कैलाली ।
सुदूरपश्चिम प्रदेश सभाले सदस्यहरूका लागि नयाँ ल्यापटप दिने तयारी गरेको छ । प्रदेश सरकारमा सहभागी भएका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री बाहेकका सबै प्रदेश सभा सदस्यहरूलाई महँगो ल्यापटप वितरण गर्न प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाइसकेको छ ।
५३ जना प्रदेश सभा सदस्यमध्ये ४३ जना सांसदका लागि ल्यापटप खरिद गर्न लागेको सचिवालयले जनाएको छ । जसका लागि ४७ लाख २९ हजार ९९३ रूपैयाँ ५५ पैसामा टेन्डर आह्वान गरिएको छ । ‘ल्यापटप खरिदका लागि टेन्डर आह्वान गरिसकेका छौँ’, प्रदेश सभा सचिव देवबहादुर बोगटीले भने, ‘३० दिनको समय निर्धारण गरेर टेन्डर आह्वान भइसकेको छ । त्यसपछि वितरण हुन्छ ।’
प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेश सभा सचिवालयले २७ लाख खर्च गरेर सांसदका लागि ल्यापटप खरिद गरेको थियो ती मध्ये केही संसद्को कार्यकाल सकिँदासम्म पनि ल्यापटप बुझाएनन् । बुझाएका मध्ये सबैजसो काम नलाग्ने अवस्थामा छन् ।
सचिवालयले सांसदहरूका लागि अघिल्लो कार्यकालमा खरिद गरेको ल्यापटप काम नलाग्ने भन्दै गोदाममै थन्क्याएर नयाँ ल्यापटप खरिद गर्न लागेको हो । पुराना ल्यापटप काम नलाग्ने अवस्थामा पुगेपछि नयाँ खरिद गर्ने प्रक्रिया अगाडी बढाइएको सचिव बोगटीले जानकारी दिए ।
‘पुराना ल्यापटप कामै नलाग्ने भइसकेकाले नयाँ खरिद गर्न लागेका हौँ’ उनले भने । प्रदेश सभा सदस्यहरूलाई ल्यापटप दिन प्रदेश सभा सचिवालयले तयारी गर्दा स्वयं प्रदेश सभा सदस्यहरू भने यस विषयमा विभिन्न टीकाटिप्पणी सुरु भइरहेको बताउन थालेका छन् ।
नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कल रावलले सांसदहरू सेवा सुविधामै केन्द्रित भएको आरोप लागिरहेका बेला फेरी प्रदेश सांसदहरूकै लागि ल्यापटपको व्यवस्था गर्दा गलत सन्देश जाने बताउँछन् ।
‘अहिले सांसदका विधेयक छैन । संसद् चलिरहेको छैन । हामी कामविहीन भएका छौँ ’ उनले भने, ‘कानुन बनाउन आएका हामी पर्याप्त कानुन बनाउन सकिरहेका छैनौँ, सेवा सुविधामा केन्द्रित भएको आरोप लागिरहेको छ । त्यसैमाथि अझै ल्यापटप वितरणले हामी माथि अझै प्रश्न चिन्ह उठ्छ ।’
रावल यस अघिका पनि प्रदेश सभा सदस्य हुन् । अघिल्लो पटक दिएको ल्यापटप पनि गतिलो नरहेको उनले बताए । नेकपा एमाले प्रमुख सचेतक चक्र मल्लले यस विषयमा छलफल नभएको बताउँछन् । ‘प्रदेश सभा सदस्यहरूसँग छलफल गरेर ल्यापटप लिन लागिएको होइन । हामीलाई आवश्यक पर्ने ल्यापटप हामीसँग नै छ’ उनले भने, ‘अघिल्लो कार्यकालमा पनि ल्यापटप दिइएको थियो रे, मिल्छ भने त्यही प्रयोग गर्दा राम्रो ।’
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रविधिको सही सदुपयोग गर्नु पर्ने भन्दै आवश्यकताको आधारमा माग गर्नु पर्ने बताउँछन् ।
‘मलाई आवश्यक छ भनेर निवेदन दिएर सचिवालयबाट लिएको थिएँ । तर पहिलेको ल्यापटप बिग्रेका रहेछन् पछि फिर्ता गरँे’ उनले भने, ‘प्रविधिको सही सदुपयोग गर्नु पर्छ । आवश्यकताको आधारमा ल्यापटप माग गर्नुपर्छ ।’ स्वतन्त्र सांसद डा.तारा जोशीले पनि नयाँ ल्यापटप खरिद गरेर राज्यलाई आर्थिक भार बढाउनु भन्दा अघिल्लो कार्यकालमा रहेका ल्यापटपलाई मर्मत गरेर वितरण गर्दा उपयुक्त हुने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्