कैलाली ।
बाजुराको मार्तडीमा मन्दिर दर्शन गरेर फर्किरहेकाहरू सवार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किएकाहरू सवार सुपप्र ०१ ००१ च ४३१६ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा एक जनाको घटनास्थल र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीपकुमार गिरीका अनुसार घटनास्थलमा कन्चनपुर भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्त र उपचारका क्रममा सोही भीमदत्त–१८ की राधिका भट्टको मृत्यु भएको थियो ।
दुर्घटनामा परी शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाजुराका कार्यालय सहयोगी गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कन्चनपुर कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका छन् । घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्