अब नेपालगन्जमा रहेको नेपालगन्ज मेडिकल कलेजको सेवा कोहलपुर र चिसापानीबाट मात्रै सञ्चालित हुनेछ । नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्ज रहेको स्थानबाट ‘सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालि’ ले तीन सय बेडको अस्पताल सञ्चालन गर्ने तयारी रहेको बताइन्छ । सोमबार साँझदेखि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जको गेटमा ‘सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालि’को बोर्डसमेत लागिसकेको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
पश्चिम नेपालको एक अग्रणी सहर नेपालगन्जको बीपी चोकनजिकै रहेको एउटा स्वास्थ्य संस्था, जसको गेटमा पुस १५ गते साँझसम्म लेखिएको थियो ‘नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्ज ।’ जसभित्र तलबवृद्धिको माग राखेर नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरूले मंगलबार पनि आन्दोलन गरिरहेका थिए । जहाँ स्वास्थ्य उपचारको काम नेपालगन्ज मेडिकल कलेजकै नाममा हुने गरेको थियो । मंगलबारसम्म पनि ती सबै कामहरू नेपालगन्ज मेडिकल कलेजकै नाममा भइरहेका थिए ।
तर, २०८१ पुस १५ गते साँझ अँध्यारो भइसकेपछि उक्त स्वास्थ्य संस्थाको गेटमा ‘नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्ज’ उल्लेखित नाम हटाएर नयाँ नाम ‘सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालि’ भनेर राखिएको छ । सोही सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिको नाममा नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरिएको भनेर एउटा विज्ञापन सार्वजनिक भएको छ । जसमा न कम्पनीको लोगो छ, न विज्ञापन प्रकाशित भएको मिति उल्लेख छ ।
उक्त दरखास्त सूचनामा हालसम्म सार्वजनिक रूपले थाहा नभएको नेपालगन्जको बीपी चोकमा रहेको नेपालगन्ज हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि नामक कम्पनीसँग २०८१ साल साउन १० गते सञ्जीवनी मर्ज भएको उल्लेख गरिएको छ । २०८२ माघ मसान्तभित्र आवेदन दिइसक्न भनेर करिब ९ सय जना कर्मचारीका लागि दरखास्त उक्त सूचनामा माग गरिएको छ । ती कर्मचारीहरू तीन सय बेडको अस्पताल सञ्चालनका लागि भनेर माग गरिएको उक्त सूचनाको व्यहोरामा भनिएको छ ।
श्रम ऐनमा संस्था मर्ज हुँदा स्वामित्व लिने संस्थाले नै कर्मचारीहरूको पनि दायित्व लिनुपर्ने व्यवस्था गरेको छ । तर, अधिकांश कर्मचारीहरूको नियुक्ति सञ्जीवनी मर्ज भएको नेपालगन्ज हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका नाममा नभई लर्डबुद्ध एजुकेसनल एकेडेमी लिमिटेडका नाममा भएको छ ।
नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक श्याम शर्मा भन्छन्, ‘अब नेपालगन्जमा रहेको नेपालगन्ज मेडिकल कलेजको सेवा कोहलपुर र चिसापानीबाट मात्रै सञ्चालित हुनेछ ।’ नेपालगन्ज मेडिकल कलेजको बोर्ड झुन्ड्याएर नेपालगन्जमा हालसम्म सञ्चालन गरिरहेको स्वास्थ्य केन्द्रको संरचना वास्तवमा नेपालगन्ज मेडिकल कलेजको नभई नेपालगन्ज हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि नामक कम्पनीको थियो ।
शर्माका अनुसार उक्त संरचना प्रालिसँग लिजमा लिएर नेपालगन्ज मेडिकल कलेजले आफ्नो सेवा सञ्चालन गरिरहेको थियो । अब दरखास्त आह्वान गरिएको भनेर सार्वजनिक सूचनाअनुसार उक्त संरचनामा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालि नामक नेपालगन्जका लागि नयाँ संस्थाले तीन सय बेडको अस्पताल सञ्चालनमा ल्याउनेछ । जसका सञ्चालक अहिले नेपालगन्ज मेडिकल कलेजको धेरै सेयर रहेका खुमा अर्याल नै हुन् । पहिले बुटवलमा रहेको प्रालि अब नेपालगन्जमा स्थानान्तरण हुन लागेको बताइएको छ ।
