बैकुण्ठधाम सिधनियाँघाट हर हालतमा बन्छ



यो योजना मात्र सामान्य घाट बनाउनेगरी परिकल्पना गरिएको होइन । हामीले यसलाई व्यवस्थित आध्यात्मिक केन्द्र नै बनाउन खोजेका हौँ । त्यसका लागि महायज्ञ आयोजना गर्नुको उद्देश्य पहिलो त गीताको ज्ञान प्रसारको लागि हो । त्यसमा हामीले सोचेअनुरूप सहभागिता भएन । अर्काेतिर हामीले बैकुण्ठधाम भनेर जुन परिकल्पना गरेका छौँ, त्यसका लागि आर्थिक जोहो पनि गर्ने उद्देश्य हो । त्यसमा हामीले एकदमै मन खोलेर सहयोग पाएका छौँ ।
डा. सुरेश कनोडिया
संयोजक
बैकुण्ठधाम आध्यात्मिक महोत्सव

१. यहाँहरूले एक घाट मात्रै नभएर आध्यात्मिक केन्द्र नै बनाउने उद्देश्यले बैकुण्ठधाम बनाउने हो भन्दै आउनु भएको छ । त्यसैको लागि रकम जुटाउन महायज्ञ आयोजना गरिएको छ । महायज्ञ अपेक्षा अनुसार नै अघि बढेको छ ?

तपाईंले भनेजस्तै यो योजना मात्र सामान्य घाट बनाउनेगरी परिकल्पना गरिएको होइन । हामीले यसलाई व्यवस्थित आध्यात्मिक केन्द्र नै बनाउन खोजेका हौँ । त्यसका लागि महायज्ञ आयोजना गर्नुको उद्देश्य पहिलो त गीताको ज्ञान प्रसारको लागि हो ।

त्यसमा हामीले सोचेअनुरूप सहभागिता भएन । नेपालगन्ज सहरको चरित्र नै यस्तै हो कि जस्तो लाग्छ । यही कार्यक्रम कोहलपुर वा खजुरामा भएको भए अवस्था फरक हुनसक्थ्यो । अर्काेतिर हामीले बैकुण्ठधाम भनेर जुन परिकल्पना गरेका छौँ, त्यसका लागि आर्थिक जोहो पनि गर्ने उद्देश्य हो । त्यसमा हामीले एकदमै मन खोलेर सहयोग पाएका छौँ ।

२. सहभागिता कम हुनुमा तपाईंहरूले प्रस्तावित योजना निर्माणस्थलका स्थानीयहरूदेखि यहाँका मधेशी समुदायका मानिसहरूलाई समेट्न सक्नुभएन, अपनत्व महसुस गराउन सक्नुभएन, भन्ने आरोप छ नि ?

यो मिथ्या आरोप हो । डुडुवाका वडाध्यक्षहरू समितिमा पदेन सदस्य हुनुहुन्छ । त्यहाँका स्थानीयहरूलाई हामीले कार्यसमितिमा बस्नका लागि नाम दिनुस् भनेका छौँ । अहिलेसम्म नाम दिन सक्नुभएको छैन । जहाँसम्म अपनत्व महसुस गराउने कुरामा यो महायज्ञ आयोजना गर्नुको कारण नै सबैलाई अपनत्व गराऔँ भन्ने नै हो ।

नभए यस योजनाको परिकल्पनामा सँगै रहेका साथीहरूले महायज्ञमा जुन दान गर्नुभएको छ त्यो हामी त त्यसैपनि उठाउन सक्थ्यौँ नि । अनि दाताहरूलाई पनि हामीले अनुरोध गरेपछि नाई त भन्नु हुन्थेन । तर हामीले सबैले सकेजति दान गरेर यस योजनामा आफ्नो सहभागिता जनाउन सक्नुहोस्, अपनत्व लिन सक्नुहोस् भनेर नै महायज्ञ आयोजना गरेका हौँ ।

