ऋणीहरूको नाम प्रकाशित गराउन उपमहानगरसँग माग



नेपालगन्ज ।

नेपालगन्जका सहकारीहरूले सहकारीको ऋण चुक्ता नगर्ने सदस्यहरू पहिचान गरी पत्रपत्रिकामा नाम प्रकाशित गराउने व्यवस्था गर्न नेपालगन्ज उपमहानगरपालिकासँग माग गरेका छन् । नेपालगन्जका ४७ वटा सहकारीहरूले मंगलबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।

सहकारीले पनि नगरको विकास तथा समृद्धिमा योगदान दिएको, नागरिकहरूलाई बचत तथा आवश्यक परेको बेला ऋण समेत उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सहकारीहरूको समस्या समाधानका लागि उक्त ज्ञापनपत्रमा उपमहानगरपालिकाको साथ मागिएको छ ।

उक्त ज्ञापनपत्रमा रकम नबुझाउनेहरूको नामावली सहकारीबाट माग गरी अन्तिम नामावली नगरपालिकाको वेबसाइट तथा दैनिक पत्रिकामा प्रकाशित गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

ताकेता गर्दा पनि सहकारीको ऋण नबुझाउने ऋणिहरूको चलअचल सम्पत्ति रोक्का राख्ने तथा विद्युत र खानेपानी जस्ता सुविधाबाट समेत बञ्चित गराउने पहल गरिदिन ज्ञापनपत्रमा माग गरिएको छ । यसैगरी नगरभित्रका सहकारीहरूको अवस्थाबारे अनुगमन गरी तिनको अवस्था सुधारका लागि तोकिएका कामहरू गर्न गराउन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधबार