धनगढीमा राष्ट्रिय बेटी सम्मेलन



धनगढी ।

१९बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय बेटी सम्मेलन कैलालीको धनगढीमा सम्पन्न भएको छ ।

बेटीको सुरक्षा, शिक्षा, स्वास्थ्य सहभागिता, आत्मनिर्भर र राजनीतिक मुद्दालाई उठान गर्न सम्मेलन गरिएको आयोजक आभाषा राष्ट्रिय अभियानकी केन्द्रकी संयोजक नज्बुल खानले बताइन् । उनका अनुसार राज्यका हरेक तहमा महिलाको ५० प्रतिशत अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने, ५० प्रतिशत सहभागिता शुनिश्चितता नभए नोट डिसेन्ट अभियान सञ्चालन गर्ने, जाजरकोटका भूकम्प पीडितको सुरक्षा र पुनः स्थापनाका लागि सरकारको ध्यानाकषर्ण गर्ने मुद्दा घोषणापत्रमा उल्लेख छन् ।

त्यसैगरी आर्थिक तथा सामाजिक रूपमा पछाडि रहेका समुदायका लागि आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने, दलहरूबीच हुने गठबन्धन र तालमेलका नाममा महिला अधिकार कटौती गर्ने कार्य रोक्नुपर्ने लगायतका मुद्दा घोषणापत्र मार्फत अघि सारिएको उनले बताए । बेटी सम्मेलन समापन गर्दै सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले महिलालाई राज्यको मूल प्रवाहमा ल्याउन दवाव सिर्जना गर्नु आवश्यक रहेको बताइन । बेटी सम्मेलनले महिला आन्दोलनका अपरिहार्य विषय उठान गरेकाले ती मुद्दामा आफ्नो पूर्ण समर्थन र सहयोग रहने उनको भनाइ छ ।

बेटी अभियानले नाराका रूपमा अघि सारेको ‘आसन, भाषण र शासन’ अभियानलाई सार्थकता दिन सबै जुट्नुपर्ने उनले बताइन् । मधेशी आयोगकी सदस्य रेणु शाहले बेटी सम्मेलनपछि जारी घोषणापत्र कार्यान्वयनका लागि दवाव सिर्जना गर्नु आवश्यक रहेको बताइन् । आभाषा राष्ट्रिय अभियानकी केन्द्रिय संयोजक खानले लैङ्गीक समानता र समावेशिताका लागि महिला नेतृत्वमा आउनु अपरिहार्य रहेको बताइन् ।

महिला नेतृत्वमा नआएसम्म शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूरा हुन नसक्ने उनी बताउँछिन् । मधेशबाट सुरु भएको बेटी सम्मेलन देशका सात वटै प्रदेशमा सम्पन्न गरिएको खानले बताइन् । देशभर कार्यक्रम गर्दै आभाषा अभियानको संगठन निर्माणपछि अभियानले सार्थकता पाएको उनको भनाइ छ ।

माघ २७ गतेदेखि सुरु भएको बेटी सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका थिए । सम्मेलनबाट आभाषा राष्ट्रिय अभियान नेपालको सुदूरपश्चिम स्तरीय समिति गठन भएको छ । ७औँ राष्ट्रिय बेटी सम्मेलनले आभाषा राष्ट्रिय अभियानको समिति चयन गरेको हो । सम्मेलनले विमला कडायतको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको प्रवक्तामा अप्सरा कुँवर, व्यवस्थापकमा नजिया वानु चयन भएका छन् । यसैगरी सदस्यमा ईन्दिरा दानपाली, निर्मला विक, लक्ष्मी भण्डारी, मुस्कान खातु, लक्ष्मी रावल र जयन्ती भट्ट चयन भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधबार