हरित विद्यालय आजको आवश्यकता



हरित विद्यालय आजको आवश्यकता मात्र नभएर भविष्यका लागि एउटा दीर्घकालीन पर्यावरण बचाउने उपाय पनि हो । यसले विद्यार्थीहरूलाई शिक्षा, पर्यावरण र समाजबीचको सन्तुलनका महत्वपूर्ण पक्षबारे सिकाउँछ । नेपालजस्तो जैविक र भौगोलिक विविधतायुक्त देशमा हरित विद्यालयको अवधारणाले दीर्घकालीन रूपमा वातावरणीय सन्तुलन कायम राख्न मद्दत पु¥याउँछ ।

हेमन्त राज काफले ।

विश्वव्यापी रूपमा वातावरणीय संकट, जलवायु परिवर्तन र प्राकृतिक स्रोतहरूको दुरुपयोगले मानव सभ्यतालाई गम्भीर चुनौतीको सामना गर्न बाध्य बनाएको छ । तीव्र सहरीकरण, औद्योगिकीकरण र बढ्दो उपभोक्तावादले पृथ्वीका प्राकृतिक स्रोतहरूमा अत्यधिक दबाब सिर्जना गरेको छ । परिणामस्वरूप, प्रदूषण, वन विनाश, जैविक विविधताको ह्रास र जलवायु परिवर्तन जस्ता समस्या तीव्र रूपमा बढिरहेका छन् ।

वातावरणीय संकटले न केवल प्राकृतिक पारिस्थितिक प्रणालीलाई असर पारेको छ, यसले मानिसको स्वास्थ्य, खाद्य सुरक्षा र आर्थिक प्रणालीमा पनि ठूलो असर पु¥याएको छ । यस्ता समस्याहरूको समाधान गर्न दिगो विकास र वातावरणीय संरक्षणका लागि शिक्षा प्रणालीमा ठूलो परिवर्तनको आवश्यकता छ । यही सन्दर्भमा, हरित विद्यालयको अवधारणा एउटा सशक्त उपायका रूपमा प्रस्तुत गर्न सकिन्छ ।

हरित विद्यालय भनेको के हो ?

हरित विद्यालय भनेको एउटा यस्तो शैक्षिक संस्था हो, जसले आफ्ना विद्यार्थीहरूलाई वातावरणीय सचेतना र दिगो विकासका सिद्धान्तहरू सिकाउँछ । यसले केवल किताबी ज्ञान प्रदान गर्ने प्राचीन परम्परागत शिक्षालाई व्यावहारिक शिक्षामा बदल्छ । हरित विद्यालयले आफ्नो पाठ्यक्रम, संरचना र गतिविधिहरूलाई वातावरणीय संरक्षणका सिद्धान्तहरूसँग जोड्छ ।

यसले विद्यार्थीहरूलाई जलवायु परिवर्तन, ऊर्जा संरक्षण, फोहोर व्यवस्थापन र प्राकृतिक स्रोतहरूको प्रभावकारी उपयोग जस्ता विषयमा व्यावहारिक ज्ञान र चेतना प्रदान गर्छ । यस्तो विद्यालयले विद्यार्थीहरूलाई जीवनभर वातावरणीय नेतृत्वदायी भूमिका निर्वाह गर्न उत्साह दिन्छ ।

हरित विद्यालयका उद्देश्य र विशेषताहरू

हरित विद्यालयको मुख्य उद्देश्य वातावरणीय चेतना र व्यावहारिक शिक्षा प्रदान गर्नु हो । यसले विद्यार्थीलाई केवल पाठ्यक्रममा सीमित नराखी व्यावहारिक अभ्यासका माध्यमबाट वातावरणीय समस्याहरू समाधान गर्न सक्षम बनाउँछ । यसका केही प्रमुख विशेषताहरू यस प्रकार छन् ः
(क) पर्यावरणीय शिक्षा तथा ईको क्लबको निर्माण