३. तपाईंहरूले बनाउनुभएको योजना सफल हुन्छ भन्नेमै आशंका व्यक्त भइरहेका पाइन्छन् । यो योजना सफल हुने रोडम्याप बताइदिनुस् न त ।

यो योजना तीन सय प्रतिशत सफल हुन्छ । यसको रोडम्याप पनि म बताइदिन्छु । पहिलो कुरा त यो निर्माण गर्नु राज्यको दायित्व हो । अदालतले पनि व्यवस्थित अन्तिम संस्कारस्थल बनाउ भनेर सार्वजनिक महत्वको आदेश दिएको छ ।

तर, यसलाई मात्र शवदाहस्थल मात्रै बनाएर पुग्दैन । त्यहाँ पार्किङस्थलदेखि लिएर ओत लाग्ने ठाउँ व्यवस्थित बनाउनुप¥र्याे भनेर हामीले धेरै जग्गा लिएर अलि बृहत् योजना बनाउने परिकल्पना गरेका हौँ । यसका लागि चाहिने जग्गा सरकारले किन्न अप्ठेरो हुने भएकोले हामी सर्वप्रथम जग्गा किन्छौँ । त्यसका लागि १४ कठ्ठा जमिनको बयाना रकम बुझाइसकेका छौँ । अब लगत्तै हामी जग्गा किन्ने प्रक्रियामा जान्छौँ । अहिले पनि सहरी तथा भवन कार्यालयमा सोही योजनाका लागि भनेर दुई करोड बजेट आइसकेको छ ।

उक्त बजेटबाट काम सुरु गर्नेगरी हामीले डिपिआरको काम पनि अहिले समानान्तररूपले अघि बढाइरहेका छौँ । त्यसपछि ठेक्काको प्रक्रियामा जान्छ र निर्माण सुरु हुन्छ । एकै वर्षमा सबै बन्छ भनेर त हामी भन्दैनौँ । यसमा कसैले शंका नगर्दा हुन्छ । बहुवर्षीय योजनाका रूपमा यो योजना हर हालतमा बन्छ । तर धेरै जमिन पाइएमा त्यहाँ हामीले परिकल्पना गरेका सबै संरचना बन्लान् नभए घाट, विद्युतीय शवदाह र अन्य अत्यावश्यकीय संरचना अहिलेकै जमिनमा पनि बन्छन् ।

४. तपाईंहरूले जग्गाको बयाना लगाउनुभएको जग्गाको दुईतिर ठूला दुई आयोजनाहरू निर्माणाधीन छन् । एकातिर खानेपानी आयोजना, अर्काेतिर पुल । यो योजनाको प्राविधिक र वातावरणीय सम्भाव्यताका बारे कत्तिको विचार पु¥याउनुभएको छ ?

हामीले यस विषयमा प्राविधिकहरूसँग पटक–पटक घनिभूत छलफल गरेका छौँ । पुल निर्माणमा संलग्न इन्जिनियरसँग पनि कुरा भएको छ । सबैबाट योजना अघि बढाउन सकिन्छ भन्ने राय आएको छ । वातावरणीय रूपले नदीको धारलाई पनि हेर्दा अप्ठ्यारो नपर्ने प्राविधिकहरूको भनाइ छ ।

५. सोही ठाउँमा डुडुवा गाउँपालिकाले पनि घाट बनाउने योजना रहेको बताइरहेको छ । दाउरा जम्मा गर्न मिल्ने र ओत लाग्न मिल्ने एउटा घर त अहिले पनि बनिसकेको छ । तपाईंहरूको उस्तै योजना भएन र ?

यदि त्यस्तो हो भने गाउँपालिकाले बनाउने योजना र हाम्रो योजनामा मिलाएर लैजान पनि सकियो । हामी यसमा खुला छौँ । तर हामीले जुन परिकल्पना गरेका छौँ । त्यो मात्र घाट र ओत लाग्ने ठाउँ मात्रै होइन ।

त्यो एक आध्यात्मिक र पर्यटकीय केन्द्र बनोस् भन्ने उद्देश्य हो । त्यसका लागि हामी बसेर छलफल गर्न सक्छौँ । भोलि स्थानीय तहले स्वामित्व लिन्छ भने हामी सघाउन तयार छौँ । आखिर यो बनिसकेपछि पनि सरकारकै जिम्मामा जाने हो । हामी त यसको मनिटरिंग मात्रै गर्ने हो नि ।

६. त्यसो भए तपाईंहरू यो परियोजना सरकारलाई नै हस्तान्तरण गर्न तयार हुनुहुन्छ ।

एकदमै । हामी सधैँ यसैलाई हेरेर बस्न कहाँ सकिन्छ र ? यो त समाजका लागि अत्यावश्यक कुरा हो । कसै न कसैले सुरुवात नगरिकन हुँदैन । हामीले पनि नागरिक हुनुको दायित्व निभाउनुपर्छ भनेर यसमा लागेका हौँ ।

भोलि योजना पूरा भयो भने यसको सञ्चालनमा एक किसिमको मनिटरिंगको भूमिकामा हामी रहेर सरकारलाई नै हस्तान्तरण गर्ने हो नि ।

७. तर, तपाईंहरूले योजना निर्माणस्थल भनिएको गाउँपालिका अध्यक्षसँगै समन्वय गर्न नसक्नुभएको देखियो । महायज्ञमा पनि उहाँको उपस्थिति देखिँदैन ?

समन्वय भइरहेकै हो । यहाँ उपस्थित हुन नसक्नुका उहाँका आफ्नै केही कारण होलान् । तर उहाँले पनि तपाईंको साथमै छु भन्नुभएको छ । हामी सबै हिसाबले उहाँहरूसँग सहकार्य गर्न तयार छौँ ।

८. अर्काेतिर यस योजनाको परिकल्पनाकार संस्थामा रहेका केही व्यक्तिहरू जग्गा व्यवसायी पनि हुनुहुन्छ । उहाँहरूलाई देखाएर कतिपयले त्यहाँको जग्गा खरिद गर्ने, स्थानीयहरूलाई भोलि सृजना हुने अवसरबाट बन्चित गरिने हो कि भन्ने आशंका व्यक्त गरेका पनि पाइयो नि । के भन्नुहुन्छ ?

यो बेकारको कुरा हो । त्यहाँ हाम्रो टिममा भएका कसैको पनि एक आना जग्गा पनि छैन । हामीले निस्वार्थ भावले आवश्यकतालाई ध्यानमा राखेर यसको परिकल्पना गरेका हौँ ।

मलाई नेपालगन्जको विकास हुन नसक्नुका पछाडि यस्तै खालका आशंका गर्ने प्रवृत्ति पनि प्रमुख कारण हो जस्तो लाग्छ । स्थानीय भनेर मात्रै सबै कुरा हुन्छ भन्ने होइन । के नेपालगन्ज यहाँका स्थानीयहरूको योगदानबाट मात्रै बनेको हो त ? बाहिरबाट आउनेहरूको योगदान छैन ? त्यसकारण असल काममा सबैले साथ दिने हो । न कि विरोध गर्ने । गुनासोले मात्रै केही हुँदैन । योगदान पनि चाहिन्छ ।

९. त्यसो भए बाँकेबासीहरूलाई यहाँको आग्रह के छ त ?

पहिला त म अहिले चलिरहेको कथावाचनमा सहभागी हुन आग्रह गर्दछु । भागवत श्रवणले यहाँहरूको जीवनमा सहजता ल्याउनेछ भन्ने विश्वास छ । हामीले महायज्ञमा तपाईंहरू सहभागी हुनुलाई नै सहयोगको रूपमा हेरेका छौँ ।

यसका साथै, सक्नेहरूले यस पूण्य कार्यमा आफ्नो गक्षअनुसारको दान गरी अक्षय पूण्य प्राप्त गर्नुहोस् भन्न चाहन्छु । असल काममा जे जसरी हुन्छ सहयोग गर्ने संस्कृतिको विकास गरौँ । न कि गुनासो गर्ने मात्रै । प्रस्तुती : वीरेन्द्र जैसी

प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार