छाउपडी प्रथाको चपेटा जोरायलका किशोरी



कोहलपुर,

प्रायःबाह्रैमास तुवालोले छोपी रहने रमणीय वातावरण । चिसो सिरेटोले स्पर्श गरिरहने सुदूरपश्चिमको गाउँ । जहाँ प्राकृतिक सौन्दर्य अथाह छ । तराई क्षेत्रमा ४० डिग्री गर्मी हुँदा पनि चिसो सिरेटोको स्पर्श गरीरहन पाउने ठाउँ हो, डोटी जिल्लाको जोरायल,गैरा। जहाँ ५४१ घरधुरी छन् । गाउँ छिर्न डाँडैडाँडा छिचोल्नुपर्छ ।

कैलालीको अत्तरियाबाट साँघुरो बाटो हुँदै करिब तीन घण्टामा पुग्न सकिन्छ गैरामा । यसरी प्रकृतिले सजिएको मनमोहक दृश्य भित्र लुकामारी गर्ने बस्तीभित्र लुकाएको प्रथा हो,‘आधुनिक छाउपडी प्रथा’ पहिले–पहिले छाउगोठ घरबाट टाढा हुन्थे ।अहिले भने आफ्नै घरभित्र छाउगोठ छन् । सधैका लागि बन्द गरिनुपर्ने छाउप्रथालाई लुकाइएको छ ।

देवीदेवताले केही गर्ला कि भन्ने डरले प्रताडित छ जैरागाउँ । यो प्रथा सर्वसाधारणदेखि जनप्रतिनिधि सम्म मान्छन् । यो गाउँमा अहिलेपनि छाउपडी व्यप्त छ । यो यहाँको मात्रै समस्या होइन, सिंगो सुदूरपश्चिम र कर्णाली क्षेत्रको समेत समस्या हो ।
यही विकृतिको चपेटामा छिन्, जैरागाउँकी किशोरी उषा मगर । उनी महिनावरी हुँदा अहिलेपनि घरभित्र बस्दिनन् । त्यो समयमा छाउगोठमा बस्ने गर्छिन् उनी । उषा भन्छिन्, ‘एउटै घरमा चाहिँ बस्दैनौ, महिनावारी भएको समयमा छिमेकीलाई छोइहाल्यो भने बाहिर भाथ्यो यसले छोयो हाम्रो देवीदेवता रिसायो भन्ने गरिन्छ।’

यस्तै कक्षा १० मा अध्ययनरत बिमला खत्रीको पनि समस्या यस्तै छ । उनले आफू महिनावारी भएको समयमा तीन–चार दिन बिरामी हुने गरेको बताइन् । उक्त समयमा धेरै रगत बग्ने भएकोले बिमलालाई अस्पताल बोकेर लैजानुपर्छ । यसलाई छुनै हुँदैन भन्छन् । कोहीपनि छुन आउँदैन । कहिलेकाँही त सकी नसकी अस्पताल जान्छु ।’ उनी तितो सत्य सुनाउँछिन् । यस्तो अवस्थामा अभिभावकको समेत साथ नरहेको उनको भनाइ छ । सोही गाउँकी एक गृहिणी भन्छिन् ‘सधैं गर्या कुरा मान्छेले नगर भन्दैमा एक्कासी कहाँ छाड्दाछन् । छोराबुहारी पछि जेपो गर्दछन् आफूले त अहिलेसम्म गरेको छैन।’

बिमलाका बुबा विवशता सुनाउँछन्, ‘ यो इच्छाको कुरा हो हाम्रो त बाबुबाजेले मान्दै आएको मान्ने नै हो। बेग्लै छाउगोठ बनाएर राख्या छैन । आफ्नै घरमा छुट्टै कोठामा राख्या हो । के गर्ने यसो नगरे समाज मान्दैन । ’ यो त्यहाँको प्रमुख समस्याका रुपमा रहेको छ । जसले गर्दा किशोरीहरुलाई विभिन्न किसिमका अवसर मात्रै होइन, शिक्षा आर्जन गर्ने अधिकारबाट समेत बञ्चित गराएको छ ।

‘कति गार्हो हुन्छ छुट्टै बस्नुपर्छ, त्यति वास्ता पनि परिवारबाट हुन्न, विद्यालय जान पनि मिल्दैन रजस्वला भएको समयमा।’ बिमलाले सुनाइन्।
‘यो प्रथा राम्रो त होइन यसको पूर्ण रुपमा अन्त्य हुनुपर्दछ। म अलिकति पढेको बुझेको मान्छे अब यतातिर पहिलेदेखि मान्दै आएको चलन मान्नैपर्यो’ उनले थपिन्।
जोराएल गाउँपालिका वडा नम्बर १ का भजन सिंह मल्लले आफ्नै घरभित्र पनि श्रीमती बुहारी छोरी–चेलीहरु रजस्वला भएको समयमा भान्सा नछुने, घरमा अलग्गै बस्ने चलन भएको स्वीकार गर्छन् । उनका अनुसार छाउपडी प्रमुख समस्याका रुपमा रहेको छ । त्यसको न्युनिकरणका लागि वडा कार्यालयले जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

किन मानिन्छ छाउपडी प्रथा ?

वडा अध्यक्ष मल्ल भन्छन् ‘देउता रिसाउँछन्, देउता लाग्छ । यो प्रथा मानेपछि घरमा राम्रो हुदैन । छाउ नमानेपछि गाई भैँसीले दूध पनि दिन छाड्छन्।’ उनले पछिल्लो समय घरबाहिर छाउगोठमा राख्ने चलन हराउँदै गएको र घरभित्र छुट्टै ठाउँमा भने यो प्रथाले आश्रय पाउँदै आएको जनाए। घरबाट टाढा छुट्टै छाउ गोठ बनाएर छुई हुनेलाई राख्दा विभिन्न प्रकारको समस्याहरु आइपरेको थियो। छाउगोठ भित्रै छोरी– चेलीहरु बलत्कृत हुने, सर्पले डस्ने, हत्या तथा पौष्टिक आहार को कमी बिरामी पर्दा वास्ता नहुने जस्ता समस्या पछिल्लो समयमा कमी आएको छ।
तर छाउपडी प्रथा परम्परादेखि चलिआएको कारण आफ्नै घरभित्र यो प्रथालाई आश्रय दिइरहेको छ।यो प्रथाको पूर्णरुपमा निर्मुल हुनुपर्छ भनेर कुनै पनि उजुर अहिले सम्म नआएकोले कुनै पनि कानुनी कदम चाल्न नमिल्ने प्रहरी सायक निरीक्षक प्रेम सिंह भाट बताउँछन्।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २५ गते सोमबार