10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

एक महिनादेखि कोहलपुरको फोहोर उठेन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार १, २०७३  

 नगरपालिकाले फोहोर नउठाउँदाको पीडाः फोहोर सडकमै छरियो
दुईदिनभित्रै फोहोर उठ्छ ः कार्यकारी अधिकृत
केशव राना
कोहलपुर, असार १
करिब एक महिनादेखि कोहलपुर बजारको फोहोर उठेको छैन । नगरपालिकाले फोहोर नउठाउँदा कोहलपुर बजारवासीले फोहोर सडकमै छर्ने गरेका छन् । पीपलचौतारा चोक आसपासमा फोहोरहरु प्लाष्टिकमा पोको पार्दै फालिएका छन् । ग्रिनबेल्डमा समेत फोहोर यत्रतत्र फालिएको छ । जसका कारण यही बाटो भएर हिँड्नेलाई कोहलपुर फोहोरको सहर झैं लाग्ने गर्छ । हरित नगरपालिकाको रुपमा राज्यले नीति तथा कार्यक्रममा समेटेपनि यहाँ काम भने केही भएको छैन । कोहलपुरलाई पर्यटकीय गन्तव्यका रुपमा निर्माण गर्ने बताइएपनि कोहलपुर फोहोरमय हुँदा बाहिर सन्देश राम्रो गएको छैन ।

IMG_2841
फोहोरहरु यत्रतत्र छरिएका छन् । जसका कारण बटुवा लगायत बजारवासीको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ । नगरपालिकाले एक महिना सम्म फोहोर नउठाउँदा नगरवासी आजित भैसकेका छन् । त्यसैकारण फोहोरहरु बाटोमै यत्रतत्र छरेको हुन सक्ने एकथरीको तर्क छ भने नगरपालिकाले फोहोर नउठाएपछि यसरी बजारबासीले संवेदना गुमाउन नहुने अर्कोथरीको तर्क छ । एकातिर नगरपालिकाले फोहोर उठाएको छैन, अर्कोतिर बजारवासीले फोहोरहरु यत्रतत्र छरेका छन् । यसरी फोहोरहरु यत्रतत्र छर्दा बाहिरबाट यस क्षेत्र प्रवेश गर्ने बटुवाले आफ्नो ठाउँमा कोहलपुरका बारेमा नराम्रो सन्देश प्रवाह पक्कै पनि गर्छ ।
यता यहाँका व्यापारीहरुलाई फोहोर कहाँ फाल्ने भन्ने चिन्ताले भने पक्कै पनि सताएको छ । नगरपालिकाले फोहोर नउठाउँदा फोहोर कहाँ फाल्ने अन्यौलमा व्यापारीहरु परेका छन् । फोहोरका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ ।
कोहलपुर नगरपालिका कार्यकारी प्रमुख माधवप्रसाद शर्माले दुईदिनभित्र फोहोरको व्यवस्थापन हुने दावी गरेका छन् । ठाउँ पहिचान भैसकेको बताउँदै ग्राभेलिङ्गको काम सम्पन्न गरेर फोहोर व्यवस्थापनको काम शुरु हुने बताएका छन् ।
‘महिनादिन सम्म धैर्य गरेर बसिदिनुभयो, अब दुईदिनभित्र सबै काम सम्पन्न हुन्छ’ उनले भने ‘फोहोर व्यवस्थापनको काम अब दुईदिनभित्रै शुरु हुन्छ ।’

प्रकाशित मितिः बुधबार, असार १, २०७३     7:45:34 AM  |