नेपालगन्ज ।
बाँकेको जानकी गाउँपालिकाको १७औँ गाउँसभा सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष छब्बन खाँको सभाध्यक्षतामा भएको गाउँसभाले आर्थिक वर्ष २०८१–०८२ को योजना, कार्यक्रम तथा बजेट संशोधन एवम् रकमान्तर र जानकी गाउँपालिका नगर प्रहरी ऐन, २०८१ पारित गरेको गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को मर्म अनुरुप बजेट रकमान्तर गरिएको उनको भनाइ छ ।
गाउँपालिकाले सडक तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण बढी रहेको र त्यसलाई हटाउने काममा सहयोग गर्न गाउँ-नगर प्रहरीको महसुस गरिएपछि ऐन ल्याइएको प्रवक्ता यादव बताउँछन् ।
यसैगरी पसल तथा व्यवसाय अनुगमनमा पनि सुरक्षाको आवश्यकता महसुुस गरिएको उनले बताए । यसका साथै न्यायिक समितिको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा नगर प्रहरी आवश्यक रहेको जनप्रतिनिधिले महसुस गरेको यादवले बताए । गाउँपालिकामा सरसफाइ, शान्ति सुरक्षा, पुर्वाधार तथा सार्वजनिक सम्पत्तिको सुरक्षा र विकास निर्माणका काममा बाधा उत्पन्न हुँदा रोक्ने जस्ता काममा नगर प्रहरी खटाइने उनले बताएका छन् ।
गाउँपालिकाको आर्थिक स्रोत नै कम रहेको अवस्थामा कति सङ्ख्यामा नगर प्रहरी नियुक्त गर्न सकिन्छ यकिन नभएको उनले बताए । ऐन पारित भइसकेको अवस्थामा सबै कुरालाई मध्येनजर गरेर नगर प्रहरी नियुक्तिको काम अघि बढाइने उनले जानकारी दिए ।
गाउँपालिकाको १७औँ गाउँसभामा पालिकाका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विक, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, पालिकाका विभिन्न शाखाका प्रमुखहरू लगायत कर्मचारीहरूको समेत उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्