बाँके ।
कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टी निर्माणाधीन शवदाह गृह निर्माणका लागि ग्लोबल आईएमई बैंकले २० लाख सहयोग गरेको छ । कोहलपुर नगरपालिकाद्वारा निर्माण भइरहेको अत्याधुनिक शवदाह गृह निर्माणका लागि बैंकले २० लाख रुपैयाँ सहयोग गरेको हो ।
सोमबार कोहलपुर नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच बैंककी लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले नगरपालिकाकी कार्यबाहक नगर प्रमुख संगीता सुवेदीलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरिन् ।
सो अवसरमा बोल्दै कार्यबाहक नगर प्रमुख सुवेदीले नगरपालिकाले सुरु गरेको पुण्य कामका लागि २० लाख रुपैयाँ सहयोग गरेको भन्दै ग्लोबल आईएमई बैंकलाई धन्यवाद दिइन् ।
शवदाह गृह कोहलपुरबासीको सपना भएको र अब त्यो सपना पूरा हुने भएको उनले बताइन् । उनले भनिन्, ‘शवदाह निर्माणका लागि कोहलपुरका व्यवसायी चक्र अधिकारीको भूमिका महत्वपूर्ण छ । यस्तै बैंकहरूले समेत निकै ठूलो सहयोग गरिरहेका छन् । अन्य दाताहरूप्रति पनि हामी कृतज्ञ छौं ।’
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशकी प्रमुख शिवाकोटीले शवदाह गृह जस्तो पवित्र कार्यमा जोडिन पाउनु बैंकका लागि गौरवको विषय भएको बताइन् । उनका अनुसार ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत शवदाह गृह निर्माणको लागि भूमिका निर्वाह गरिएको हो ।
‘बैंक स्थापना भएको १८ वर्ष पूरा भयो । अहिलेसम्म हामीले देशभर गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेका छौँ । अहिले नगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी छौंँ,’ शिवाकोटीले भनिन् ।
प्रतिक्रिया दिनुहोस्