वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का एकजना स्थानीयले विदेश पठाइदिने दलालको फन्दामा परेर ६० लाख रूपैयाँ गुमाउन पुगेका छन् । स्थानीय तीनजना व्यक्तिहरूले विदेश जाने मानिसहरू तयार गरेमा दाइ र सालालाई निःशुल्क मलेसिया पठाइदिने भनेर दिएको झुटो आश्वासनमा फसेर ६० लाख रूपैयाँ गुमाउन पुगेको ती व्यक्तिले बताएका छन् ।
यसरी ठगीमा पर्ने व्यक्ति खजुरा गाउँपालिका वडा नम्बर ५ का ३६ वर्षीय रामकृष्ण मुराउ हुन् । २०८० सालको भदौतिर बाँकेकै खजुरा र जानकी गाउँपालिकाका तीनजना व्यक्तिहरूले मलेसिया पठाउनका लागि आफूहरूले पहल गरिरहेको र त्यहाँ आकर्षक तलब पाइने बताउँदै आफूलाई जमानी राखेर करिब एक सय ४० जनाबाट ४२ लाखबढी असुल गरी ठगी गरेको मुराउले पत्रकारहरू माझ बताएका हुन् । त्यसरी रकम उठाएर उनीहरूले काठमाडौं लग्ने र स्वास्थ्य परीक्षण गर्ने गरी झुक्याएको तर मलेसिया नपठाएर फरार भएको मुराउको भनाइ छ ।
यसरी ठगी गर्नेहरू खजुरा ३ धौलागिरी बस्ने ४५ वर्षीय सन्तोषकुमार विक, जानकी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय गौरीलाल विक र टेकबहादुर विक रहेको उनको आरोप छ । उनीहरूले विदेश जाने व्यक्तिहरू तयार गरेमा आफ्नो दाइ र सालालाई निःशुल्क मलेसिया पठाउने र एक व्यक्तिबाट १० हजार कमिसन दिने आश्वासन दिएको मुराउ बताउँछन् ।
ती तीनजना व्यक्तिले रकम असुल गरेका व्यक्तिहरूले आफूसँग पैसा फिर्ता माग्न थालेपछि आफूले बाध्य भएर पैसा फिर्ता गरेपनि ठगीकर्ताहरूबाट आफूले पैसा फिर्ता नपाएको भन्दै उनी अहिले प्रहरी प्रशासन धाइरहेका छन् । ‘संस्थामा काम गर्ने मान्छे थिए । हामीले युवाहरूलाई विदेश पठाइदिने व्यवस्था गरेका छौँ भने । अलिअलि तपाईंलाई पनि फाइदा हुन्छ भने । मैले पत्याएर गल्ती गरेँ । मिल चलाएर बसेको मलाई गाउँलेले विश्वास गर्थे । त्यसैको फाइदा उठाएर ठगी गरे,’ मुराउले भने ।
खजुरामा राइस मिल चलाउँदै आएका मुराउ आफ्नो विश्वासमा परेर स्थानीयहरूले दिएको पैसा सन्तोषको खातामा पठाइदिने गरे पनि ठगीमा परेपछि आफूले करिब एक सय ४० जनाको ४२ लाख रूपैयाँ फिर्ता गरिदिएको बताउँछन् । उक्त पैसा घर बैंकमा राखेर ऋण लिएर फिर्ता गरेको मुराउको भनाइ छ । तर सन्तोष, गौरी र टेकबहादु्रले उक्त पैसा आफूलाई फिर्ता नगरेपछि न्याय माग्दा कतैबाट पनि न्याय नपाइएको, आफूले रकम नउठाएका व्यक्तिहरूबाट धम्कीहरू आइरहेको, आफ्नो ज्यान असुरक्षित भएको र व्यवसाय चौपट भएको उनको भनाइ छ ।
पैसा असुलेका युवाहरूलाई मलेसिया पठाउन नसकेपछि सन्तोषकुमार विकले ४५ दिनभित्र भिसा नआएमा पैसा निकालेर फिर्ता गरिदिनु भनेर २०८१ को कात्तिकमा पाँच लाखको चेक दिएका थिए । ४५ दिन कट्दापनि न भिसा आयो न चेक साटियो । त्यसपछि मुराउले प्रहरीमा उजुरी दिने बताएपछि रकम फिर्ताको लागि सन्तोषले एक महिना अवधिका फरक–फरक मिति राखेर कामना विकास बैंक कोहलपुर शाखाको ०३९१३६००२७३३४२०००००१ नम्बरको खाताका दुई लाख, पाँच लाख र १०–१० लाखका गरी चारवटा चेक मुराउलाई दिएका छन् ।
ती चेक दिएर मामला सल्टाउने सहमति खजुरा गाउँपालिकाकै एकजना बहालवाला वडाध्यक्षको रोहबरमा भएको मुराउको भनाइ छ । तर ती वडाध्यक्ष उक्त विषयमा आफूलाई जानकारी नभएको बताउँछन् ।
सन्तोषले दिएका कुनैपनि चेक नसाटिएपछि मुराउ छटपटिँदै सबै चेक लिएर बाँके प्रहरीमा चेक अनदारको मुद्धा दायर गर्न पुगे । २०८१ साल वैशाख ३१ गते बाँके प्रहरीले कात्तिकमा दिएको पाँच लाखको चेकको मात्रै चेक अनदारमा मु्द्धा दायर गरेको छ । उक्त मुद्धा बाँके प्रहरीले बाँके जिल्ला अदालतमा कारबाहीका लागि २०८१ असोज २१ गते पठाएको बाँके प्रहरीको मुद्धा फाँटको रेकर्डमा देखिन्छ ।
मुराउ आफूले सबै चेकको अनादरको मुद्धा दर्ताका लागि निवेदन दिएपनि प्रहरीले पाँच लाखको चेकलाई मात्रै प्रमाणको रूपमा लिएको आरोप लगाउँछन् । यता बाँके प्रहरीका एक प्रहरी निरीक्षकले बैंकले चेक अनादर भनेको अवस्थामा मात्रै मुद्धा अघि बढ्ने गरेको बताए । मुराउको मुद्धामा अब अदालतको आदेशअनुसार हुने उनको भनाइ छ ।
यसबीचमा प्रहरीमा धाउँदा धाउँदै उनी एकजना बिचौलियाबाट पनि ठगिन पुगेको बताउँछन् । ‘पहिला प्रहरी नै रहेको त्यो मान्छेले प्रहरीलाई निश्चित प्रतिशत बुझाउने हो भने म सबै पैसा फिर्ता हुने व्यवस्था मिलाइदिन्छु भन्यो । तर उसैले मेरो मोबाइल चोरेर मोबाइलमा भएका सबै प्रमाणहरू डिलेट गरिदियो । उ पनि ठगहरूसँगै मिलेको रहेछ,’ मुराउ भन्छन् ।
मुराउ दुईजना आफन्तको निःशुल्क भिषा र कमिसनको लोभमा परेर अहिलेसम्म काठमाडौं आउजाउ लगायतको काममा गरी करिब ६० लाख खर्च भइसकेको बताउँछन् । गाउँमा राम्रै परिचय भएका व्यक्तिको विश्वासमा परेर आफू नै संकटमा परेको उनले बताएका छन् । ‘म धम्कीका कारण कैयौँ दिन घर जान सकिनँ । अहिलेपनि उनीहरूका मान्छेको धम्की आउँछ । पैसा सबै फिर्ता गर्दागर्दै सकियो । अहिले मिल चलाउन पनि धौ धौ छ । घर पनि बच्ने हो कि होइन थाहा छैन,’ मुराउले चिन्तित मुद्रामा भने ।
मुराउले आरोप लगाएका तीनै जना व्यक्तिहरूको टेलिफोन नम्बरमा सम्पर्क हुन सकेन ।
‘माधव नेपालदेखि झलनाथसम्मलाई भेटाएर झुक्याइयो’
मुराउ आफू र स्थानीय युवाहरूलाई ठगी गरेर सम्पर्कविहीन भएका सन्तोषकुमार विक, गौरीलाल विक र टेकबहादुर विकको सार्वजनिक परिचयका कारण आफू विश्वासमा परेर फसेको बताउँछन् । उनीहरूले आफूलाई विश्वासको भ्रममा पार्न पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल एवम् वेदुराम भुषाल सम्मलाई भेट गराएको मुराउले बताए ।
गौरीलाल नेकपा (एकीकृत समाजवादी) को दलित मुक्ति संगठनका बाँके जिल्ला नेतासमेत रहेका छन् । उनीहरूले त्यही सम्बन्धको फाइदा उठाउँदै पटक–पटक काठमाडौं लगेर नेताहरूलाई भेटाउने र ती नेताहरूले नै मलेसिया पठाइदिने व्यवस्था मिलाइदिने भन्दै फकाउने गरेको मुराउको भनाइ छ ।
गौरीलाल जानकी गाउँपालिका ४ मा रहेको खुल्ला चौपाया संरक्षण तथा व्यवस्थापन संस्थाको अध्यक्ष रहेको एवम् सन्तोष सुन्दर बिहानी युवा क्लब जानकी ४ का अध्यक्ष र टेकबहादुर क्लबका सचिवको रूपमा आफूसँग परिचित रहेको मुराउ बताउँछन् । त्यही सामाजिक कामको छविका कारण उनीहरूले भनेको आफूले पत्याएको मुराउले बताए ।
तर पछि समयमा काम नभएपछि आफूले शंका गर्दा काठमाडौं लगेर कैयौँ दिन होटलमा राख्ने, नेताहरूलाई भेटाउने र उनीहरूलाई देखाएर झुक्याउने गरेको मुराउ बताउँछन् ।
गौरीलालले जागिर मिलाइदिने भनेर पनि ठगी गरेको आरोप
मुराउले मलेसिया पठाउने भनेर ठगी गरेको आरोप लगाएका गौरीलाल विकले अर्का एक युवालाई सशस्त्र प्रहरीको जागिर लगाइदिन्छु भन्दै ठगी गरेको पनि पाइएको छ । खजुरा गाउँपालिकाकी एक महिलाले गौरीलालले आफ्ना २१ वर्षीय छोरालाई सशस्त्र प्रहरीको जागिर लगाइदिन्छु भनेर एक लाख रूपैयाँ असुल गरेको तर त्यसो नभएपछि पैसा पनि फिर्ता नगरेको बताएकी छन् ।
मुक्तिनाथ विकास बैंक नेपालगन्जमा गौरीलाल कामीको नाममा रहेको खाताको २०८० साल चैत्र १६ गतेको मिति उल्लेखित चेक देखाउँदै ती महिलाले भनिन्, ‘गौरीलाल मेरो आफन्तमा नाता पर्छन् । तर उनले मेरो छोरालाई सशस्त्रमा जागिर लगाइदिने भन्दै एक लाख लिएर गएका थिए । जागिर नपाइएपछि उनले रकम फिर्ता पनि गरेनन् । पछि ५० हजारको यो चेक दिएका थिए । यही पनि अहिलेसम्म साटिएको छैन ।’
प्रतिक्रिया दिनुहोस्