हुम्ला ।
हुम्लाको नाम्खा गाउँपालिका र काठमाडौँको चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालबीच उपचार सेवाका लागि सम्झौता भएको छ । नाम्खा गाउँपालिका र संघीय राजधानीको स्तुपा सामुदायिक अस्पतालबीच उपचारमा विशेष छुट दिने सम्झौता भएको हो ।
नाम्खा गाउँपालिकाका बिरामीहरूलाई स्तुपा सामुदायिक अस्पतालमा उपचार गर्दा विशेष छुट दिने व्यवस्थाका लागि पालिका र अस्पतालबीच सम्झौता गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले पालिकाभित्रका स्थानीय बिरामी भए उपचारमा छुट दिने व्यवस्था गर्न स्तुपा सामुदायिक अस्पतालसँग सम्झौता भएको जानकारी दिए ।
उनका अनुसार सो सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष लामा र अस्पतालको तर्फबाट निर्देशक पेम्बा लामाले हस्ताक्षर गरेका छन् । सम्झौता लागू भएसँगै अब नाम्खा गाउँपालिकावासीले सो अस्पतालमा उपचारका लागि जाँदा विशेष छुट पाउनेछन् ।
सम्झौता पत्रमा उल्लेख भए बमोजिम ओपिडीमा उपचार गर्ने बिरामीले २५ प्रतिशतसम्म छुट पाउनेछन् । भने बिरामीको इन्भेष्टिगेशन गर्दा पनि २५ प्रतिशत नै छुट पाउने व्यवस्था गरिएको छ । तर सर्जरीलगायत अन्य उपचारमा १५ प्रतिशत छुट र बेड शुल्कमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ ।
हाल गाउँपालिका र अस्पतालबीच गरिएको यो सम्झौता १ वर्षका लागि लागु हुनेछ । सेवा प्रभावकारी बन्दै गएमा यसलाई निरन्तरता दिन दुवै पक्ष सहमत छन् । यो सम्झौताले आर्थिक अभावका कारण ठूलो रोगको उपचार गर्न नसक्ने बिरामीलाई फाइदा पुग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्