तीन सरकारी निकायहरू बीच एकले अर्कोलाई दोषारोपण गरिरहँदा बिरुवा काटेको मुद्दा भने ओझेलमा परिरहेको छ । सार्वजनिक सम्पत्तिको नोक्सानी गर्ने विरुद्ध कारबाही हुनुपर्ने कुरामा अधिकांश नगरबासीको एक मत छ । सार्वजनिक चासोको विषय भएकाले नगर प्रमुख पूर्णप्रसाद आचार्यले राखेको स्टाटसमा समेत धेरै सर्वसाधारणले समेत टिप्पणी गरेका छन् । अधिकांश कमेन्टहरूमा दोषीलाई यो वा त्यो कुनै पनि बहानामा उन्मुक्ति दिइन नहुने प्रतिक्रिया आएका छन् ।
सनत सापकोटा । कोहलपुर ।
कोहलपुर नगरपालिका–१० रामनगरस्थित बीच सडक (ग्रिन बेल्ट) मा हुर्किएका बिरुवा काट्ने व्यक्तिमाथि कारबाही गर्ने विषय अन्योलमा परेको छ । मिसन टुडे दैनिकले असोज ८ गते मंगलबार बिरुवा काट्नेलाई कारबाही गर्न आनाकानी शीर्षकमा समाचार प्रकाशित गरेपछि त्यस विषयलाई लिएर सरोकारवाला निकाय नै एकअर्कामाथि दोषारोपणमा उत्रिएपछि कारबाहीको विषय अन्योलमा परेको हो ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले सो समाचारको कटिङसहित फेसबुकमा स्टाटस लेख्दै जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) कार्यालय बाँकेले यस विषयमा ठूलो असहयोग गरेको आरोप लगाएका छन् । उनले विभिन्न कानुनको हवाला दिएर गैरकानुनी काम गर्नेहरूकै पृष्ठपोषण हुनेगरी जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)ले काम गरिरहेको गम्भीर आरोप लगाएका छन् ।
‘सन्तान हुर्काउन र बिरुवा हुर्काउन उस्तै मेहनत चाहिन्छ । पीडा हामीलाई छ,’ आफ्नो फेसबुक वालमा नगर प्रमुख आचार्यले लेखेका छन्, ‘जिल्ला सरकारी वकिल कार्यालयको ठूलो असहयोग छ । विभिन्न कानुनको हवाला दिएर गैरकानुनी काम गर्नेहरूकै पृष्ठपोषण हुने गरी जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)ज्यूले कार्यसम्पादन गरिरहनुभएको छ ।’
नगरपालिकाको तर्फबाट इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको अपराधसम्बन्धी जाहेरी जिल्ला सरकारी वकिलको रायका कारण दर्ता नभई फिर्ता भएको उनले जनाएका छन् । दोषीमाथि हदैसम्मको कारबाही हुनुपर्छ भन्ने मान्यतामा आफू यथावत् रहेको स्पष्ट गर्दै उनले आफूले दोषीको बचाउका लागि इलाका प्रहरी प्रमुखसँग कुनै संवाद नगरेको पनि दाबी गरेका छन् ।
नगर प्रमुख आचार्यले सरकारी वकिल कार्यालयमाथि दोषारोपण गर्दै फेसबुकमा स्टाटस लेखेपछि त्यसको पक्ष र विपक्षमा विभिन्न कमेन्टहरू आएका छन् । नगर प्रमुखको दोषारोपणको प्रतिवाद गर्दैै सरकारी वकिल कार्यालयका एक कर्मचारीले कानुन बुझेर मात्र कुनै पनि विषयमा टिप्पणी गर्न नगर प्रमुखलाई आग्रह गरेका छन् ।
‘तपाईंजत्तिको व्यक्तिले कानुनी कुरा नबुझी यस्तो लेख्न नहुने हो,’ सरकारी वकिल कार्यालयका कर्मचारी किरण जैसी बजगाईंले लेखेका छन्, ‘जनप्रतिनिधिको बोली नै कानुन हँुदैन, कानुनबमोजिम जाहेरी दर्ता हुन्छ ।’ जाहेरी दर्तासम्बन्धी कानुनी व्यवस्था मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४ र ५ मा रहेको उनले स्पष्ट पारेका छन् ।
