शीर्ष नेताको ‘दाङ आगमन’ : संयोग कि योजनाबद्ध ?



शुभाकर विश्वकर्मा : कोहलपुर (बाँके) माघ ११ र १२ गते पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा बिताए । ११ गते बिहान तुलसीपुर उपमहानगरपालिका–८ बटोलपुरस्थित भगवती चौधरीको घरमा खाना खाए । त्यसपछि पार्टीको नगर अधिवेशन उद्घाटनमा सहभागी भए । सोहीदिन उनले सहिद स्मृति आवासीय मावि दाङमा अध्ययनरत सहिदका सन्ततिहरूसँग भेटघाट गरेका थिए ।

प्रेस सेन्टर नेपाल दाङको पत्रकार सम्मेलनबाट माघ १२ गतेको प्रचण्डको दैनिकी सुरु भएको थियो । लगत्तै प्रचण्ड घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमनका लागि पुगे । घोराही उपमहानगरपालिका– १४ झिगौरास्थित सहिद लौटन चौधरीको घरको खाना खाएपछि पार्टीको तेस्रो नगर अधिवेशन र राप्ती गाउँपालिकाले सञ्चालनमा ल्याएको राप्ती आधारभूत अस्पतालको उद्घाटन गरेका थिए ।

लुम्बिनी प्रदेश राजधानी दाङमा आएर प्रचण्डले आगामी २०८४ मा हुने निर्वाचनका लागि जनतासँग भोट मागे । सहिद परिवारसँग भेटघाट गर्दै उनीहरूको सहानुभूति बटुल्ने कोशिस गरे । वर्तमान सरकारलाई सार्वजनिक रूपमा विभिन्न आरोपसमेत लगाएर काठमाडौँ फर्किए ।

प्रचण्ड दाङबाट फर्किएको १४ दिनपछि माघ २६ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत दाङ पुगे । सुर्खेत हुँदै हेलिकप्टरमार्फत दाङ पुगेका सभापति देउवाले दाङको दंगीशरण गाउँपालिका– ३ चखौरामा अन्तर प्रदेशस्तरीय थारू साँस्कृतिक सम्मेलन तथा महोत्सव, मटावाँ, बडघर, भलमन्साहरूको अधिवेशनलाई सम्बोधन गरेका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले उक्त कार्यक्रममा थारू समुदायको उत्थानका लागि आरक्षण आवश्यक रहेको बताए । सोही कार्यक्रममा उनले दाङको विकासका लागि टरीगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताएका थिए । विमानस्थल ठूलो र राम्रो बनाउन पहल गर्ने आस्वासनसमेत दिए ।
प्रचण्ड र देउवापछि अबको ८ दिनपछि आगामी फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओली पनि दाङ आउँदैछन् । प्रधानमन्त्री ओली २ दिन दाङ बस्नेछन् । दुई दिनको अवधिमा उनले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन, कार्यकर्ता भेटघाटदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले फागुन ५ गते बस्ने लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको नवौँ बैठकलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनका लागि लुम्बिनी प्रदेश सभाले ओलीलाई निम्ता पठाइसकेको छ । ५ गते नै घोराहीमा आयोजना गरिएको सभालाई सम्बोधन गर्ने ओलीको कार्यतालिका छ । प्रधानमन्त्री ओली फागुन ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुनेछन् ।

लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको दाङमा एकपछि अर्को गरेर शीर्ष दलका मुख्य नेता आइरहेका छन् । एक महिनाको अवधिमा देशका प्रधानमन्त्रीदेखि, पूर्वप्रधानमन्त्रीहरू दाङ ओर्लिएपछि विभिन्न विषयमा टिकाटिप्णी भइरहेका छन् ।

एकपछि अर्को गर्दै मुख्य तीन दलका शीर्ष नेता दाङमा नै किन आए ? उनीहरूको आगमनले दाङलाई के फरक पर्छ ? उनीहरूको आगमनले दाङ विकासमा केही असर गर्ला ? उनीहरूको उद्देश्य आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने अभिष्ट हो कि साँच्चै जनताका आवाज सुन्न उनीहरू आएका हुन् ? आम नागरिकमा कौतुहलताको विषय बनेको छ ।

उनीहरूको आगमनलाई नागरिक समाजदेखि मिडिया र अन्य पक्षले समेत निकै चासोका साथ हेरेका छन् । देशका ठूला दलका नेतृत्व हप्तैपिच्छे दाङ आउनु संयोग मात्रै हो कि योजनाबद्ध हो भन्ने प्रश्न खडा भएको छ । सत्ताधारी प्रमुख दलका सहयात्री दल र प्रमुख प्रतिपक्षी दलका नेताको आगमनलाई विभिन्न कोणबाट हेर्न सकिन्छ ।

