ग्रीनल्याण्ड स्थापनाका १२ वर्षः संघर्ष, सफलता र हर्ष



नन्दराम जैशी

वीरेन्द्रनगर–३ तातापानीस्थित ग्रीनल्याण्ड एकेडेमीले आफ्नो १२औँ वसन्त पार गरेको छ । स्थापनाको १२औँ वर्ष पार गर्दैगर्दा जति संघर्षका तिता अनुुभव छन्, त्योभन्दा सयौँ गुुणाबढी यस विद्यालयसँग सफलता र हर्षका खुसी पनि छन् । ग्रीनल्याण्डले कर्णाली प्रदेशको निजी शिक्षा क्षेत्रमा गुणस्तरीय र प्रभावकारी शिक्षाको नयाँ मोडेल स्थापना गरेको छ भने विद्यार्थीको समग्र विकाससँगै समाजमा सकारात्मक प्रभाव छाड्न सफल भएको छ ।

कर्णाली प्रदेश जस्तो भौगोलिक रूपमा दुर्गम र विकासको सूचांकमा पछिपरेको क्षेत्रमा ग्रीनल्याण्डले शिक्षा विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको हो । विद्यालयलाई यहाँसम्म पुु¥याउन जति दुःख र संघर्ष गर्नुुप¥यो त्यसको मुख्य परिणाम हो, प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन सफल हुनुु । २०८० को एसईई परीक्षामा ग्रीनल्याण्डले कर्णालीकै उत्कृष्ट नतिजा ल्यायो । पहिलोपटक एसईई परीक्षामा सहभागी भएको यस विद्यालयले ऐतिहासिक ३.९५ जीपीए नतिजासहित छात्रा स्मारिका शाही छात्रातर्फ प्रदेश प्रथम हुन सफल भइन् ।

१५ जना विधार्थीमध्ये ६ जना ‘ए’ प्लस, ७ जना ‘ए’ र १ जना ‘बी’ प्लस नतिजा ल्याउन सफल भएका थिए । उक्त नतिजा कर्णाली प्रदेशकै उत्कृष्ट नतिजा हो । २०८० सालकै वीरेन्द्रनगर नगरस्तरीय कक्षा ८ को परीक्षामा पनि ग्रिनल्याण्ड उत्कृष्ट विद्यालयको रूपमा परिचित भयो । ४० जना विधार्थीमध्ये ३० जनाले ‘ए’ प्लस र १० जनाले ‘ए’ ग्रेड नतिजा ल्याउन सफल भई ग्रिनल्याण्ड उत्कृष्ट विद्यालय बन्यो । विद्यालयभित्रका आन्तरिकमात्र नभई विद्यालय बाहिर भएका नगरस्तरीय तथा जिल्लास्तरीय वक्तृत्वकला, नृत्य, चित्रकलालगायत विविध प्रतियोगता तथा विभिन्न खेलहरूमा समेत उत्कृष्ट प्रर्दशन गरी उत्कृष्ट स्थान हासिल गर्न विद्यालय सफल हुँदै आएको छ ।

हाल विद्यालयमा ४० जनाबढी शिक्षकहरू कार्यरत छन् । विद्यालयले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलापसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमा प्रतिभा पहिचान कार्यक्रम, धुम्रपान मद्यपानविरुद्धको सचेतना कार्यक्रम र कक्षा ५ देखि १० सम्मका छात्राहरूको लागि महिनावारी तथा सरसफाइसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यस्तै वृक्षारोपण कार्यक्रम, ज्येष्ठ नागरिकसँग मिलन, स्वास्थ्य परीक्षण लगायतका कार्यक्रमलाई विद्यालयले नियमितता दिँदै आएको छ ।

बालबालिकाबीच मित्रताको भावलाई उजागर गरी आफूभन्दा कमजोर आर्थिक अवस्था भएका साथीहरूलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गर्न बादी सरोकार मञ्चमा आश्रित १२० बालबालिकासँग मित्र मिलन कार्यक्रम भइरहेको छ । विद्यालयले भौतिक संरचनालाई ध्यान दिएर थप २५ कोठे नयाँ भवन निर्माण गरिरहेको छ भने बालबालिकाहरूको खेल विकासका लागि फुटसल खेल मैदान बनाउने तयारी छ । खेल, गीत संगीत तथा नृत्यमा रुचि भएका बालबालिकहरूलाई प्रोत्साहन गरिएको छ ।

विद्यालयले कर्णालीमै पहिलोपटक विद्यालय क्षेत्रबाट ग्रीनल्याण्ड शिक्षा पत्रकारिता र ग्रीनल्याण्ड प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष शिक्षा पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार नन्दराम जैशी र प्रतिभा पुरस्कार २०८१ बाट कलाकार कुलमान नेपाली सम्मानित भएका छन् । उनीहरू दुवै जनालाई विद्यालयले नगद रकमसहित प्रमाणपत्र, माला र दोसल्लाले सम्मान गरेको थियो । कला र पत्रकारिताको माध्यमबाट शैक्षिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई हौसलास्वरुप पुरस्कार प्रदान गरिएको हो । विद्यालयको इतिहासमा यसरी यी २ पुरस्कार प्रदान गर्ने ग्रीनल्याण्ड कर्णालीकै पहिलो विद्यालय हो ।

विद्यार्थीको बढ्दो आकर्षण

पछिल्लो समय ग्रीनल्याण्ड एकेडमीप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षण छ । २०७९ सालमा स्थापना हुदाँ जम्मा ३३ जना विद्यार्थीबाट अध्यापन सुरु भएको थियो । तर विद्यालय स्थापनाको १२ वर्षमा १२ सयबढी विद्यार्थीहरू पठनपाठन गरिरहेका छन् । विद्यालयका प्रवन्धक प्रकाश शाहीका अनुसार आगामी वर्षमा व्यवसायिक शिक्षासहितको प्लस–टु कक्षा सञ्चालन गर्ने तयारी छ ।