पाठ्यक्रममा जलवायु परिवर्तन, जैविक विविधता, ऊर्जा संरक्षण र फोहोर व्यवस्थापन जस्ता विषयहरू समावेश गरिन्छ । विद्यार्थीहरूले च्भमगअभ, च्भगकभ, च्भअथअभि जस्ता वातावरणीय सिद्धान्तहरू व्यवहारमा लागू गर्न विद्यालयमा ईको ब्लब बनाई विद्यार्थीहरूलाई समूह समूहमा रूख, पोखरी, सिमसार, तलाउ, जंगल, जनावर, जैविक विविधताका बारेमा जानकारी दिँदै विद्यालयमा सरसफाइदेखि विद्यालयमा तरकारी करेसाबारी तथा फलफूल खेतीको महत्वका बारेमा जानकारी दिन सक्नुपर्छ र प्रत्येक ईको क्लबका विद्यार्थीलाई दिगो विकासको ज्ञान् र वातावरण बचाउने एक आधार बनाउन सक्नुपर्छ ।

(ख) दिगो अभ्यास

विद्यालयले सौर्य प्यानल, वर्षा पानी संकलन प्रणाली र जैविक फोहोरबाट अर्गानिक मल बनाउने जस्ता दिगो अभ्यासहरूलाई प्राथमिकता दिन्छ । यसले विद्यार्थीलाई दैनिक जीवनमा दिगो अभ्यासको महत्व बुझाउँछ ।

(ग) प्रकृतिसँग निकटता

विद्यालय परिसरलाई हरियाली वातावरण बनाउन वृक्षरोपण कार्यक्रम सञ्चालन गरिन्छ । र विद्यार्थीहरूलाई ‘एक विद्यालय एक नर्सरी’ तथा ‘एक विद्यार्थी, एक रूख’ जस्ता अभियानहरूले विद्यार्थीलाई प्रकृतिसँग रम्न सिकाउँछ ।

(घ) समुदायमा योगदान

हरित विद्यालयले विद्यार्थी मात्र नभई स्थानीय समुदायलाई पनि वातावरणीय अभियानमा सहभागी गराउँछ । सामुदायिक वृक्षरोपण, जल संरक्षण अभियान र फोहोर व्यवस्थापनामा जैविक मल बनाउन अर्गानिक खेतीलाई प्रोत्साहन दिन अभिभावकहरूको पनि सहभागिता गराउनुपर्छ ।

(ङ) ऊर्जा र स्रोतहरूको संरक्षण

विद्यालयमा ऊर्जा बचतका लागि सौर्य प्यानल जडान गर्न सकिन्छ । प्राकृतिक प्रकाश र हावा प्रयोग गरी ऊर्जा उपयोगलाई न्यूनतम बनाउने अभ्यास गर्न सकिन्छ र विद्यार्थीहरूलाई विद्युतीय ऊर्जालाई प्रयोग कसरी गर्ने र ऊर्जा संकटबाट कसरी बच्न सकिन्छ भन्नेबारे जानकारी दिन सकिन्छ ।

नेपालमा हरित विद्यालयको सम्भावना

नेपाल, जहाँ प्राकृतिक स्रोतहरूको विविधता छ, त्यहाँ हरित विद्यालयको अवधारणाले ठूलो प्रभाव पार्न सक्छ । नेपालका हिमाल, पहाड र तराईका भूभागहरूले यस अवधारणालाई कार्यान्वयन गर्न थप सहज बनाउँछन् ।

नेपालजस्तो विकासोन्मुख देशमा जलवायु परिवर्तनले गम्भीर असर पारेको छ । हिमाली क्षेत्रमा हिउँ पग्लने समस्या, पहाडी क्षेत्रमा भूक्षय र तराई क्षेत्रमा जलस्रोतको ह्रासले स्थानीय बासिन्दाको दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको छ । यस्ता समस्याहरूको समाधान गर्न वातावरणीय शिक्षालाई प्राथमिकतामा राख्नु आवश्यक छ ।

हिमाली क्षेत्रका विद्यालयहरूले हिमालयन जैविक विविधताको संरक्षणमा ध्यान दिन सक्छन् । यस क्षेत्रका दुर्लभ जडिबुटीहरूको संरक्षण र जलवायु अनुकूल खेतीबारे विद्यार्थीलाई शिक्षित गराउन सकिन्छ । पहाडी क्षेत्रका विद्यालयहरूले सामुदायिक वनको उपयोग गर्दै विद्यार्थीलाई सामूहिक दिगो अभ्यासमा संलग्न गराउन सक्छन् । तराईका विद्यालयहरूले जल संरक्षण, जैविक खेती र सहरीकरणका प्रभावलाई नियन्त्रण गर्न सचेतना फैलाउन सक्छन् ।

नेपालका ग्रामीण क्षेत्रका विद्यालयहरूले आफ्नो स्थानीय सन्दर्भलाई ध्यानमा राखी हरित विद्यालयको अवधारणा कार्यान्वयन गर्न सक्छन् । सामुदायिक स्रोतहरूको उपयोग गर्दै फोहोर व्यवस्थापन, वृक्षरोपण र स्थानीय स्रोतहरूको संरक्षणका अभ्यास विद्यार्थीलाई सिकाउन सकिन्छ ।

समाजमा हरित विद्यालयको भूमिका

हरित विद्यालयले समाजलाई दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्न सक्छ । यसले विद्यार्थीहरूलाई मात्र होइन, अभिभावक र समुदायलाई पनि वातावरणीय दिगो जीवनशैली अपनाउन प्रेरित गर्दछ । स्थानीय स्रोतहरूको उपयोग गर्दै सामुदायिक जागरण फैलाउने, वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने र वातावरणीय समस्याहरू समाधान गर्ने नेतृत्व विद्यार्थीहरूले सिक्छन् ।

उदाहरणका लागि, नेपालमा काठमाडौँ, पोखरा र चितवनजस्ता सहरी क्षेत्रमा हरित विद्यालयले प्लास्टिकजन्य प्रदूषण नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । यस्तै, ग्रामीण क्षेत्रका विद्यालयहरूले समुदायलाई जैविक अर्गानिक खेतीको महत्व सिकाउन सक्छन् । विद्यालयले विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई समावेश गरी वृक्षरोपण अभियान, जल संरक्षण अभियान र जैविक फोहोरको व्यवस्थापनमा सहभागी गराउँछ ।

हरित विद्यालयले विद्यार्थीलाई केवल जिम्मेवार नागरिक बनाउँदैन, उनीहरूलाई वातावरणीय संकटको समाधानकर्ताको रूपमा पनि तयार गर्दछ । यस्तो विद्यालयले विद्यार्थीलाई व्यावहारिक शिक्षाको माध्यमबाट भविष्यको जलवायु संकट सामना गर्न सक्षम बनाउँछ ।

हरित विद्यालय आजको आवश्यकता मात्र होइन, यो भविष्यका लागि एउटा दीर्घकालीन पर्यावरण बचाउने उपाय पनि हो । यसले विद्यार्थीहरूलाई शिक्षा, पर्यावरण र समाजबीचको सन्तुलनका महत्वपूर्ण पक्षबारे सिकाउँछ । नेपालजस्तो जैविक र भौगोलिक विविधतायुक्त देशमा हरित विद्यालयको अवधारणाले दीर्घकालीन रूपमा वातावरणीय सन्तुलन कायम राख्न मद्दत पु¥याउँछ ।

यस प्रकारका विद्यालयहरूले विद्यार्थीलाई दिगो जीवनशैली र वातावरण बचाउन लागि अवधारणाहरू तयार पार्छन् । यसले उनीहरूको भविष्य मात्र होइन, सम्पूर्ण समाजको जीवनस्तरमा सुधार ल्याउँछ । त्यसैले, अबको शैक्षिक प्रणालीले हरित विद्यालयको अवधारणा अपनाउँदै प्रकृति र मानवबीचको सम्बन्ध सुधार्नुपर्ने समय आएको छ ।

(लेखक डब्लूडब्लूएफ नेपाल २०२१ को संरक्षण अवार्ड विजेता हुन् ।)

प्रकाशित मिति : २०८१ मंसिर २३ गते आइतबार