कालिकोटका ९० प्रतिशत खेतीयोग्य जमिनमा सिंचाइ अभाव



असोज १९ कालिकोट,  मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको तथ्याङ्क अनुसार कालिकोटको कूल खेतीयोग्य जमिनमध्ये ९० प्रतिशतमा अझै सिंचाइ नपुगेको पाइएको छ । जिल्लाको कुल  १७ हजार नौ सय ८४ हेक्टर खेतीयोग्य जमिनमध्ये २ हजार ५ सय नौ हेक्टर जमिनमा मात्र सिंचाइ पुगेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कालिकोटको १५ हजार ४ सय ७५ हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको छ । सिंचाइका लागि यी ठाउँमा आकाशे पानीमा भर पर्नुपर्ने भएकाले बाली उत्पादनमा समस्या हुने गरेको क्षेत्रीय सिंचाइ निर्देशनालयका लेखा अधिकृत प्रकाश पौडेलले बताए । “मध्यपश्चिमका अन्य जिल्लाभन्दा कालिकोटमा सिंचाइका समस्याका कारणले थोरै जमिन खेती गरिएको पाइएको छ ।” उनले भने,– “खेतीयोग्य जमिन भए पनि सिंचाइको अभावका कारण बाँकी जमिन खेतीविहीन बनेको हो ।”

कालिकोटमा सिंचाइ सब–डिभिजन कार्यालय भर्खर मात्र स्थापना भएको र त्यसले जिल्लामा सिंचाइका विभिन्न आयोजना संचालनमा तीव्रता दिएको जिल्ला सिंचाइ सब–डिभिजन कार्यालय कालिकोटले जनाएको छ ।

कालिकोटमा कूल खेतीयोग्य ९० प्रतिशत जमिनमा अझै खेती हुन नसकेको जिल्ला कृषि विकास कार्यालय कालिकोटका वरिष्ठ कृषि विकास अधिकृत सुनिलकुमार सिंहले बताए । “सिंचाइका समस्याका कारण जिल्लाको धेरैजसो खेतीयोग्य जमिनमा बाली लाग्न सक्दैन ।” उनले भने,– “सबै खेती योग्य जमिनमा बाली लागेको भए यहाँ खाद्यान्न अभाव हुने थिएन ।”

कालिकोट जिल्लामा  खाद्य अभाव हुनुमा सिंचाइको समस्या नै प्रमुख रहेको कर्णाली कृषि तथा खाद्य सरोकार समूहका अध्यक्ष कालीबहादुर मल्लले बताए । “कर्णाली र विशेष गरेर कालिकोटमा खाद्य असुरक्षित जिल्ला हुनुमा सिंचाइको समस्या प्रमुख कारण हो ।” उनले भने,–“सिंचाइ व्यवस्था हुने हो भने कालिकोट कहिल्यै खाद्य असुरक्षित जिल्ला हुँदैन ।”

प्रकाशित मिति : २०७४ असोज १९ गते बिहीबार