लुम्बिनी प्राविधिक विश्वविद्यालयले नेपालगन्जमा प्रयोगविहीन अवस्थामा रहेको कृषि विकास बैंकको तत्कालीन क्षेत्रीय कार्यालय रहेको धम्बोझी चोक नजिकै रहेको तीन तले भवनलाई प्रयोगमा ल्याउने भएको हो । साना ठूला गरी २४ भन्दा बढी कोठाहरू भवनमा रहेका छन् ।
नेपालगन्ज ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयले नेपालगन्जमा प्रयोगविहीन अवस्थामा रहेको एक सरकारी भवनलाई प्रयोगमा ल्याउने भएको छ । कृषि विकास बैंकको तत्कालीन क्षेत्रीय कार्यालय रहेको धम्बोझी चोक नजिकै रहेको तीन तले भवनलाई प्रयोगमा ल्याउने भएको हो । करिब दुई वर्षअघि कृषिको क्षेत्रीय कार्यालय नेपालगन्जबाट दाङ सारिएपछि उक्त भवन प्रयोगविहीन अवस्थामा रहेको थियो ।
उक्त भवनलाई अहिले लुम्बिनी प्राविधिक विश्वविद्यालयले पाँच वर्षका लागि प्रयोग गर्न पाउनेगरी अनुमति प्राप्त गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारीले जानकारी दिए । विश्वविद्यालयले उक्त भवनलाई इन्जिनियरिङ संकायको अध्यापन गराउने प्रयोजनका लागि प्रयोग गर्न लागेको उनले मिसन टुडेलाई बताए ।
कात्तिक ३० गतेदेखि सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा हुन लागेको र मंसिर १५ गतेदेखि भवनबाट कक्षाहरू सञ्चालन गरिने रजिष्ट्रार भण्डारीको भनाइ छ । सिभिल इन्जिनियरिङतर्फका कोर्शमा ४८ जनाको कोटा रहेको छ । कृषि विकास बैंकको भवनमा साना ठूला गरी २४ भन्दा बढी कोठाहरू रहेको उनले बताए । रजिष्ट्रार भण्डारीले भने, ‘यो भवनले हामीलाई धेरै सहज हुन्छ । ५ वर्षसम्म हामी ढुक्कले यहाँबाट शैक्षिक गतिविधिहरू सञ्चालन गर्न सक्छौँ । त्यसपछि त खजुरामा पनि जग्गा प्राप्ति भइसक्छ भन्ने आशा छ ।’
लुम्बिनी प्राविधिक विश्वविद्यालयले हाल नेपालगन्जस्थित वन कार्यालयको परिसरको भवनमा केन्द्रीय कार्यालय राखेर आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ । अहिले विश्वविद्यालयमा सूचना प्रविधितर्फ बिटेक इन आइटी र बिटेक इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्सको पढाइ भइरहेकोमा अब इन्जिनियरिङतर्फ बिटेक इन सिभिल र बिटेक इन आइटी इन्जिनियरिङको पढाइका लागि प्रक्रिया सुरु गरिएको उनले बताए ।
विश्वविद्यालयका लागि खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरमा ८६ बिघा जग्गा दिनका लागि खजुरा गाउँपालिकाले सिफारिस दिइसकेको छ । तर, केन्द्र सरकारका कारण विश्वविद्यालय स्थापना भएको दुई वर्षसम्म पनि जग्गा विश्वविद्यालयको नाममा भने आउन सकेको छैन । विश्वविद्यालयलाई खजुरा गाउँपालिकाले अहिले कार्यालय सञ्चालन भइरहेको भवन पनि प्रयोगका लागि दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्