‘अहिले मेडिकल कलेजमा आन्दोलनरत कर्मचारीहरूले कि त नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आउनुपर्छ, होइन भने प्रक्रियाअनुसार पुनः आवेदन दिएर काम गर्नुपर्छ,’ शर्माले भने । उनले मेडिकल कलेजले कर्मचारीहरूलाई यत्तिकै अलपत्र नपार्ने पनि बताए । तर, स्पष्ट हुन नसकेको विषय छ, के साँच्चै नेपालगन्जमा तीन सय बेडको नयाँ अस्पताल सञ्चालनमा आउँदै हो ? सञ्जीवनी सम्बद्ध र नेपालगन्ज मेडिकल कलेज सम्बद्ध स्रोत भन्छ, हो अब नयाँ व्यवस्थापनका साथ तीन सय बेडको अस्पताल सञ्चालनमा आउँदै छ ।
त्यसकै लागि कर्मचारी नियुक्ति गर्न उक्त सूचना जारी भएको हो । तर, वस्तुस्थिति र परिस्थितिले उक्त सूचना र गेटमा झुन्ड्याइएको बोर्ड लर्डबुद्ध एजुकेसनल एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीहरूलाई तर्साउनका लागि मात्रै गरिएको हो भन्ने देखाइरहेको छ ।
उक्त अस्पताल सञ्चालनका लागि पुग्ने संरचना नै अहिले नबनेको मेडिकल कलेजका कर्मचारीहरू बताउँछन् । हाल सञ्चालनमा रहेको नेपालगन्ज मेडिकल कलेज दुई सय बेडमा मात्रै सञ्चालित छ । अब तीन सय बेडको अस्पताल बनाउँदा उक्त संरचना नै पर्याप्त हुने आधार नरहेको उनीहरूको भनाइ छ ।
अहिले सञ्चालित नेपालगन्ज मेडिकल कलेजले नै सेवाग्राहीको पार्किङको व्यवस्थापन गरिसकिरहेको छैन । अर्काेतिर, यहीबेला मेडिकल कलेजका कर्मचारीहरू २१ दिनदेखि आन्दोलनमा छन् । यहीबेला मेडिकल कलेजका मुख्य सञ्चालक नै रहेका अर्यालको अर्काे कम्पनीको बोर्ड उक्त संस्थाको गेटका झुन्डिनुलाई धेरैले कर्मचारीलाई तर्साउने खेलको रूपमा बुझेका छन् । आन्दोलनमा सहभागी ल्याबका कर्मचारी शौरभ पाण्डे पनि अहिले भएको कर्मचारीलाई नै तलब दिन नसक्ने सञ्चालकहरूले थप कर्मचारीहरू राखेर कसरी व्यवस्थापन गर्छन् भन्ने नै प्रश्न रहेको बताउँछन् ।
कर्मचारीहरू भन्छन्, ‘गलाउन, तर्साउन र उत्तेजित पार्न खोजियो’
काम गर्दै आएको संस्थाको गेटमा रातारात नयाँ कम्पनीको बोर्ड राखिएको देख्दा कस्तो महसुस भयो ? नेपालगन्ज मेडिकल कलेजमा कार्यरत नर्स सुमन गिरीलाई प्रश्न सोध्दा उनका आँखामा आँसु थिए । उनले सम्हालिएर भनिन्, ‘म्यानेजमेन्टलाई लागिराछ यो संस्था हामीले पैसा हालेर बनायौँ । पैसा हालेर किन्यौँ । १५ बेडदेखि आज सात सय बेडसम्म बनाउँदा कर्मचारीको कुनै योगदान छैन ? म्यानेजमेन्टले हामीलाई गलाउन प्रयास गरिरहेको छ ।’
पुस १४ गते प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको पहलमा जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख, मानव अधिकारकर्मीहरू समेतको उपस्थितिमा भएको छलफलमा दुवै पक्षको मिलनबिन्दुका रूपमा प्रस्ताव राखी ३ दिनभित्र समस्या समाधान गर्न सुझाव दिएको थियो । तर, व्यवस्थापनले एक्कासि अर्कै कम्पनीको बोर्ड झन्ड्याएपछि आफूहरू चकित परेको कर्मचारीहरू बताउँछन् ।
अहिले सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिले आफनो बोर्ड झुन्ड्याएको नेपालगन्ज मेडिकल कलेजको पाङ्गणमा मंगलबार पनि कर्मचारीहरू धर्ना बसेर आफ्ना मागमा ऐक्यबद्धता जनाइरहेका थिए । त्यहाँ भेटिएका केही नर्सिङ स्टाफहरूले कलेजले आफूहरूलाई न्यूनतम तलब १५ हजार ५ सय ४६ मात्रै दिइरहेको भन्दै उक्त तलबले अहिलेको महँगीमा आफूहरूको खर्च धान्न नै मुस्किल भइरहेकाले सरकारले नै सरकारी मापदण्डसरह दिनु भनेर निर्देशन दिएको न्यूनतम तलब दिन माग राख्दा पनि आफूहरूमाथि मानसिक यातना दिने काम भइरहेको बताए ।
मंगलबार नै अहिले सञ्जीवनीको बोर्ड झुन्ड्याउनु फर्जी काम भएको र अवैधानिक काम भएको आन्दोलनरत कर्मचारीहरूले पत्रकार सम्मेलन गरी बताएका थिए । संस्थाको स्थापनादेखि काम गरेका कर्मचारीहरूले पनि एक्कासि अर्कै कम्पनीको नाम गेटमा देख्दा पीडा महसुस गरेको बताए ।
कर्मचारी आन्दोलन परिचालन कमिटीका संयोजक तथा मेडिकल कलेजका पारामेडिक्सतर्फका कर्मचारी नेत्रबहादुर खत्रीले वार्ता गरेर समाधानको बाटोमा जानुको साटो अर्काे कम्पनीको बोर्ड लगाउनुका पछाडि कर्मचारीलाई उत्तेजित पार्ने मनसाय रहेको बताए । उनले कर्मचारीलाई भाँड्ने मनसाय पनि सञ्चालकहरूको रहेको भन्दै आफूहरू एकबद्ध भएर आन्दोलन जारी राख्ने दाबी गरे ।
कर्मचारीको तर्फबाट वार्ता कमिटीका एक जना सदस्यले पैसाको बलमा आन्दोलन तुहाउने रणनीति व्यवस्थापनले अपनाएको बताए । अब मेडिकल कलेजको ठाउँमा नयाँ कम्पनीको बोर्ड राख्नु नेपालगन्जबासी सबैको चासो हुनुपर्ने बताए । कर्मचारीहरू तलब वृद्धि, तह मिलान, कर्मचारीका छोराछोरीलाई अध्ययनमा सहुलियत, क्रिटिकल केयरमा काम गर्ने कर्मचारीलाई इन्सेन्टिभलगायतका माग राखेर आन्दोलनमा छन् । उनीहरू माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउँछन् ।
अस्पतालको ओपीडी र प्रशासन कक्ष कर्मचारीहरूले बन्द गराएका छन् । जसकारण सेवाग्राहीहरू ओपीडीको सेवा लिनबाट वञ्चित भएका छन् । यसविरुद्ध मेडिकल कलेज व्यवस्थापन अदालत गएको छ । कलेज व्यवस्थापन अहिले कम्पनी घाटामा चलिरहेकाले तलब बढाउन नसकिने बताउँदै आएको छ ।
सार्वजनिक रूपमा चासो
नेपालगन्ज मेडिकल कलेजको नेपालगन्जस्थित संस्थाको गेटमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालि नामक नेपालगन्जका लागि अपरिचित नामको बोर्ड झुन्डिएपछि त्यसले सार्वजनिक वृत्तमा पनि चासो उत्पन्न गराएको छ । त्यसमा अधिकांशले नेपालगन्जको परिचयसँग जोडिएको मेडिकल कलेजको नाम मेटाउन खोजिएको, नयाँ संस्थाले मेडिकल कलेजले दिने सहुलियतको सेवा नदिने ? जस्ता विषय प्राथमिकरूपले उठेका छन् ।
साउनयता मेडिकल कलेजमा सेवाहरूको शुल्क शतप्रतिशतसम्म वृद्धि गरिएको विषयमा मिसन टुडेले समाचार नै प्रकाशित गरेको थियो । सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालि मर्ज भएको भनिएको पनि सोही समय भएकाले सञ्जीवनीले नेपालगन्ज मेडिकल कलेजजत्तिकै सहुलियतनमा सेवा नदिने बुझ्न सकिन्छ । नर्स सुमन गिरी भन्छिन्, ‘पब्लिक लिमिटेडले दिने सहुलियत अब प्राइभेट कम्पनीले कहाँ दिन्छ ? यदि नेपालगन्ज मेडिकल कलेज हट्यो भने त्यसको असर सीधा नागरिकहरूमाथि पर्छ ।’
राजनीतिकर्मी पशुपतिदयाल मिश्राले पनि नयाँ संस्था आउँदा त्यसले दिने सेवा सहुलियत र सुविधाजनक हुनपर्ने विषय सार्वजनिक चासोको विषय भएको बताउँछन् । ‘कम्पनी मर्ज हुनु र नहुनु आन्तरिक विषय भए पनि कर्मचारीको व्यवस्थापन र नागरिकले पाउने सेवाको विषय सार्वजनिक चिन्ताको विषय हुन्,’ उनले भने ।
सामाजिक अभियन्ता श्रीराम सिग्देल नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको पहिचानसँग जोडिएकाले यसको नाम नै परिवर्तन गर्नु निन्दनीय र भत्सर्नायोग्य रहेको बताउँछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालगन्ज र नेपालगन्जियाले त्यस मेडिकल कलेजबाट अपनत्व त्याग्दाको परिणाम कदापि मेडिकल कलेजका लागि राम्रो हुनेछैन । इतिहास मेटाउनेहरूको कहीँकतै फलिफाप भएको छैन ।’
प्रतिक्रिया दिनुहोस्