जमुनाह–कोहलपुर फोरलेन सडक मर्मतका नाममा पाँच वर्षमा साढे २६ करोड खर्च



२०७४ सालमा निर्माण सम्पन्न भएको यो सडकखण्डमा मर्मत र स्तरोन्नतिका नाममा पछिल्लो पाँच वर्षमा मात्रै साढे २६ करोडभन्दा बढी रकम खर्च भइरहेको छ । मर्मतमा ठूलो रकम खर्च भएपछि सडकमा भने खाल्डाहरू मात्रै देखिन्छन् । ‘टालो हालेजस्तै’ गरेर मर्मत गरिएका स्थानमा अहिले पुनः खाल्डाहरू पर्न थालिसकेका छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

जमुनाहादेखि कोहलपुर चौराहासम्मको फोरलेन सडक खण्डमा पछिल्ला पाँच वर्षमा २६ करोड ५५ लाख रूपैयाँ मर्मत–सम्भार र स्तरोन्नतिमा खर्च भएको छ । यो सडकखण्ड विसं २०७४ सालमा निर्माण सम्पन्न भएको थियो । फोनलेन सडक मर्मतका नाममा पछिल्लो पाँच वर्षको अवधिमा भएको खर्च सडक निर्माण गर्दा भएको खर्चको तुलनामा एक चौथाइ हो । एडीबीको ऋणमा निर्माण भएको फोरलेन सडक निर्माणमा एक अर्बभन्दा बढी रकम खर्च भएको थियो ।

चालु आवमा जमुनाहा–कोहलपुर चौराहा सडकखण्ड मर्मतका लागि भनेर ९३ लाख रूपैयाँ बजेट आएको सडक डिभिजन, नेपालगन्जले जनाएको छ । त्यसमध्ये २२ लाख रूपैयाँ खर्च गरेर राँझादेखि कोहलपुरसम्मको सडकमा ‘टालो हालेजस्तै’ गरेर मर्मत गरिएको छ । वर्षातको मौसममा नै मर्मत गरिएका ती ठाउँमा अहिले पुनः खाल्डाहरू पर्न थालिसकेका छन् । उक्त सडकखण्ड मर्मतका लागि बाँकी रहेको बजेटबाट पुनः ठेक्का आह्वान गरिने सडक डिभिजन, नेपालगन्जले जनाएको छ ।

वर्षमा दुईपटक मर्मत गर्ने ठेक्का आह्वान हुने गरेको सडक डिभिजन नेपालगन्जका इन्जिनियर टोपेन्द्र खड्काले जानकारी दिए । उक्त सडकको जमुनाहा–राँझा खण्डमा आर्थिक वर्ष २०८९/०८० मा २४ करोड ३६ लाख बढीको लगानीमा अस्फाल्ट ओभरले गरिएको छ । उक्त स्तरोन्नतिको कामपछि पहिले उबडखाबड रहेको उक्त खण्डको सडकको गुणस्तर राम्रो बनेको छ ।

सोही आर्थिक वर्षमा राँझादेखि कोहलपुर खण्डमा १ करोड २१ लाखको बजेट सडकको पुनस्र्थापनामा खर्च भएको सडक डिभिजन नेपालगन्जले जनाएको छ ।

जमुनाहा–राँझा खण्डमा अल्फाल्ट ओभरलेको काम सडक निर्माण सम्पन्न भएको पाँच वर्षमा अनिवार्य गर्नुपर्ने आवधिक सडक पुनस्र्थापनाको काम भएको सडक विभागका इन्जिनियर अमिर सुवेदी बताउँछन् । उक्त काम राँझादेखि कोहलपुर सडकखण्डमा पनि गर्नुपर्नेमा आधा खण्डमा मात्रै गरिएको थियो । यही सडकमा गत आर्थिक वर्ष २०८०/०८१ मा ३० लाख रूपैयाँ मर्मत–सम्भारमा खर्च भएको छ भने २०७८/०७९ मा ११ लाख र २०७६/०७७ मा ३५ लाख रूपैयाँ खर्च गरिएको छ । आव २०७७/०७८ मा भने मर्मतको काम गरिएन ।

चालु आर्थिक वर्षमा बाँकी रहेको बजेटबाट खाल्डाहरू मर्मत गरिने इन्जिनियर खड्काले जानकारी दिए । सडक मर्मतका लागि हरेक वर्ष बजेट आउने गरेको र उक्त बजेटलाई आवश्यकताका आधारमा दुईपटक ठेक्का आह्वान गरी मर्मत गर्ने गरिएको उनले बताए ।

सडकको कोहलपुर–राँझा खण्डको ११ किमी ७ सय मिटर खण्ड र राँझा–नेपालगन्ज–जमुनाहाको १० किमी ५ सय मिटर खण्ड फरक–फरक ठेकेदारले निर्माण गरेका थिए । कोहलपुर–राँझा खण्ड कालिका कन्स्ट्रक्सन प्रालि र राँझा–जमुनाहा खण्ड एएमआर पप्पु जेभीले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २०८१ मंसिर २४ गते सोमबार