गर्मीको समयमा भन्दा पनि विशेषगरी जाडो समयमा चिया अत्यधिक बिक्री हुने गर्छ । त्यसैले पनि उनी यो समय चियाको भएको बताउँछन् । अहिले उनी चिया बेचेरै दैनिक न्यूनतम ५ समयदेखि १ हजार रुपैयाँसम्म कमाइ हुने गरेको बताउँछन् । एक हातमा बाल्टिन र अर्काे हातमा किल्टी बोकेर पसल, चोकहरूमा चिया बेच्दै हिँड्नु उनको अहिलेको दैनिकी जस्तै बनेको छ ।
गणेश रावत । कोहलपुर ।
हँसिलो अनुहार । गलामा गलबन्दी । शिरमा नेपाली ढाका टोटी । मिठो र सुरिलो बोली । त्यही बोलीले चिया बिकाउँदै छन्, बद्रीप्रसाद जोशी । अहिले जाडो याम अर्थात चिसो सुरु भएसँगै उनको चियाको ‘मौसम’ सुरु भएको छ ।
कोहलपुरको मदनचोक घर भएका जोशी एकाबिहनै बाक्लो ज्याकेट, मोजा र जुत्ता लगाएर चिया बेच्न निस्कछन् । दिनभर चिया बेच्दै उनको दैनिकी बित्ने गर्छ । घरबाट बाटोमा चिया बेच्दै कोहलपुर बजार पुग्ने गर्छन् ।
‘बिहान उठेर एक ‘किल्टी’ चिया बनाउँछु,’ उनले भने, ‘त्यसलगत्तै श्रीमतीले तयार पारेको खाना खाएर दिनभरि चिया बेच्न हिँड्ने गर्छु ।’ ४० वर्षीय जोशी चिया बेच्न कोलपुरका गल्लीगल्ली पुग्ने गरेको बताउँछन् ।
उनका लागि अहिलेको जाडोको समय चिया मौसमी जस्तै बनेको छ । वर्षा याममा कालापहाड धाउने उनी जाडो समय (हिउँद)मा भने आफ्नै ठाउँमा चिया बेच्ने गरेको बताउँछन् ।
गर्मीको समयमा भन्दा पनि विशेषगरी जाडो समयमा चिया अत्यधिक बिक्री हुने गर्छ । त्यसैले पनि उनी यो समय चियाको भएको बताउँछन् । अहिले उनी चिया बेचेरै दैनिक न्यूनतम ५ समयदेखि १ हजार रुपैयाँसम्म कमाइ हुने गरेको बताउँछन् ।
एक हातमा बाल्टिन र अर्काे हातमा किल्टी बोकेर पसल, चोकहरूमा चिया बेच्दै हिँड्नु उनको अहिलेको दैनिकी जस्तै बनेको छ । पाँच जनाको परिवार पाल्न र छाक टार्न भए पनि चिया बेच्ने गरेको उनी बताउँछन् ।
आम्दानीको स्रोत र रोजगारी नहुँदा कहिले मजदुरी त कहिले चिया बचेरै छोराछोरी पढाउने र दैनिक गुजरा चलाइरहेको उनले बताए ।
चिसो बढेसँगै चिया खानेको सङ्ख्या पनि बढेको उनी बताउँछन् । भारतमा अर्थात कालापहाडमा मजदुरी गरेर भन्दा आफ्नैं ठाउँमा घुम्दै चिया बेच्न पाउँदा खुसी लागेको उनले बताए ।
स्वदेशमा काम पाउनसमेत गाह्रो हुँदा एक दशकदेखि कालापहाड धाउने गरेको उनले बताए । ‘घरपरिवार पाल्न कालापहाड धाउन थालेको धेरै भयो,’ जोशीले भने, ‘रोजगारी नहुँदा छोराछोरी पढाउन र छाक टार्न जानै प¥यो ।’
जोशी मात्र होइन्, अहिले कोहलपुरमा चिया बेच्दै हिँड्ने बजारमा थुप्रै व्यक्तिहरू भेटिने गर्छन् । यसले गर्दा पनि चिया पाराखीहरूलाई चिया पसल खोज्दै हिँड्नुुपर्ने झन्झट कम भएको छ । पछिल्लो समय कोहलपुरमा चिसो दिनप्रतिदिन बढ्दै जाँदा चिया पनि धेरै बिक्री हुने गरेको उनीहरू बताउँछन् ।
घरपरिवार सँगसँगै दुःखसुख साट्दै चियाको ब्यापार गर्न थालेको करिब पाँच वर्ष भएको जोशी बताउँछन् । पाँच वर्षदेखि जाडोको समयमा चिया बेच्ने र अन्य समयमा भारतका विभिन्न सहरहरूमा मजदुरी गर्न जाने गरेको उनले सुनाए ।
बिहान सबेरैदेखि साँझ अबेरसम्म कोहलपुर बजारमा डुलेर चिया बेचेर दिन बित्ने गरेको उनी बताउँछन् । जोशीले दैनिक ५० देखि १ सय कप चिया बेच्छन् । बजारमा चियाको मूल्य रु २५ भए पनि उनले १ कप चियाको २० रुपैयाँ मात्रै लिन्छन् ।
‘चिया बेचेर दैनिक एक हजारसम्म कमाइ हुन्छ,’ उनी भन्छन्, ‘घरखर्च सबै कटाएर वार्षिक २० हजार बचत हुनेगर्छ ।’ जाडोको समयमा मजदुरीभन्दा पनि आफैँले केही गरौँ भनेर चिसोमा तातो चिया बेच्न थालेको उनले बताए । उनलाई कहीले काही सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ हुने गरेको बताउँछन् ।
चिया पसलमा भन्दा कम मूल्यमा चिया पाइने भएपछि कसैले त सधैँ सोही समयमा आउन आग्रहसमेत गर्ने गरेको उनले जानकारी दिए । कतिपय अहिले चियाको नियमित ग्राहकजस्तै बनिसकेको पनि उनी बताउँछन् ।
अर्काेतिर मानिसहरूसँग आत्मियता र चिनजान बढ्दै पनि गएको पनि उनको अनुभव छ । आर्थिक रूपमा मात्र नभई सामाजिक रूपमा सबैले चिया बेच्ने जोशी दाइ भनेर चिन्दा खुसी लाग्ने गरेको उनले बताए । अर्काको देशमा गुलामी गरेर कमाएको पैसाभन्दा आफ्नै देशमा कमाएको पैसाले आत्मसन्तुष्टि मिल्ने गरेको उनको भनाइ छ ।
आगामी दिनमा कालापहाडभन्दा यतै केही विकल्प खोज्ने उनको भनाइ छ । सानोतिनो भए पनि केही व्यवसाय सञ्चालन गरेर घरभन्दा चलाउने उनी बताउँछन् । कलिलो उमेर कालापहाडमा मजदुरी गरेर बिते पनि अबको बाँकी समय घरपरिवारसँगै बसेर स्थायी प्रकृतिको व्यवसाय गर्ने उनको योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्