अहिलेको सरकार भ्रष्टहरूको सरकार होः प्रचण्ड



वीरेन्द्रनगर ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको अहंकार देखाउने सरकारलाई राष्ट्रिय सभाबाटै राम्रो जवाफ दिने बताएका छन् । सरकारको दुईतिहाइको अहंकारलाई राष्ट्रिय सभाले नै धक्का दिने उल्लेख गर्दै उनले सरकारले ल्याएको अध्यादेश पारित हुन नदिने बताए ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश गलत रहेको दावी गरे । अहिलेसम्मको अवस्था हेर्दा सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभामा पारित नहुने निश्चित रहेको उनको भनाइ छ । उनी पार्टी प्रशिक्षण कार्यक्रममा भाग लिन सुर्खेत पुगेका हुन् ।

‘अहिले सरकारमा रहेकाहरूमा दुईतिहाइको अहंकारी दम्भ छ । राष्ट्रिय सभाबाट त्यसको राम्रो जवाफ दिइएको छ’ उनले भने, ‘सदनलाई अवमूल्यन गर्ने र अध्यादेशबाट शासन चलाउने गलत बाटो सरकारले रोजेको छ । तर बहुमतले पेलेर जानसक्ने अवस्था छैन । अध्यादेशका विधेयक राष्ट्रिय सभामा गएर अड्किएका छन् । सरकारले धेरै अंहकार नगरे हुन्छ ।’

माओवादीले अध्यादेशमा नसघाउने स्पष्ट पार्दै प्रचण्डले वर्तमान सरकारले देशलाई झन् ठूलो आर्थिक संकटतिर धकेलेको दावी गरे । साथै पार्टी एकताका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल लगायत अन्य दलका नेताहरूसँग कुरा भइरहेको उनले बताए ।

‘पार्टी एकताको प्रक्रियाका लागि नै समाजवादी मोर्चा बनेको हो । समाजवादी मोर्चामा विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना छ’ उनले थपे, ‘अहिलेको सरकार भ्रष्टहरूको सरकार हो । यो सरकारले देश जनताका पक्षमा काम गरेको छैन । सरकारले अहिले भ्रष्टहरूलाई बचाउने काम गरिरहेको छ ।’

उनले गिरीबन्धुको विषयलाई आफूले सदनदेखि सबैतिर उठाइरहेको स्मरण गर्दै अहिले परेको मुद्दालाई अदालतले गम्भीर रूपमा लिने पनि विश्वास व्यक्त गरे । साथै माओवादीको ध्यान अहिले सरकारतिर नरहेको बताउँदै सरकार जति चलेपनि आफूहरूलाई टेन्सन नभएको भनाइ राखे । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली जाली, झेली र बेइमानी भएको समेत दावी उनले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधबार