इजरायल र प्यालेस्टाइनको सहअस्तित्व नै गाजा संघर्षको मुख्य समाधान हो । सारा विश्व यही मान्यतामा अडिग रहँदै आएको छ । तर गाजामा पर्दापछाडि अमेरिका र इजरायल अरू नै केही खिचडी पकाउँदै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा खाली गर्ने प्रस्ताव त्यसैको एउटा कडी हो ।
सागर गैरे
हमास र इजरायलबीचको संघर्षले केवल मध्यपूर्वलाई मात्र होइन, सम्पूर्ण विश्वलाई प्रभावित गरेको छ । यो संघर्ष केवल एउटा शैन्य टकराव मात्रै होइन, बरु एउटा जटिल राजनीतिक, धार्मिक र ऐतिहासिक समस्याको प्रतिबिम्ब हो ।
भूमध्यसागरको पूर्वी तटमा अवस्थित सानो तर अत्यधिक जनघनत्व भएको गाजा क्षेत्रमा अहिले गोलाबरुदका धमाका थामिएका छन् । बन्दुक पट्किएका छैनन् । इजरायल–हमासबीच युद्वबिराम भएपछि १५ महिना लामो युद्व थामिएर गाजाको माहोल शान्त बनेको छ ।
इजरायल–प्यालेस्टाइनबीचको द्वन्द्व लामो हो । उनीहरूका आ–आफ्नै अडान छन् । इजरायल गाजाबाट आफ्नो सुरक्षाको प्रत्याभूति चाहन्छ । प्यालेस्टिनीको माग भने आफ्नै स्वतन्त्र राज्य हुनुपर्छ भन्ने रहेको छ । दुबै पक्षले यो भूमि आफ्नो भएको दाबी गर्छन् । विश्वभरका मानिसको विश्वास छ, प्यालेस्टिनीलाई आफ्नै भूमिबाट बेदखल पारिएको छ । प्यालेस्टिनीलाई आफ्नै भूमिबाट बेदखल पार्ने रणनीति पश्चिमाहरूको हो ।
भूमिका लागि यहाँ धेरै युद्ध लडिएका छन् । धेरै संघर्ष भएका छन् । कैयौँ मानिस मारिएका छन् । कैयाँैको उठिबास लागेको छ । अहिले आएर गाजामा युद्ध थामिएको छ । ७ अक्टोबर २०२३ मा छेडिएको हमास–इजरायलबीचको लडाइँ १५ महिनापछि थामिएको हो र उनीहरूबीच संघर्षबिराम सम्झौता भएको छ । दुबै पक्षलाई सहमतिमा ल्याउन कतार, मिश्र, संयुक्त राष्ट्रसंघ र अमेरिकाले पहल गरेका थिए ।
१९ जनवरी २०२५ देखि संघर्षबिरामको मिति लागू भएको छ । इजरायल–हमास दुबैले एक अर्काका लडाकु र नागरिकलाई बन्दी बनाएका थिए । हमासले इजरायली बन्धक छाड्ने, इजरायलले पनि प्यालेस्टिनी बन्दी छाड्ने सम्झौतामा उल्लेख छ । बन्दी साटफेरको मुख्य उद्देश्य बन्धकको रिहाइ हो । यो अवधि ६–७ साता लामो हुने बताइएको छ ।
संघर्षबिराम अघिसम्म हमाससँग ९४ इजरायली बन्धक थिए । जसमध्ये ३४ को मृत्यु भएको अनुमान गरिएको थियो । इजरायलका विभिन्न जेलमा हजारौँ प्यालेस्टिनी नागरिकले बन्दी जीवन बिताइरहेका छन् । हमास र इजरायल सकेसम्म बढी आफ्ना मान्छे छुटाउन चाहन्छन् । यसका लागि हमास र इजरायलबीच बन्दी रिहाइका लागि अलग–अलग डिल भएको छ । एक बन्धक बराबर ३० बन्दी र एक इजरायली सैनिक बराबर ५० जना प्यालेस्टिनी बन्दी साट्ने सहमति भएको थियो ।
उतार–चढावबीच हमासले बन्धक छोडिरहेका छन् । इजरायलले पनि प्यालेस्टिनी बन्दी छोडिरहेको छ । अहिलेसम्म हमास र इजरायलबीच पाँच खेप बन्दी साटफेर भइसकेको छ । बन्धक साटफेरको चरण सफल भए स्थायी युद्धबिरामका लागि वार्ता अघि बढ्नेछ । तर युद्धबिराम भंग भए के हुनेछ, त्यो सबैलाई थाहा छ । अहिलेको सबैभन्दा ठूलो प्रश्न युद्वबिरामले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने नै हो । संघर्षबिराममा हमास–इजरायल आफूमा कति इमान्दार हुन्छन् भन्ने हो । अहिलेसम्मको स्थिति सामान्य तनावलाई नजरअन्दाज गरिदिने हो भने ठिकठाक ट्र्याकमा अघि बढिरहेको छ ।
सबैको सरोकार भनेको युद्धबिरामले पुरानो द्वन्द्व मेट्छ मेट्दैन भन्ने हो । धेरै कुरा अझै अन्यौलमा छन् ।
बन्दी साटफेरले जगाएको आशा
हरेक युद्धले विनाश लिएर आएको हुन्छ । युद्धमा मान्छे मर्छन्, अंगभंग हुन्छन् । आर्थिक र भौतिक विध्वंश हुन्छ । युद्धले सबै कुराको छिनोफानो गर्न सक्दैन । संघर्षरत पक्ष वार्ताको टेबुलमा बसेपछि मात्र युद्धका उपलब्धि महसुस हुन्छन् ।
हमास–इजरायल पनि युद्ध लड्दालड्दै हतियार बिसाउन राजी भएका थिए । संघर्षबिरामको एउटा पाटो बन्धकको रिहाइ थियो । हमासले पहिलो चरणमा तीन जना इजरायली बन्धकलाई रिहा गरेको थियो । दोस्रो चरणमा आफ्नो नियन्त्रणमा रहेका चार जना इजरायली बन्धकलाई रिहा गरेको थियो । ती चारै जना इजरायली महिला सैनिक थिए । उनीहरूलाई ७ अक्टोबर २०२३ मा हमास विद्रोहीहरूले इजरायली सीमाबाट बन्धक बनाएका थिए ।
उनीहरूलाई रिहा गर्नका लागि हमासले एउटा स्टेज बनाएका थिए । एउटा बाहनबाट ओरालेर उनीहरूलाई मञ्चमा उभ्याइएको थियो । बन्धक महिलाहरूले सैनिक पोसाक पहिरिएका थिए । उनीहरू सबैको हातमा सानो गिफ्ट झोला थियो । उनीहरू हाँसिरहेका थिए र स्वस्थ्य देखिन्थे । उनीहरूले उपस्थित सबैलाई हात हल्लाई हल्लाई आफ्नो खुसी साटेका थिए । बन्धक बनाइएको ४ सय ७७ दिनपछि उनीहरूले खुल्ला वातावरणमा पहिलोपटक श्वास फेर्न पाएका थिए ।
मञ्चको चारैतिर कम्ब्याट ड्रेसमा हमास विद्रोहीहरू थिए । अनुहार ढाकेका हातमा हतियार बोकेका हमास विद्रोहीहरूको ठूलो जत्था देखिन्थ्यो । उनीहरूले प्रक्रिया पु¥याइसकेपछि महिला सैनिकलाई अन्तर्रास्ट्रिय रेडक्रसका प्रतिनिधिलाई सुम्पेका थिए । रेडक्रसको गाडीबाट बन्धकलाई इजरायली सीमामा जिम्मा लगाएपछि उनीहरूलाई हेलिकोप्टरबाट तेल अभिभ पु¥याइएको थियो ।
हमास विद्रोहीले बन्धक छाड्दाका सम्पूर्ण दृश्य लाइभ स्ट्रिम भइरहेको थियो । इजरायलको राजधानी तेल अभिभमा एउटा ठूलो स्क्रिनमा लाइभ प्रसारण भएको बन्धकहरूको रिहाइलाई ठूलो सङ्ख्यामा उपस्थित बन्धकका आफन्त र उपस्थित सर्वसाधारणहरूले प्रत्यक्ष नियालिरहेका थिए । जसै इजरायली बन्धक महिलाहरूलाई हमासले मञ्चमा उभ्याएको दृश्य स्क्रिनमा देखियो, उपस्थित इजरायलीहरू खुसीले चिच्याउन थालेका थिए । कैयौँ महिलाहरू भक्कानिँदै रोएका थिए ।
यता इजरायलका विभिन्न जेलमा रहेका २ सय प्यालेस्टिनी बन्दीहरूलाई इजरायलले रिहा गरेको थियो । उनीहरूलाई सेतो रंगका बसमा चढाएर इजरायलबाट गाजातर्फ पठाइएको थियो । उनीहरूमध्ये धेरैको पहिरन पनि सेतै थियो । गाजापट्टीमा ठूलो सङ्ख्यामा प्यालेस्टिनी नागरिकहरूको उपस्थिति देखिन्थ्यो । उनीहरू गीत गाइरहेका थिए । नारा लगाइरहेका थिए । जसै रिहा गरिएका प्यालेस्टिनी बन्दीहरू बसबाट ओर्लिए । भीडले उनीहरूलाई काँधमा बोकेर खुसीले झुम्न थाल्यो । मानिसका हातहातमा प्लेकार्ड थिए । भीडमा के महिला, के पुरुष, के बालक, के वृद्ववृद्वा । उनीहरू आफ्ना नागरिक इजरायली जेलबाट रिहा भएकोमा जोडजोडले ताली बजाइरहेका थिए ।
तेस्रो चरणको बन्दी साटफेर जनवरी ३० बिहीबारका दिन भएको थियो । इजरायली बन्धक अगम बर्जरलाई हमासले उत्तरी गाजापट्टीको जवालियाको एक मञ्चमा सार्वजनिक गरेर रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई जिम्मा लगाएका थिए । त्यसको केही घन्टापछि उनीहरूले इजरायली बन्धक अर्बेल येहुदलाई छोडेका थिए । इजरायलले अर्बेल येहुदको रिहाइका लागि विशेष जोड दिएको थियो । त्यसपछि गादी मोसेसलाई छोडेका थिए । पाँच थाई बन्धकलाई छोड्दा उनीहरूले मञ्चमा कुनै कार्यक्रम गरेनन् ।
हमासले इजरायली बन्धक छोड्न जुन ठाउँको छनोट गरेका थिए त्यो त्यही घर थियो जहाँ इजरायली सेनाले हमास नेता सिनावरको हत्या गरेका थिए । हमास आफ्ना प्रमुख नेता यहाँ सिनावरप्रति श्रद्धाञ्जली दिन चाहन्थ्यो । खण्डहर त्यो ठाउँमा चारैतिर प्यालेस्टाइनका झन्डाहरू टाँगिएका थिए । त्यहाँ भर्खरै गाजा फर्किएका गाजाबासीको ठूलो भीड उपस्थित थियो । हमास विद्रोहीहरूको पनि ठूलो जत्था तैनाथ थियो । उनीहरूले अनुहार छोपेका थिए । गाजाबासी चर्काे आवाजमा हुटिङ गरिरहेका थिए । यो सब दृश्य लाइभ स्ट्रिम गरिएको थियो ।
इजरायलले गाजाबासीको भीड देखेर प्यालेस्टिनी बन्दी रिहाइमा विलम्ब गरेको थियो । २०२५ फेबु्रअरी १ मा हमासले फेरि तीन जना इजरायली बन्धक रिहा ग¥यो । युद्धबिराम सम्झौतापछि हमासले बन्धक छाडेको यो चौथो खेप थियो । रिहा हुनेमा यार्डेन विवास, ओफर काल्डेरोन र किथ सिगेल थिए । बन्धक हस्तान्तरण गर्न समुद्र किनारमा मञ्च बनाइएको थियो ।
मञ्चको पर्दामा इजरायलले मारेका हमास नेतृत्वको तस्बिर अंकित थियो । चारैतिर बर्दिधारी हमास विद्रोहीको बाक्लो उपस्थिति थियो । हमास विद्रोहीले बन्धकका तस्बिर खिचिरहेका थिए । हतियारबन्द लडाकुले बन्धकलाई बीचमा राखेर रेडक्रसका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए । ड्रोनले समेत तस्बिर खिचिरहेका दृश्य देखिन्थे ।
जवाफमा इजरायलले १ सय ८० जना प्यालेस्टिनी बन्दी रिहा गरेको थियो । जसमध्ये सत्तरी जना गाजाबासी थिए भने आजीवन काराबास पाएका १ सय जना प्यालेस्टिनी बन्दी थिए ।
फेबु्रअरी ८ मा हमासले थप तीन जना इजरायली बन्धक छोडेको छ । बदलामा इजरायलले विभिन्न जेलमा राखेका १ सय ८३ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । तीन इजरायली बन्धकमा ५६ वर्षीय ओहाद बेन अमी, ५२ वर्षीय एली शाराबी र ३४ वर्षीय या लेवी थिए । इजिप्ट र कतारको मध्यस्थता र संयुक्त राज्य अमेरिकाको समन्वयमा हमास–इजरायलबीच युद्धबिराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धक कैदी अदलाबदलीको यो पाँचौँ समूह हो । अहिलेसम्म २१ जना इजरायली बन्धक र ५६६ जना प्यालिस्टनी बन्दी रिहा भइसकेका छन् ।
६ साता अवधिको पहिलो चरणमा ३३ इजरायली बन्धक र झण्डै १९ सय कैदी रिहा हुने अपेक्षा हो । पछिल्लो पटक हमासले इजरायललाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आउने शनिबार बन्धक रिहा नगर्ने बताएको छ । गाजालाई कब्जा गरेर सिटी रिसोर्ट बनाउने वक्तव्य दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको वक्तव्यको कडा विरोध गर्दै आउने शनिबारसम्म एकमुष्ट सबै बन्धक रिहा नगरे गाजाले भयानक परिणाम भोग्नुपर्ने धम्की दिएका छन् ।
हमासको बढ्दो प्रभाव
इजरायली बन्धक सार्वजनिक गर्दा गाजामा मानिसहरूको जुन भीड देखियो त्यसले गाजाको रौनक फर्किएको देखाएको छ । गाजा त्यही गाजा हो जहाँ बिसौँ लाख मानिसहरूको बसोबास थियो कुनैबेला । जुन अहिले पुरै खण्डहर बनेको छ । बितेका १५ महिनामा त्यहाँ के मात्र भएनन् । सारा लिश्वलाई थाहा छ, गाजालाई ध्वस्त बनाउन इजरायलले कुनै कसर बाँकी छोडेन । उसले जल, जमिन, आकाश चारैतिरबाट बम खसालेर गाजाका भौतिक संरचना लगभग कामै नलाग्ने बनाएको छ । त्यहाँका अस्पताल, स्कुल, कलेज, धार्मिक स्थल कुनै पनि संरचना साविक हालतमा छैनन् । फेरि कुनै हालतमा ती संरचना प्रयोग गर्न नमिल्ने किसिमले ध्वस्त पारिएको छ ।
युद्ध सुरु भएसँगै हमास विद्रोहीहरू अन्डरग्राउन्ड भएका थिए । उनीहरूले ठाउँ–ठाउँमा इजरायली सेनालाई सानोतिनो क्षति पु¥याए पनि इजरायलले ठूलो सङ्ख्यामा हमास विद्रोहीका ठेगानमा प्रहार गरेको, धेरै विद्रोहीलाई मारेको र हमास नेतृत्व तहलाई लगभग पुरै सखाप पारेको इजरायलको दाबी रहँदै आएको छ ।
युद्धबिरामपछि भएका बन्धक साटफेर क्रममा गाजामा हतियारधारी हमास विद्रोहीको ठूलो उपस्थिति देखिएको छ । हमासले फेरि ठूलो सङ्ख्यामा सैन्य भर्ती गरेर पहिलेभन्दा बलियो भएको देखाएको छ । हमास फेरि संगठित भएको छ । उसले फेरि शक्ति सञ्चय गरेको छ ।
गाजाको भोलिको चित्र कस्तो हुन्छ त्यस्को झिल्को अर्बेल येहुदलाई रिहा गर्दा देखिएको गाजाबासीको आक्रोशले संकेत गर्दछ । यतिका विध्वंशपछि पनि गाजाबासीमा हमासको आकर्षण कम भएको छैन । युद्धबिरामपछिका हरेक बन्धक साटफेरमा हमास हाबी देखिएको छ ।
इजरायलले आफ्नो सारा ताकत लगायो तर हमासलाई निष्क्रिय पार्न सकेन । हमासले जमिनमुनि सुरुङ नेटवर्क, हतियार र आवश्यक सामानहरू भण्डारण गरेर आफूलाई जस्तोसुकै परिस्थितिका लागि तयार पारेको थियो । इजरायलको ठूलो आक्रमणका बाबजुद हमासले ठूलो क्षति बेहोर्नु परेन । उनीहरूले खाद्यान्न, औषधि, हतियार र बन्दोबस्तीका सामान भण्डारण गरेका थिए । आफूले बन्धक बनाएका इजरायलीहरूको व्यवस्थापन चानचुने कुरा थिएन । त्यो पनि जमिनभित्र ।
इजरायलले हमासलाई खतम गर्ने र बन्धकहरू फिर्ता लिने उद्देश्यले गाजामा आक्रमण गरेको थियो, तर ऊ दुवै उद्देश्यमा असफल भएको छ । इजरायलले भिषण आक्रमणका बाबजुद न हमासलाई सफाया गर्न सक्यो न त हमासको नियन्त्रणबाट आफ्ना नागरिकलाई छुटाउन नै सक्यो । बरु इजरायलको आक्रमणका बाबजुद पनि हमास पहिलेभन्दा झन शक्तिशाली देखिएको छ । गाजामा हमासको विकल्पमा अर्काे शक्तिको कल्पना पनि गर्न नसकिने स्थिति आएको छ । हमास अझ प्रभावकारी बन्ने सम्भावनामा वृद्धि भएको छ । प्यालेस्टिनी जनताको समर्थनले हमासलाई जनताकै बीचमा लुक्न र टिक्न सजिलो बनाएको थियो ।
अमेरिका र इजरायलले गाजाको भविष्यलाई लिएर अमेरिकामा भेटघाट र छलफल गरिसकेका छन् । जसरी गाजाको भविष्य अनिश्चित छ । हमासलाई नै सत्तामा कायम राख्ने वा पीएलएलाई अवसर दिइने भन्ने कुरा स्पष्ट छैन ।
भग्नावशेषको सकस
गाजा पूरै खण्डहर बनेको छ । गाजाका ८८ प्रतिशत संरचना ध्वस्त छन् । एक सर्भेका अनुसार गाजा र वेस्ट बैँकमा गरी ४ लाख बढी भौतिक संरचना नष्ट भएका छन् । कैयौँ भवन पूर्णरूपमा र केही भवन आंशिक रूपमा ध्वस्त छन् । खण्डहरबाट निक्लिएका भग्नावशेषले सडक अवरुद्व छन् । गाजामा रहेको सम्पूर्ण भग्नावशेष ५ करोड टनभन्दा बढी रहेको र उक्त भग्नावषेष हटाउन १ अर्ब २० करोड डलर लाग्ने गाजाका अधिकारीहरूले बताइरहेका छन् । उनीहरूका अनुसार सम्पूर्ण भग्नावशेष हटाउन पाँच वर्षसम्म समय लाग्नेछ त्यो पनि पर्याप्त रकम र उपकरण भए मात्रै । भग्नावशेषमा कति विष्फोटक पदार्थ पुरिएका होलान् । भग्नावशेष उठाउन साधन चाहियो त्यसलाई कहाँ लगेर फाल्ने अर्काे चुनौती छ ।
संयुक्त राष्ट्रसंघले इजरायली आक्रमणबाट गाजामा ३८ अर्ब डलरको क्षति पुगेको बताइएको छ । गाजाको पहिलेजस्तै पुनर्निर्माणका लागि १० वर्षभन्दा बढीको समय लाग्नेछ । इजरायलले गाजामा व्यापक आक्रमण थालेपछि उनीहरू सपरिवार गाजा छोडेर सुरक्षित स्थलको खोजीमा दक्षिणी गाजा आएका थिए । जसै युद्धबिराम भयो र गोलाबारुदको आवाज मत्थर भयो । उनीहरू आफ्ना परिवार बोकेर घर फर्किरहेका छन् । उनीहरूलाई थाहा छ, गाजा पूरै खण्डहर छ । त्यहाँ बस्न घर छैनन् । खरिददारीका पसल छैनन् । बच्चालाई पढाउने स्कुल छैनन् । औषधि गर्ने अस्पताल छैनन् । खानेपानी छैन । बत्ती छैन । सबथोक भताभुंग छ ।
यसका बाबजुद पनि प्यालेस्टिनी नागरिक गाजाको आफ्नो थातथलो फर्किएका छन् । उनीहरू आफ्नो आवास सुरक्षित नभएको जान्दाजान्दै पनि यस अर्थमा फर्किएका छन् कि त्यो उनीहरूको पुर्खाको थलो हो । उनीहरूलाई त्यहाँबाट विस्थापित गर्न अनेकौँ चाल चलिएका छन् । त्यहाँबाट विस्थापित हुनुको मतलब सधँैका लागि विस्थापित हुनु हो । उनीहरू त्यो कदापि चाहँदैनन् ।
अनेकौँ दुःख र कष्ट सहेर गाजाका भग्नावशेषमा पाल टाँगेर उनीहरू बसेका छन् ।
युद्धबिराम जारी छ र दुवैतर्फबाट बन्दीहरूको अदलाबदली सर्तअनुसार चलिरहेको छ । जसै ट्रम्पले प्यालेस्टिनीहरूलाई जोर्डन र मिश्रमा सेटलमेन्ट गर्ने प्रस्ताव अघि सारे । खबर सुन्नेबित्तिकै गाजाबासी आफ्नो थातथलोमा फर्किन झन् आतुर भएका थिए । अमेरिका र इजरायल गाजा पुरै खाली गराउन चाहन्छ । गाजामा इजरायली सेना स्थापित भइसकेपछि उनीहरूले त्यो भूमि आफ्नो बनाउने थिए । गाजाबासीमा यही डर थियो । आफ्ना पुर्खाहरूले आवाद गरेको गाजा सधैँलाई गुमाउनुपर्ने भयले उनीहरू हतार–हतारमा पैदल गाजा फर्किएका थिए ।
जसै उनीहरू गाजा फर्किए । त्यहाँ सद्दे संरचना एउटै थिएनन् । फेरि पनि उनीहरू खुसी छन् । यो उनीहरूको जमिन हो । उनीहरूले सबैभन्दा पहिले आफ्नो जमिनलाई ढोगेका दृश्य मार्मिक थिए । अहिले उनीहरू त्यहाँ टेन्ट हालेर बसेका छन् । लाखौँ मानिसहरू गाजा फर्किसकेका छन् । गाजामा फेरि चहलपहल सुरु भएको छ ।
गाजावासी विश्वस्त छन् कुनै दिन उनीहरूको आफ्नै स्वतन्त्र देश प्यालेस्टाइन यही भूमिमा अस्तित्वमा आउनेछ ।
ट्रम्पको प्रस्ताव र अन्तर्राष्ट्रिय प्रतिक्रिया
अमेरिकी राष्ट्रपतिले गाजा खाली गर्ने प्रस्ताव राखेका छन् । गाजाका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने र त्यहाँको संघर्षलाई सधैँका लागि समाधान गर्ने उनको प्रस्तावमा उल्लेख छ । ‘युद्धबिराम सम्झौतापछि अमेरिकाले गाजा नियन्त्रणमा लिन्छ, त्यहाँ रहेका विष्फोटक पदार्थ र सम्पूर्ण हातहतियार पन्छाएर गाजा क्षेत्रलाई पुरै सम्याएर मध्यपूर्वकै आकर्षक पर्यटकीय स्थल बनाइनेछ । लडाइँ सकिएपछि गाजा क्षेत्र इजरायली सेनाले अमेरिकालाई जिम्मा दिनेछ । गाजाको निर्माणपछि गाजाबासीलाई त्यहाँ पुनस्र्थापित गरिनेछ’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए ।
ट्रम्पले आफ्नो भनाइकै कारण विश्वभरिबाट विरोध झेल्नुप¥यो । उनले प्यालेस्टिनी नागरिकलाई जोर्डन र मिश्रले शरण दिनुपर्ने बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डनका राजा र मिश्रका राष्ट्रपतिसँग छुट्टाछुट्टै गाजामा सम्पूर्ण पूर्वाधार ध्वस्त भएकाले प्यालेस्टिनी नागरिकलाई यी दुई देशले पूर्वाधार निर्माण गरेर शरण दिन आग्रह गरेका थिए । ताकि गाजालाई पूर्णरूपमा खाली गर्न सकियोस् । जोर्डन र मिश्रले अमेरिकी प्रस्तावको तत्काल विरोध गरेका छन् । ‘जोर्डन, जोर्डनका नागरिकका लागि हो र गाजा प्यालेस्टिनीहरूका लागि । हाम्रो क्लियर अडान यही हो,’ जोर्डनी राजाले भनेका छन् ।
पहिले पनि इजरायल प्यालेस्टिन युद्धमा थुप्रै प्यालेस्टिनी नागरिकले जोर्डन र मिश्रमा शरणार्थीको रूपमा प्रवेश गरेका थिए । पछि उनीहरू त्यहीँ बसे तर गाजा फर्किएनन् । त्यसैले जोर्डन र मिश्र यसपटक त्यो रिस्क लिन पटक्कै चाहँदैनन् ।