हाल विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशाला, पुस्तकालय, स्मार्ट कक्ष, खेल मैदान, क्यान्टिन र बस सुविधा रहेको छ भने विद्यार्थीको नेतृत्व विकासमा जोड दिने गरिएको छ । शिक्षक र विद्यार्थीबीच अन्तक्र्रिया गर्नुका साथै अनुभवी शिक्षक, विद्यार्थीमैत्री सिकाइ, डिजिटल टुल्स र प्रयोगात्मक कक्षा अभ्यासले विद्यार्थीमा सकारात्मक प्रभाव पारेको छ । यसले भविष्यमा विद्यार्थी र अभिभावकहरूको विश्वास अझै बढ्ने सम्भावना छ ।

‘ग्रामीण र अर्धशहरी क्षेत्रका विद्यार्थीहरूलाई निजीस्तरमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनु नै स्कुलको ठूलो योगदान हो’ प्रवन्धक शाहीले भने, ‘कमजोर भनिएको क्षेत्र कर्णालीबाट पनि राष्ट्रियस्तरको प्रतिस्पर्धा सम्भव छ भन्ने ग्रीनल्याण्ड स्कुलले आत्मविश्वास जगाएको छ ।’ उनका अनुसार विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापहरू वादविवाद, विज्ञान प्रदर्शनी, खेलकुद, नृत्य, संगीत आदि कार्यक्रममार्फत विद्यार्थीमा बहुआयामिक विकास भइरहेको छ ।

विद्यालयले विद्यार्थीलाई नेतृत्व, अनुशासन र जिम्मेवारी सिकाउने वातावरण पनि विकास गरेको छ ।भविष्यमा ग्रीनल्याण्डले ई–लर्निङ, अनलाइन टेस्टिङ, तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै डिजिटल युगअनुकूल शिक्षा दिन सक्ने सम्भावना छ भने विद्यालयले समुदायसँग समन्वय गरेर शिक्षा र सामाजिक जिम्मेवारी जोड्ने कार्य जारी राखेको छ ।

विद्यालयको प्रशंसा

पछिल्लो समय ग्रीनल्याण्ड एकेडमीले शैक्षिक क्षेत्रमा ल्याएको गुुणस्तरका कारण सरोकारवाला निकायले पनि विद्यालयको प्रशंसा गर्न थालेका छन् । विद्यालयको १२औँ वार्षिकोत्सवमा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले समयानुकूल गुणस्तरीय शिक्षामा ग्रीनल्याण्डले जोड दिएकोमा प्रशंसा गरे ।

‘१२ वर्षमा खोलो पनि फर्किन्छ भन्थे ग्रिनल्याण्डमा शैक्षिक गुणस्तरको खोलो फर्केकोमा बधाई तथा शुभकामना छ,’ उनले भने, ‘पछिल्लो समय शिक्षामा भित्रिएको प्रविधिको उच्चतम प्रयोगमार्फत शैद्धान्तिक तथा व्यवहारिक शिक्षामा ग्रीनल्याण्डले जोड दिएकोमा धन्यवाद ।’ विद्यालयको नतिजाले शैक्षिक गुुणस्तर राम्रो छ भन्ने पुष्टि भएको उनको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले वीरेन्द्रनगरको शैक्षिक गुणस्तर उकास्न ग्रीनल्याण्डले महत्वपूर्ण भूमिका खेलेको बताए । विद्यालय अभिभावक संघका अध्यक्ष धरम विष्टले ग्रीनल्याण्ड स्कुलको अभिभावक हुनुमा गर्व महसुस भएको बताए । रंगकर्मी प्रेमदेव गिरीले कलाकारको दृष्टिकोणले हेर्दा ग्रीनल्याण्ड एकेडेमीले कला संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

विद्यालयका प्रिसिन्पल ज्योति शाही पौडेलले ग्रीनल्याण्डलाई प्रदेशकै एक प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित गर्न सहयोग गर्ने सबै अभिभावकलाई धन्यवाद दिइन् । ‘यो समाजमा विद्यालयको अति आवश्यकता थियो । त्यसकारण २०६९ सालमा ग्रीनल्याण्ड एकेडेमीको स्थापना भयो,’ उनले भनिन्, ‘स्थापना कालदेखि आजसम्मको यात्रामा विद्यालयले थुप्रै अवरोधहरू पार गरेको छ । जसले धेरै सफलता पनि मिलेका छन् । यही नै खुसी र आत्मसन्तुष्टिको विषय हो ।’

विद्यालयले १२ वर्षे कठिन समय पार गरेको उल्लेख गर्दै दुःख, संघर्ष, कष्ट र मेहनतले यहाँसम्म पुगेको उनले बताइन् । उनका अनुसार आगामी दिनमा पनि प्रदेशकै उत्कृष्ट नतिजा ल्याउने गरी शिक्षण क्रियाकलाप जारी छ । सीमित श्रोत साधन, सानो समुदाय र थोरै विद्यार्थीहरूबाट गुणस्तरीय शिक्षा प्रदान गर्न स्थापित भएको ग्रीनल्याण्ड प्रदेशकै एक प्रतिष्ठित र गुणस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाको रूपमा स्थापित हुन सफल भएको छ । विद्यालयले शिक्षा संस्कार, प्रकृति र प्रविधिलाई जीवन रुपान्तरणका मुख्य मानकका रूपमा स्थापित गरेको छ । हाल यस विद्यालयमा पीजि कक्षादेखि कक्षा १० सम्म सञ्चालित छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार