना कार्यक्रमको नेतृत्व गरेका दिनेशसिंह ठाकुरले काम सम्पन्न भएको महिनौँ बितिसक्दासमेत आफूहरूले भुक्तानी नपाएको गुनासो गरे । उनका अनुसार रानी तलाउको सौन्दर्यीकरणका लागि उपभोक्ता समितिमार्फत काम गरिएको थियो ।

‘हामीले रानी तलाउमा काम गरेको हो । जेठमै काम सकिएको हो । बारम्बार भन्दासमेत कार्यालयले भुक्तानी दिएको छैन’, पीडित ठाकुरले मिसन टुडेसँग भने । त्यहाँ उनीहरूले ब्लक बिछ्याउने काम गरेका थिए । यस्तै फलामको समेत काम गरेको ठाकुरको भनाइ छ । उनले त्यहाँ आफूले काम मात्रै नगरेर काम गर्नका लागि आवश्यक आफ्नो व्यक्तिगत इन्टरलक ब्लकसमेत दिएको बताए । ७/८ ट्रक बालुवासमेत झारेको ठाकुर बताउँछन् । कार्यालयबाट उनले ८ लाख ९ हजार रूपैयाँ पाउनुपर्ने बताए ।

उनी दुःख सुनाउँदै भन्छन्, ‘मेरो घर सांग्रिला बैंकमा बन्धकी छ । बैंकले तीनपटक चिठी लेखिसकेको छ । बजार जाँदा बालुवावालाले छोप्छन् । अर्को ठाउँ गयो फलामवालाले छोप्छन् । मेरो त घरै लिलाम हुने अवस्था भयो । त्यसैले कार्यालयमा धर्ना दिएको हो ।’

अर्का पीडित धनीराम चौधरीले सरकारले आफूहरूको श्रम शोषण गरेको बताए । ‘हामी दैनिक काम गरेर गुजारा चलाउँछौँ । काम गरेको पैसा पनि अहिलेसम्म दिएका छैनन् । काम समयमै सम्पन्न भएपनि अहिलेसम्म भुक्तानी पाएका छैनौँ’ चौधरीले भने । उनले कार्यालयबाट आफूले पाउनुपर्ने लाखौँ रकम लिन बाँकी रहेको बताए । अर्की पीडित लक्ष्मी चौधरीले आफूले गरेको कामको भुक्तानी नदिएर सरकारले दुःख दिएको बताइन् । उनले बारम्बार आफूले काम गरेको रकम नदिएको भन्दै कार्यालयमै धर्ना दिन आउनुपर्ने अवस्था सिर्जना भएको बताइन् ।

यता पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेले रानी तलाउको गुरुयोजना अनुसार पर्यटकीय पूर्वाधार निर्माण गरिएको बताएको छ । कार्यालयका निमित्त कार्यालय प्रमुख तथा वरिष्ठ शाखा अधिकृत टंकनाथ खनाल रानी तलाउको सौन्दर्यीकरणका लागि आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत कार्यक्रम अनुसार त्यहाँ उपभोक्ता समितिमार्फत काम भएको बताउँछन् । उनका अनुसार कूल ४० लाख रूपैयाँ लागतमा त्यहाँको काम गत असारमै सम्पन्न भइसकेको छ । कामदारले काम गरे वापतको अब २६ लाख रूपैयाँ भुक्तानी पाउन बाँकी रहेको उनले बताए ।

काम सम्पन्न भएको महिनौँ हुँदासमेत कार्यालयले कामदारलाई पूर्ण भुक्तानी गरेको छैन । अधिकृत खनालले काम सम्पन्न भइसकेको तर भुक्तानी नभएको स्वीकार गरे । ‘हामीलाई उहाँहरूले लामो समयदेखि भुक्तानीको लागि ताकेता गरिरहनु भएको छ । हामीले पनि प्रदेशमा भनेका छौँ । प्रदेश सरकारको सञ्चित कोष न्यून भएका कारण भुक्तानीमा समस्या भएको हो । सबै प्रक्रिया पूरा भइसकेको छ ।

अबको एक सातामा भुक्तानी हुन्छ,’ खनालले मिसन टुडेसँग भने । उनले कामदार नै पीडित भएको बताए । आफूहरूको तर्फबाट प्रयास गरेपनि प्रदेश सरकारबाट रकम निकासा नहुँदा आफूहरूले समेत दुःख पाएको उनको भनाइ छ । कार्यालयको दाबीबाट भुक्तानी प्रक्रियाका लागि आफूले प्रयास गरिरहेको खनालले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधबार