बाँसगढीमा नाबालिकामाथि सामूहिक बलात्कार



सार्वजनिक एक भिडिओेमा करिब ८–१० जना युवाहरूको समूहले नाबालिकालाई धम्की दिँदै नङ्ग्याएको देखिन्छ । उनीहरूले ती नाबालिकालाई अश्लील गाली गर्दै नङ्ग्याएर यौन दुव्र्यवहार गरेका छन् । समूहमा रहेका पीडकहरूले नाबालिकाका यौनांग हेर्न खोज्दै भिडिओे बनाइरहेको भिडिओेमा स्पष्ट देख्न सकिन्छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार नाबालिकामाथि पटक–पटक सामूहिक रूपमा करणीसमेत भएको पीडित र पीडक दुवैबाट खुल्न आएको छ ।

सनत सापकोटा । बाँसगढी ।

एक नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा बाँसगढी प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–२ बाट ती युवाहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।

गत तीजताका एक नाबालिकामाथि युवाहरूद्वारा सामूहिक रूपमा चरम यौन दुव्र्यवहार भएको भिडिओ सामाजिक सञ्जालमा गत साता सार्वजनिक भएपछि शुक्रबार प्रहरीले चार जना युवालाई पक्राउ गरेको थियो । ‘आइतबार थप चार जना पक्राउ परेका छन्,’ इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक रूपेश साहले भने, ‘सो समूहमा अझै तीन जना रहेको किटानी जाहेरी परेको छ, हामी उनीहरूको खोजी गरिरहेका छौँ ।’

पीडित नाबालिकाकी आमाले आइतबार इलाका प्रहरी कार्यालय बाँसगढीमा ११ जनाविरुद्ध जबरजस्ती करणीको आरोपमा किटानी जाहेरी दिएकी छन् । ती युवाले आफ्नी छोरीमाथि पटक–पटक जबरर्जस्ती करणी गरेको जनाउँदै सामूहिक बलात्कार आरोपमा किटानी जाहेरी दिएकी हुन् । आइतबार नै बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीका अनुसार गत तीज अगाडिको घटना अहिले आएर बाहिरिएको हो । भिडिओेमा ती नाबालिकामाथि यौन दुव्र्यवहार देखिन्छ । तर उनीमाथि पटक–पटक समूहमा करणीसमेत भएको पीडित र पीडक दुवैबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

‘प्रारम्भिक अनुसन्धान अनुसार तीजको दिनसम्म युवतीसँग दुई जनाभन्दा बढी युवाहरूको समूहले चारपटक यौन सम्पर्क गरेको पाइयो,’ इलाका प्रहरी कार्यालय बाँसगढीका नायब प्रहरी निरीक्षक (सई) श्याम रोकाले भने, ‘अन्तिम पटक तीजको दिन युवाहरूले सामूहिक रूपमा यौनसम्पर्क गरेको खुल्न आएको छ ।’

प्रहरीका अनुसार सबै पीडक र पीडित नाबालिका बाँसगढी–२ स्थित एउटै गाउँका हुन् । पक्राउ परेका ८ जना आरोपितमध्ये तीन बालिग र ५ जना नाबालिग हुन् । पक्राउ पर्ने बालिग आरोपितहरूमा बाँसगढी–२ का २२ वर्षीय गोपालजंग शाह, २२ वर्षीय भरत बुद्धिराम डाँगी र १९ वर्षीय रवी चन्द रहेका छन् । नाबालिक ५ जना पीडकमध्ये १५ देखि १७ वर्ष उमेरका रहेका छन् । उनीहरूमध्ये कोही स्कुल पढ्दै गरेका र कोही भर्खरै स्कुल छाडेका छन् ।

नाबालिकामाथि यौन शोषण गर्ने काम कहिलेदेखि सुरु भएको भन्ने यकिन नभए पनि तीजको केही समय अघिदेखि दुई–चार दिनको फरकमा लगातार उनीमाथि समूहमा यौन शोषण हुँदै आएको पाइएको प्रहरीको भनाइ छ ।

‘तीजको दिनसम्म कहिले वनमा, कहिले चौरमा, कहिले घरमा त कहिले खोलामा लगेर युवतीमाथि दुई जनाभन्दा बढीको समूहबाट यौन शोषण भएको रहेछ,’ सई रोकाले भने, ‘तीजपछि ती नाबालिका आमासँगै बाहिर गएपछि उनीहरूबीच भेटघाट र सम्पर्क हुन पाएको रहेनछ ।’

प्रहरीका अनुसार पीडित नाबालिका आफ्ना घरतिरका वृद्ध बाजे बज्यैसँगै राँझामा बस्दै आएकी थिइन् । उनका बाबु रोजगारीका लागि भारतमा छन् भने आमा पनि कामका लागि पूर्वी तराईको एक जिल्लामा थिइन् । परिवारमा अभिभावक भनेका वृद्ध बाजेबज्यै मात्रै थिए । ‘यही मौका छोपेर उनीमाथि लगातार यौन शोषण हुने गरेको रहेछ,’ सई रोकाले भने, ‘एउटै गाउँका भएकाले चिनजान हुने कुरा सामान्य भयो । तीजका बेला उनीहरूबीच कुराकानी र सम्पर्क भएको देखिन्छ ।’

पीडित नाबालिका १४ वर्षकी मात्र छन् । कक्षा आठमा पढेर पढाइ छाडेकी ती नाबालिकाको घरमा बाजेबज्यैबाहेक अरू अभिभावक थिएनन् । पीडितका अन्य दाजुभाइ दिदीबहिनी नभएको र बाबुआमा बाहिर भएकाले उनीमाथि ललाइफकाई र धम्क्याई लगातार यौन शोषण हुने गरेको देखिएको प्रहरीको भनाइ छ ।

भिडिओेमा पनि करिब ८–१० जना युवाहरूको समूहले नाबालिकालाई धम्की दिँदै नङ्ग्याएको देखिन्छ । उनीहरूले ती नाबालिकालाई अश्लील गाली गर्दै नङ्ग्याएर यौन दुव्र्यवहार गरेका छन् । समूहमा रहेका पीडकहरूले नाबालिकाका यौनांग हेर्न खोज्दै भिडिओे बनाइरहेको भिडिओेमा स्पष्ट देख्न सकिन्छ । समूहमा भएको सो दुव्र्यवहारको ती नाबालिकाले कुनै प्रतिकार गर्नसक्ने अवस्था देखिँदैन ।

प्रकाशित मिति : २०८१ मंसिर २५ गते मंगलबार