वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्वमुख्यमन्त्री शाहीले पाए सफाइ



सुर्खेत ।

वाइडबडी खरिद्मा भएको भ्रष्टाचार मुद्दामा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका तत्कालीन पर्यटनमन्त्री जीवनकुमार शाहीले सफाइ पाएका छन् ।

यो मुद्दामा नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार तथा बोर्डका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगाना कसुरदार ठहरिँदा शाहीसहित अरूले सफाइ पाएका हुन् ।

शाही हाल निलम्बित कर्णाली प्रदेश सदस्य छन् । नेपाली कांग्रेसका कर्णाली प्रदेश संसदीय दलका नेतासमेत हुन् । विशेष अदालतले वाइडबडी खरिदमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएका शाहीसहित ३२ जनालाई सफाइ दिएको हो ।

उक्त प्रकरणमा मुछिएका १० जनालाई भने भ्रष्टचारी ठहर गरिएको छ । नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार तथा बोर्डका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगाना कसुरदार ठहरिएका छन् ।

त्यसैगरी विमान आपूर्ति गर्ने विदेशी कम्पनी र तिनका ८ प्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा चलेकोमा भुक्तानी भएको रकम राख्ने एस्क्रो कम्पनी र उसका दुई प्रतिनिधिबाहेक अरु ६ आरोपितहरू कसुरदार ठहरिएका छन् । तत्कालीन पर्यटनमन्त्रीसमेत रहेका शाहीको सटहीको निर्णयमा बदनियत नदेखिएको विशेष अदालतले ठहर गरेको हो ।

शाहीमाथि मूल्य बढाउने अनि विमानको भारवहन क्षमता घटाउने निर्णयमा सहयोग पु¥याएको आरोप लागेको थियो । विशेष अदालतले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ नै भ्रष्टाचार गरेको ठह¥याएको छ ।

नेपाल वायुसेवा निगमका पदाधिकारीहरूसँगको मिलेमतोमा बैंक जमानत विना नै सटही सुविधा दिएको आरोप उनीमाथि थियो । विशेष अदालतले आदेशमा भनेको छ, ‘सटही सुविधाको सिफारिसको पत्र पठाउँदा खरिद प्रक्रियाको कागजात उनी समक्ष पेश भएको भन्ने अख्तियारको दावी नगरेको र बहसका क्रममा देखाउन सकेको अवस्था छैन । सटहीका लागि मन्त्रीको हैसियतमा सिफारिसको टिप्पणी सदर गरेको मात्र कार्यमा बदनियतपूर्ण संलग्नता रहेको भन्न मिलेन ।’

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर २२ गते शनिबार