जुम्ला ।
दैलेखको राकम कर्णालीस्थित आधारभूत अस्पताललाई अब ५० शैयाको बनाइने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मातहत सञ्चालन गर्नेगरी यो अस्पताललाई अब ५० शैयाको बनाउन लागिएको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । उक्त क्षेत्रमा रहेको करिब ९ लाख जनसङ्ख्यालाई सेवा प्रवाह गर्ने राकममा बन्ने अस्पतालको स्तरवृद्धि गर्न लागिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार कर्णालीको केन्द्रविन्दुमा रहेको दैलेखको राकमस्थित उक्त अस्पताललाई ५० शैयामा सञ्चालन गर्ने सरकारको योजना रहेको छ । यस निर्णयले प्रतिष्ठानको भविष्यमा ठूलो सकारात्मक असर पर्ने उनले दाबी गरे ।
अब यस क्षेत्रका बासिन्दाको लागि स्वास्थ्य सेवाको सहज र प्रभावकारी पहुँच पुग्ने उनले विश्वास व्यक्त गरे । विगत लामो समयदेखिको यो सपनाको प्रोजेक्ट अब सफल हुने चरणमा रहेको उनको भनाइ छ ।
दैलेखको आठबिस नगरपालिका र प्रतिष्ठानको नियमित संवाद सहकार्यमा प्रदेश सरकार, संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालय हुँदै पुनः स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीको कार्यालय मार्फत मन्त्रिपरिषद् बैठकबाट यो महत्वपूर्ण निर्णय भएको थियो ।
प्रतिक्रिया दिनुहोस्