दाङ विकासको आशा, छैन पूर्ण विश्वास ?
वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको दाङ आगमनलाई मुख्यगरी दुई कोणबाट नागरिकले हेरेका छन् । देशका ठूला पार्टीका शीर्ष नेतृत्व जिल्लामा आउँदा उनीहरूको आगमनले दाङ विकासका लागि फलदायी हुने आशा गरिएको छ । केहीलाई भने उनीहरूको आगमन हर्ष न बिस्मात जस्तै छ । लामो समयदेखि घुमीफिरी सत्तामा पुगेर नागरिकको चाहना अनुरुप विकास गर्न नसकेका पात्रहरूप्रति नागरिकको विश्वास भने देखिँदैन ।

नागरिक समाज दाङका अध्यक्ष निमबहादुर थापा शीर्ष नेताहरूको दाङ आगवमनले दाङको विकास र समृद्धिका लागि खास्सै ठूलो अर्थ नराख्ने देख्छन् । उनीहरू दल केन्द्रित भएकोले जिल्लाका नागरिकहरूका लागि ठूलो विषय नभएको उनको भनाइ छ । अध्यक्ष थापाका अनुसार उनीहरूको आगमन आफ्नो दलको प्रचारप्रसार गर्ने र विपक्षी पार्टीलाई गाली गलौज गर्नमै सीमित छ ।

‘उनीहरूको आगमनबाट जनताले खास्सै ठूलो अपेक्षा राखेको म देख्दिनँ । उनीहरू नागरिकसँग बसेर छलफल गर्दैनन् । जनताका अपेक्षा के हो सोध्दैनन् । आउँछन्, आफ्नो गफ सुनाउँछन् । हिँडिहाल्छन् ।’ थापाले मिसन टुडेसँग भने ।
शीर्ष नेताहरूले विद्यमान व्यवस्थाको प्रदेश र स्थानीय तहको संरचना कस्तो हुने भन्ने बारेमा बोलेको नदेखिएको थापाले बताए । दाङले भोगिरहेका समस्या समाधानका लागि नागरिक समाजले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइरहेको उनले बताए ।

दाङका जनताले उनीहरूलाई भेटेर टरिगाउँको विमानस्थल कहिले सञ्चालन हुन्छ भन्ने सोध्न चाहेका छन् ? भृकुटी कारखाना कहिले चल्छ ? किसानले समयमै मल कहिले पाउँछन् भनेर सोध्न चाहेका छन् ? थापा भन्छन् । त्यो कुरा यहाँका नागरिकका लागि असम्भव जस्तै छ । शीर्ष नेताहरूको दाङ आगमन २०८४ लक्षित रहेको उनको बुझाइ छ ।

दाङका सामाजिक अभियान्ता विकिरण गौतम शीर्ष नेताहरूको आगमनप्रति यहाँका जनता आशावादी रहेको बताउँछन् । उनका अनुसार देशका बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू जिल्लामा आउनु महत्वपूर्ण विषय हो ।
उनी भन्छन्, ‘दाङको विकास हुन बाँकी छ । यहाँको विमानस्थल सुचारु हुनुपर्नेछ । सडक फोरलेन हुनुपर्ने यहाँका नागरिकको आशा छ । मलाई उहाँहरूको आगमनले विकासमा सघाउ पुग्छ जस्तो लाग्छ ।’ दाङको सम्भावना र समृद्धिको सपना पूरा गर्नका लागि नेताले जनताका आवाजको सुनुवाइ गर्नुपर्ने अभियान्ता गौतमको धारणा छ ।

राजनीतिक रूपमा विश्लेषण गर्दा शीर्ष नेताहरू जिल्ला दौहाडामा हिँड्नु भनेको कार्यकर्ता भेटघाट र संगठन विस्तार लगायतका स्वार्थ हुन सक्ने उनले बताए । पछिल्लो समय हरेक दल मिसन २०८४ मा लागेको भन्दै उनीहरूको मिसन पनि त्यही भएको गौतमको टिप्पणी छ । शीर्ष नेताहरू जिल्लामा आउँदा जिल्लाले लाभ लिन सक्नुपर्ने गौतमले मिसन टुडेलाई बताए ।

जनता भेट्ने अवसर कि क्षेत्रीय नेताको स्वार्थ ? 
दाङमा शीर्ष नेताहरूको आगमनको अर्को छुटाउन नहुने पाटो क्षेत्रीय नेताहरूको स्वार्थलाई पनि कारक मान्न सकिन्छ । उसो त दाङ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का लागि विशेष जिल्ला हो । कुनैबेला दाङ नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको प्रभाव क्षेत्र थियो । उनी १२ पटक केन्द्रीय सरकारमा मन्त्री भए, पार्टीको महामन्त्रीदेखि गृहमन्त्रीसमेत भए ।

