सामुदायिक पुस्तकालयमा त्रिभुवन माविका विद्यार्थी



कोहलपुर ।

मणी गैरे त्रिभुवन नमुना माध्यमिक विद्यालय कोहलपुरका सामाजिक शिक्षक हुन् । उनी सदा झैँ मंगलबार विद्यालयमा अध्यापन गराउन पुगेका थिए । शिक्षक गैरेले आफ्नो विषय अध्यापन गराए । त्यस पश्चात व्यवस्थापन संकायका विद्यार्थीहरूले उनलाई पुस्तक पढ्ने चाहाना व्यक्त गरे ।

नेपालको इतिहास, भौगोलिक र राजनीतिक विषयका पुस्तक पढ्ने ठाउँ कहाँ होला सर ? लोकसेवा आयोग लगायतका किताब अध्ययन गर्न कहाँ पाइन्छ ? लगायतका प्रश्नहरू विद्यार्थीहरूले शिक्षक गैरेलाई सोधेका थिए । उनले ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरमा जान विद्यार्थीलाई सुझाए ।

तर विद्यार्थीहरूले खै कहाँ छ ? हामीलाई त थाहा छैन् सर भन्दै अनभिज्ञता प्रकट गरेपछि शिक्षक गैरेले विद्यार्थीहरूलाई पुस्तकालयसम्म पु¥याएको बताए । ‘म स्वयम् आफैँ पुस्तकालयको उपाध्यक्ष रहेकाले विद्यार्थी लिएर पुस्तकालय अवलोकन समेत गराएँ ।’ उनले भने, ‘विद्यार्थीहरूले पुस्तकालय अवलोकन गरेर पढ्न पाउँदा खुसी भएका थिए ।’

नेपालको इतिहास, सामान्य ज्ञान लगायतका पुराना पुस्तकहरू पुस्तकालयमा रहेकाले विद्यार्थीहरूले केही घण्टा मात्रै भएपनि चाख लगाएर पढेको उनले बताए । विद्यार्थीहरूले पुस्तकालयको अवलोकन समेत गरेको शिक्षक गैरेले जानकारी समेत दिए । विशेषगरी विद्यार्थीहरूले पुरानो रामायण लगायतका पुस्तक चाख लगाएर पढेको उनको भनाइ छ ।

केही समय भएपनि विद्यार्थीहरूले पुराना पुस्तकहरू अध्ययन गर्न पाउँदा खुसी भएका थिए । पछिल्लो समय पठन संस्कृति लोप हुँदै गएकाले विद्यार्थीहरूले देखाएको चासोले थप उत्साह थपेको शिक्षक गैरेले बताए । सो अवसरमा पुस्तकालयका बारेमा पुस्तकालय प्रमुख जानकी सापकोटाले विद्यार्थीहरूलाई जानकारी गराएकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधबार