प्रहरी भन्छ- सुत्ने विषयमा झगडा हुँदा न्युरोडमा पुरूषको हत्या



काठमाडौं ।

काठमाडौंको न्युरोडमा एक पुरूषको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। बुधबार दिउँसो प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् हत्या आरोपितलाई सार्वजनिक गरेको हो।

हत्या आरोपमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ का ६२ वर्षीय जीतबहादुर लामालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। प्रहरी वृत्त जनसेवाबाट खटिएको काठमाडौं-२५ बाङ्गेमुडामा लुकेर बसेको अवस्थामा फेला पारेको हो।

मृतकको पहिचान भने नखुलेको उनले बताए। यद्यपि उनी सोही ठाउँमा मजदुरी गर्दै आएका व्यक्ति थिए। मंगलबार पौने ७ बजे न्युरोडमा जुद्ध शालिकनजिकै उनको शव फेला परेको थियो।

प्रहरीले ढोकामा लगाउन प्रयोग हुने काठको आग्लो पनि बरामद गरेको छ। उक्त आग्लोले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ।

उनीहरूबीच सुत्ने विषयमा विवाद हुँदा हत्या भएको हुनुपर्ने एसपी मैनालीले बताए।

‘मापसे पनि गरेको र सोही ठाउँमा सुत्ने विषयमा झगडा हुँदा हत्या भएको जस्तो प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ उनले भने, ‘उनले हत्या गरेको पनि स्वीकारिसकेका छन्। अरू कारणहरू थप अनुसन्धानबाट खुल्दै जान्छ।’

जीतबहादुरमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१२ को ‘ज्यान सम्बन्धी कसूर’ मा प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक १७ गते बिहीबार