त्यसैले उनी कांग्रेस राजनीतिमा केन्द्रदेखि तल्लो तहसम्म शक्तिशाली र लोकप्रिय बनिरहे । विभिन्न भ्रष्टाचार मुद्दामा दोषी ठहर हुँदासमेत उनी जीवनपर्यन्त शक्तिशाली रहे । उनको पुस्ता अहिले दाङबाट प्रदेशदेखी केन्द्रसम्म राजनीतिक पहुँचको खोजीमा छ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री भइसकेका डिल्लीबहादुर चौधरी देउवा निकट मानिन्छन् । आगामी २०८४ को निर्वाचनमा उनको गन्तव्य केन्द्र नै हो । पार्टी सभापति देउवाको पछिल्लो दाङ आगमनको कारण चौधरी नै हुन् । प्रदेश सभा सदस्यसमेत रहेका चौधरी मटावाँ, बडघर, भलमन्सा महासंघका केन्द्रीय अध्यक्ष हुन् ।
कांग्रेस सभापति देउवाले लुम्बिनी प्रदेशको मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भइसकेको हुँदा थारूको हातमा शासन आएको बताए । ‘फेरि पनि उहाँ मुख्यमन्त्री हुनुहोला वा अरू पनि हुनुहोला । थारूहरूको हातमा शासन सत्तासमेत आइसकेको छ । आफ्नो ठाउँलाई आफैँ बनाउन सक्ने क्षमता पनि राख्न जरूरी छ ।’ सभापति देउवाले भने ।

अर्कातिर नेकपा एमालेका महासचिव पोखरेल दाङ कै हुन् । २०७९ को निर्वाचनमा पराजित भएका पोखरेल ओलीका विश्वास पात्र मानिन्छन् । दाङका तीन प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेकपा एमाले शून्य अवस्थामा छ । क्षेत्र नम्बर १ मा शान्ता चौधरी र दुई नम्बरमा महासचिव पोखरेल पराजित भएका थिए । उनी नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भएका थिए ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहिसकेका पोखरेल नेकपा एमालेमा ओलीको उत्तराधिकारीका रूपमा समेत हेरिँदै आएका छन् । केन्द्रीय राजनीतिमा आफ्नो बलियो प्रभाव बनाउन जिल्लाको साहारा चाहिने बुझेका पोखरेलका लागि ओलीको साथपनि उत्तिकै महत्वपूर्ण छ ।
आगामी २०८४ को निर्वाचनमा २०६४ तर्फ पार्टीलाई फर्काउने अभियानमा लागेको माओवादी केन्द्रसमेत आफ्नो पुरानो विरासत फर्काउन चाहन्छ । २०६४ मा दाङमा माओवादीले सबै क्षेत्र जितेको थियो । दाङबाट निर्वाचित कृष्णबहादुर महरा पटकपटक मन्त्री हुँदै सभामुखसमेत भए ।

हाल पार्टीको उपाध्यक्षसमेत रहेका महरासमेत दाङमा लोकप्रिय मानिन्छन् । तीनै पार्टीको उद्देश्य प्रदेशदेखि संघमा एकलौटी जीत हासिल गर्ने उद्देश्यमा रहेको पुष्टि गर्छ, शीर्ष नेताहरूको दाङ आगमनले । तीन शीर्ष दलमा दाङको बलियो उपस्थिति छ । त्यसैले दाङ शीर्ष नेताहरूको प्राथमिकतामा रहेको बुझ्न सकिन्छ । एक पत्रकार भन्छन्, ‘दाङ हिजो कांग्रेसको राम्रो बिरासत भएको जिल्ला हो । २०६४ मा माओवादी शक्तिमा आयो ।

पार्टीको उपाध्यक्ष नै दाङको हुनुहुन्छ । हाल नेकपा एमालेका महासचिव यही जिल्लाको हो । केन्द्रीय राजनीतिमा प्रभाव राख्न सक्ने जिल्ला भएका कारण शीर्ष नेताहरूको आगमन स्वभाविक छ ।’
बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको जिल्ला दौडाहाको स्वार्थ भनेकै राजनीतिक लाभ हो, जनताको जीवनस्तर सुधार गर्ने, जनताका गुनासा सुन्नको लागि होइन । उनीहरूको आगमन । दलका शीर्ष नेताहरू जिल्ला दौडाहामा निस्कनु आम नागरिकका लागि ‘हर्ष न बिस्मात’ जस्तै हो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २८ गते सोमबार