कोहलपुरमा कहिले बन्ला महिला क्रिकेट एकेडेमी ?



कोहलपुर ।

बाँकेको कोहलपुरमा अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला प्रस्तावित गरेको एक दशक बढी भइसक्यो । वि.स.२०६३ सालयता कोहलपुरमा क्रिकेट रंगशाला निर्माण हुने चर्चा चल्दै आएको छ । तर, रंगशाला निर्माणका लागि सरकारी तवरबाट देखिएको उदासिनताका कारण कोहलपुरमा क्रिकेट रंगशाला निर्माण गर्ने यहाँका क्रिकेटप्रेमीहरुको सपना पूरा हुन सकेको छैन ।

कोहलपुरको पहिचान बन्ने सम्भावना रहेको अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा स्थानीय सरकारले केही तदारुकता देखाएपनि त्यसले अझै मुर्तरुप पाउन नसकेको हो । रंगशाला निर्माणकै लागि भनेर २०६३ मै कोहलपुर नगर विकास समितिले ४ बिगाहा १८ कठ्ठा जमिन छुट्याएको थियो । अहिले केही वर्षयता कोहलपुर नगरपालिकाले समेत रंगशाला निर्माणको लागि टुक्रे बजेट विनियोजित गर्दै आएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावत क्रिकेट रंगशाला निर्माणको लागि स्थानीय सरकारले आफना् क्षमता अनुसार प्रयास गरिरहेको र प्रदेश र संघीय सरकारले चासो नदिएको बताउँछन् ।

यसअघि पनि स्थानीय क्रिकेटप्रेमी संघसंस्था तथा ब्यक्तिहरुको पहलमा मैदानको क्षेत्र निर्धारण गरिएको थियो । पछि सरकारी उदासिनताका कारण उचित संरक्षणको अभावमा मैदान गौचरणमा परिणत हुँदै गयो । पछिल्ला केही वर्षयता छिटफुट रुपमा प्रतियोगिता हुने गरेका छन् । कोहलपुर क्रिकेट एकेडेमी नै खोलिएको छ ।

०६३ सालयता विभिन्न चरणमा मैदान निर्माणका लागि १ करोड बढि रकम विनियोजित भईसक्दा समेत त्यसको उचित व्यवस्थापन हुन सकेको नसकेको जानकारहरु बताउँछन् । अझै पनि रंगशाला निर्माणका लागि पूर्वाधार निर्माण हुन सकेका छैनन् । कोहलपुरमा क्रिकेट रंगशाला बनाउने सपना पुरानो हो । अर्कातिर नेपाली क्रिकेटमा बाँके जिल्लाको विशिष्ट स्थान छ । राजधानी बाहिर वीरगन्ज, रुपन्देही, बाँके जिल्लाबाट क्रिकेट खेल्न सुरु भएको मानिन्छ ।

नेपाली क्रिकेटको विकासका लागि बाँके जिल्लाको विशिष्ट स्थान छ । बाँकेमा क्रिकेट भन्न बित्तिकै एलवी क्षेत्री र गणेश शाहीहरुको नाम आउँछ । अझ नेपालमा महिला क्रिकेटको स्थापनाको जस बाँके कै एलवी क्षेत्रीलाई जान्छ । क्रिकेट खेलाडी हुँदै नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान समेत भइसकेका क्षेत्री कोहलपुर अन्र्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बन्नुपर्ने भन्ने सपना देख्नेहरुमध्ये एक हुन् । भारतमा क्रिकेट सिकेका उनी पछि नेपालको राष्ट्रिय क्रिकेट टिमको उपकप्तान हुँदै कप्तान समेत भए ।

पूर्व कप्तान एलवी क्षेत्रीको जीवनमा आधारीत आत्मकथा ‘कप्तान १९९८’ नामक पुस्तक समेत प्रकाशित छ । ‘कप्तान १९९८’ मा उनल नेपाली क्रिकेटको विकास, आफ्नो खेल जीवन र नेपालमा महिला क्रिकेट स्थापना गर्दा व्यहोरेको बाधा र यसको सुरुवातका पृष्ठभूमि समेटेका छन् । उनी अहिले कोहलपुरमै राष्ट्रिय महिला क्रिकेट एकेडेमी निर्माण गर्ने कुरामा निकै हर्षित छन् । उनका अनुसार सरकारी तवरबाटै एकेडेमी निर्माणको लागि पहल भएपनि सबैमा खुसीयाली छाएको छ ।

‘अहिले बाँके जिल्लाले खेलकुदमन्त्री पाएको छ । उहाँले पहिलो निर्णय नै एकेडेमी खोल्ने गर्नुभएको छ ।’ पूर्व कप्तान क्षेत्रीले भने, ‘यो निर्णयको चौतर्फी स्वागत भएको छ । यसै सन्दर्भमा शिलान्याससम्मको प्रक्रियामा पुगेका छौं ।’ यस्तै आइतबार बाँकेको कोहलपुरमा ‘राष्ट्रिय क्रिकेट महिला एकेडेमी’को शिलान्यास गरिएको  छ ।

अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला प्रस्तावित मैदानमा सुविधा सम्पन्न संरचना निर्माण हुने गरी संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले शिलान्यास गरेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर– ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्र्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा कोहलपुर नगरपालिकाका प्रमुख, क्रियाशिल राजनीतिक दल र क्रिकेटप्रेमीहरुको सहभागितामा मन्त्री अथकले ‘राष्ट्रिय क्रिकेट महिला एकेडेमी’ को शिलान्यास गरेका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारमा माओवादी केन्द्रको तर्फबाट पहिलोपटक खेलकुद मन्त्री बनेको पहिलो दिनमै ‘राष्ट्रिय क्रिकेट महिला एकेडेमी’ स्थापना गर्ने उद्घोष गरेका थिए । बाँके निर्वाचन क्षेत्र नम्बर १ ‘क’ निर्वाचित जनप्रतिनिधि समेत रहेका अथकले तीन दिने निर्वाचन क्षेत्र भ्रमणमा गृहनगर पुगेको बेला पहिलो उद्घोष कार्यान्वयनका लागि शिलान्यास गरे ।

शिलान्यास कार्यक्रममा उनले एकेडेमी निर्माणका लागि फास्ट ट्रयाकमा डीपीआर तयार भईसकेको जानकारी दिदैं आफ्नै कार्यकालमा पुर्वाधार निर्माणको प्रक्रिया सुरु गरिने प्रतिवद्धता जनाए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले बाँकेकै सांसद विभागीय मन्त्री भएकोले कोहलपुरमा निर्माण हुन लागेको एकेडेमीले गति पाउने विस्वास व्यक्त गरे ।

‘नगरपालिकाले कोहलपुरको विकासका लागि खेलकुदलाई पनि प्राथमिकता दिएको छ । वर्षेनी बजेट पनि छुट्याउँदै आएका छौं । तर प्रदेश र संघबाट अपेक्षाकृत सहयोग पाइएको छैन’, नगरप्रमुख रावतले भने, ‘रंगशाला निर्माणको लागि ठूलो आकारमा बजेट चाहिन्छ । उताबाट सानो स्केलमा बजेट वियिनोजित हुँदा समस्या भएको छ ।’ अथककै कार्यकालमा एकेडेमी निर्माण कार्य सम्पन्न हुुनुपर्ने बताए ।

‘कोहलपुरलाई खेलकुदको हब बनाउनुपर्छ’

कोहलपुर हरेक क्षेत्रको ट्रान्जिट क्षेत्र हो । मेरो निर्वाचन क्षेत्र समेत रहेको यस क्षेत्रको विकास मेरो प्राथमिकतामा छ । मैले नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रीको रुपमा जिम्मेवारी पाएरपछि कोहलपुरमा रहेको अन्र्तराष्ट्रिय क्रिकेट रंगशालालाई निर्माण गर्ने त्रिकेट एकेडेमीका रुपमा विकास गर्ने लक्ष्य लिएर कामको प्रक्रिया सुरु भएको छ ।

त्यसैका लागि मन्त्रालयका प्राविधिक सहित हामी आएका छौं । फास्ट ट्रयाकमा यसको डीपीआर समेत तयार भएको छ । रात्रिकालीन सेवा समेत सञ्चालन गर्नेगरी काम सुरु भइसकेको छ । यसमा आवासीय व्यवस्था समेत हुन्छ । एकेडेमीको लागत १ अर्ब २२ करोड अनुमान गरीएको छ । यो नेपालमा बन्ने परियोजनामध्ये राम्रो योजना हो ।

गौरवको योजनाका रुपमा रहेको एकेडेमी बहुवर्षीय योजना हो । आफू मन्त्री भएकै समयसम्म पूर्वाधार निर्माण गरिने उनको भनाइ छ । यो मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को प्राथमिकता भित्रको परियोजनाका रुममा समेत रहेको छ । यस्तै कोहलपुर–१३ मा रमेत परिक्षण केन्द्र स्थापना गर्ने तयारी भएको उनले बताए । त्यसको लागि अहिले ७० लाख बजेट सुनिश्चित गरिएको छ ।

एक पालिका एक खेलकुद ग्राम कार्यक्रममा कोहलपुर पनि समेटिने मन्त्री अथकले जानकारी दिएका छन् । यो मात्रै होइन यहाँ थुप्रै खेलकुदका पूर्वाधार निर्माण हुन्छन् । कोहलपुरलाई अन्य क्षेत्र जस्तै खेलकुदको समेत हब बनाउनुपर्छ । सबैको सहयोग र सहकार्यबाट यसलाई त्यसरी अगाडी लैजानुपर्छ । किनभने यो ठूलो सम्भावना भएको क्षेत्र हो ।

प्रकाशित मिति : २०७८ मंसिर ६ गते सोमबार