फ्रान्स र स्पेनले पनि अमेरिकी राष्ट्रपतिको प्रस्तावको विरोध गरेका छन् । अमेरिकी राष्ट्रपतिको प्रस्ताव सुन्नेबित्तिकै विश्वभरका देशहरू यो प्रस्तावको विरोधमा बोलेका छन् । डोनाल्ड ट्रम्पको प्रस्तावको विश्वभरबाट आलोचना भएको छ ।
गाजालाई सबैभन्दा सुन्दर ठाउँ बनाउनका लागि र गाजाबासीलाई ल्याएर पुनस्र्थापित गर्ने कुरा झट्ट सुन्दा आकर्षक लागे पनि यसका पछाडि लुकेको अमेरिकी र इजरायली स्वार्थको भनक अरब मुलुकहरूले बुझिसकेका छन् ।
हमासले अमेरिकाको प्रस्तावलाई ‘नश्लवादी सोच’ भनेको छ । कुनै पनि देशका नागरिकलाई जबर्जस्ती निर्वासन गर्नु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन हो । अमेरिका र इजरायल विभिन्न ललिपप देखाएर प्यालेस्टिनी नागरिकलाई गाजाबाट लखेटेर गाजालाई इजरायलको नियन्त्रणमा राख्न चाहन्छ ।
गाजा मुद्दाको समाधान के ?
इजरायल–प्यालेस्टाइन मुद्दा सयौँ वर्ष पुरानो हो । इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधानको सबैभन्दा भरपर्दाे विकल्प दुई राज्यको स्थापना हो ।
प्यालेस्टिनी नागरिकको सरोकार प्यालेस्टिनी राज्यको स्थापना हो ।
अमेरिकाले गाजाबासीलाई तेस्रो देशमा स्वेच्छाले जान दिने र बाँकी रहेकालाई कतै पुनस्र्थापित गर्ने योजना अघि सारेका थिए । गाजा खाली भइसकेपछि त्यो भूमिमा निश्चित रूपमा इजरायली नियन्त्रण कायम रहनेछ ।
बन्धक साटफेर सकिएपछि गाजाबाट इजरायली सेना फिर्ता हुनेछन् । गाजामा रहेका भग्नावशेष पन्छाएर गाजाको पुनर्निर्माण गरिने संघर्षबिराम सम्झौतामा उल्लेख छ ।
गाजा कस्को नियन्त्रणमा जाने, त्यहाँ कस्तो खालको शासन रहने भन्ने कुरा अस्पष्ट छन् । यसअघि गाजामा हमासको सरकार विद्यमान थियो । अहिले पनि हमास गाजाको महत्वपूर्ण शक्तिको रूपमा रहिआएको छ ।
इजरायल र प्यालेस्टाइनको सहअस्तित्व नै गाजा संघर्षको मुख्य समाधान हो । सारा विश्व यही मान्यतामा अडिग रहँदै आएको छ । तर गाजामा पर्दापछाडि अमेरिका र इजरायल अरू नै केही खिचडी पकाउँदै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा खाली गर्ने प्रस्ताव त्यसैको एउटा कडी हो ।
प्यालेस्टिनी नागरिक प्यालेस्टाइन राज्य स्थापनाका लागि अडिग छन् । आफ्नो मागका लागि कति प्यालेस्टिनीहरूले रगत बगाइसकेका छन् । प्यालेस्टिनी समस्या मध्यपूर्वको जटिल घाउ हो । आजभन्दा ७५ वर्ष अगाडिदेखि नै गाजाबासीलाई अन्यत्र स्थानान्तरण गर्ने प्रयास पटक पटक भएका हुन् । यसरी हेर्दा ट्रम्पको गाजा खाली गराउने योजना कुनै नयाँ सोच होइन । गाजाको अधिकार समाप्त गर्न खोज्ने अमेरिकी र इजरायलको लोभमा प्यालेस्टिनी नागरिक सजिलै फस्छन् भनेर सोच्नु अमेरिका र इजरायलको महाभूल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्