जैसीले संहिताको दफा ४ मा जाहेरी सम्बन्धित इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा दर्ता गर्ने र यदि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले जाहेरी दर्ता गर्न इन्कार गरेमा दफा ५ अनुसार सरकारी वकिल कार्यालयले दर्ता गर्न भनी निर्देशन दिन सक्ने व्यवस्था रहेको जनाएका छन् ।
उनले नगरपालिकामा समेत न्यायिक निकाय न्यायिक समिति रहेकाले त्यहाँबाट समेत कारबाही गर्न सकिने तर्क पेस गरेका छन् ।
नगर प्रमुखकै स्टाटसमा कमेन्ट गर्दै कतिपयले सरकारी वकिलले सो घटनामा बार्गेनिङ गरेको प्रतिक्रिया समेत दिएका छन् । स्टाटसमाथि कमेन्ट गर्दै बिन्दु बिसीले सरकारी वकिलले सो घटनामा बार्गेनिङ गरेको आरोप लगाएकी छन् । ‘मेयर सापले यति भनेपछि ती सरकारी वकिलले बार्गेनिङ गरेको भन्ने बुझियो,’ बिसीले लेखेकी छन् ।
अर्कातिर इलाका प्रहरी कार्यालय र सरकारी वकिल कार्यालयको कुरा पनि बाझिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले सरकारी वकिल कार्यालयको परामर्शमा मुद्दा फिर्ता गरिएको जनाएको छ भने सरकारी वकिल कार्यालयले कुनै परामर्श नभएको र कानुनी कुरामा मौखिक कुराको कुनै महत्व नहुने स्पष्ट गरेको छ ।
सरकारी वकिल कार्यालयको राय सुझाव अनुसार नै शीर्षक नमिलेकाले मुद्दा फिर्ता गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ‘उहाँहरूले आपराधिक उपद्रो शीर्षकमा मुद्दा ल्याउनुभएको थियो । यस विषयमा हामीले सरकारी वकिल कार्यालयमा परामर्श ग¥यौँ,’ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी धर्मराज भण्डारीले भने, ‘परामर्श लिखित हुने कुरा भएन । मौखिक परामर्शपछि अर्को शीर्षकमा मुद्दा दर्ता गर्नेगरी फिर्ता गरिएको हो ।’
नगरपालिकाबाट सुरुमा मुद्दा समयमै आएको भए पनि अर्को शीर्षकमा मुद्दा नआएकाले दर्ता र अन्य प्रक्रिया अगाडि बढ्न नसकेको उनले बताए । तर सरकारी वकिल कार्यालयले सो विषयमा कुनै परामर्श नभएको जनाएको छ । जिल्ला न्यायाधिवक्ता विष्णु पौडेलले कानुनी कुरा मौखिक आधारमा नहुने भन्दै सो विषयमा आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारे । मिसन टुडेसँग कुरा गर्दै जिल्ला न्यायाधिवक्ता पौडेलले सरकारी वकिल कार्यालयमा कोहलपुर नगरपालिकाका तर्फबाट कुनै उजुरी दर्ता नभएको जानकारी दिए ।
उनले कानुनी प्रक्रिया नै पूरा नगरी जनप्रतिनिधिले कसैमाथि आपेक्ष लगाउनु खेदजनक भएको बताए । ‘कानुनी प्रक्रियातिर नलाग्ने तर फेसबुकमा आक्षेप लगाउँदै हिँड्ने कुराले समस्याको समाधान हुँदैन,’ उनले भने, ‘जनप्रतिनिधिको बोली नै कानुन ठान्ने प्रवृत्तिबाट मुक्त हुनु जरुरी छ ।’
यसरी एकले अर्कोलाई दोषारोपण गरिरहँदा सो मुद्दा भने ओझेलमा परिरहेको छ । सार्वजनिक सम्पत्तिको हिनामिना गर्ने विरुद्ध कारबाही हुनुपर्ने कुरामा अधिकांश नगरबासीको एक मत छ । सार्वजनिक चासोको विषय भएकाले नगर प्रमुख आचार्यले राखेको सो स्टाटसमा अन्य धेरै सर्वसाधारणले समेत टिप्पणी गरेका छन् । अधिकांश कमेन्टहरूमा दोषीलाई यो वा त्यो कुनै पनि बहानामा उन्मुक्ति दिइन नहुने प्रतिक्रिया आएका छन् ।
नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगीन शर्माले नगर प्रमुख आचार्यको सो स्टाटसमा कमेन्ट गर्दै व्यङ्ग्य गरेका छन्– ‘परीक्षामा अनियमितता गर्नेलाई पनि कारबाही गरियो, अब रूख काट्नेलाई पनि गरिन्छ…!’
त्यसैगरी कोहलपुरका इन्द्र गौतमले धेरै व्यक्तिको चासो रहेको घटनाका विषयमा यस्तो समाचार आउँदा मनोबल उकासिन नसकेको टिप्पणी गरेका छन् । ‘कस्तो खालको कारबाही होला ? भन्ने धेरैको सोधाइ हुन्थ्यो,’ उनले कमेन्टमा लेखेका छन्, ‘मैले त पालिकामा प्रति बोटको ५० हजार दण्डको कानुन रहेछ त्यही अनुसार नै भयो भन्दै आएको थिएँ तर यस्तो समाचार आउँदा मनोबल उकासिन सकेन । यस्तै प्रवृत्ति हो भने समृद्ध समाजको सपना केवल दिवा सपना मात्र हो ।’
त्यस्तै हरिशंकर केसीले कमेन्ट गर्दै फेसबुकमा रोइलो गर्नुभन्दा व्यावहारिकता लाग्न नगर प्रमुखलाई आग्रह गरेका छन् । ‘फेसबुकमा रोइलो गर्नुभन्दा व्यावहारिकतातिर लाग्दा उत्तम होला कि मेयर साब !’ उनले लेखेका छन् ।
फेसबुक अधिकांश कमेन्टहरूमा दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ । सार्वजनिक सम्पत्ति नष्ट गर्ने व्यक्तिलाई त्यसै उन्मुक्ति दिइन नहुने उनीहरूको भनाइ छ । तर सरोकारवाला निकाय आपसमै दोषारोपणमा अल्मिलिँदा दोषीमाथि कारबाहीको प्रक्रिया नै अगाडि बढ्न सकेको देखिँदैन ।
कोहलपुर नगरपालिका–१० रामनगरमा गत भदौ २४ गते नगरपालिकाले रोपेका बिरुवा राति एकाएक काटिएको थियो । आराले धमाधम काटेर ५ वटा समीका बिरुवा ढलाइएका थिए । बिरुवा काटिएको खबर पाएपछि राति नै इलाका प्रहरी कार्यालय, कोहलपुर नगर प्रहरी र जनप्रतिनिधिसहितको टोली घटनास्थलमा पुगेर घटनाको अवलोकन गरेका थिए ।
घटनाको अध्ययन अवलोकनपश्चात रामनगरकै एक स्थानीय लक्ष्मीप्रसाद भुसालले ती बिरुवा काटेको पत्ता लागेको थियो । भुसालले बिरुवा काट्दै गरेको सिसिटिभी फुटेजसमेत प्रहरीले फेला पारेको थियो ।
बिरुवा काट्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कोहलपुर नगर प्रहरीले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको दियो । तर प्रहरीले अर्को शीर्षकमा उजुरी ल्याउन भन्दै सो उजुरी फिर्ता पठाएको थियो । तर अहिलेसम्म ती व्यक्तिविरुद्ध प्रहरीमा उजुरीसमेत दर्ता हुन सकेको छैन । पक्राउ र कारबाहीको कुरा त परै जाओस् ।
प्रतिक्रिया दिनुहोस्