वीरेन्द्र जैसी । नेपालगन्ज ।
असोज दोस्रो र तेस्रो सातामा भएको वर्षाले भित्र्याउन लागिएको धानबालीसहित तरकारी बालीमा क्षति पुगेको पाइएको छ । तर, सम्बद्ध क्षतिको यकिन विवरण भने संकलन भइनसकेको सरकारी अधिकारीहरूले बताएका छन् । बाँकेको खजुरा गाउँपालिकामा रहेको जनजागण बहुउदेश्यीय सहकारी संस्थाले खजुरा र जानकी गाउँपालिका पाँच सय ४५ कट्ठामा बीउ उत्पादन गर्न किसानहरूलाई बीउ सहयोग गरेको थियो । अहिले उक्त धान लगाएका सबै किसानको धान पानीमा डुबेको छ ।
अब धानको बीउको लागि उक्त धान उपयुक्त नहुने चिन्तामा किसान परेका छन् । सहकारीबाट उक्त धान खेतीबारे जिम्मेवारी पाएका कर्मचारी रामनरेश कुम्हारले डुबेको धानको बीउ हुने सम्भावना निकै कम हुने बताए । ‘बीउ अनुदान दिएर उक्त धानको बीउका लाथि हामीले नै खरिद गर्नेगरी उक्त परियोजना अघि बढाएका थियौँ । तर, यसपटक धानबाली डुबेपछि हामीसँगै किसानहरू पनि तनावमा परेका छन्,’ कुम्हारले भने ।
खजुराकै किसान वीरेन्द्रप्रसाद मुराउले करिब सात बिघामा लगाएको टमाटर र काउली खेतीमा असोज दोस्रो सातामा भएको वर्षाले करिब आधाजति बेर्नामा क्षति गरेको थियो । त्यसबेला पानीले ढलाएर बिगारेको बेर्नाहरू उठाएर तंग्राउन लागेका बेला फेरि असोज २० र २१ गते भएको वर्षाले पुनः क्षति पु¥याएको छ । हावाहुरीसहित आएको वर्षाले बोटर ढलाएको र पानीले डुबाइदिएको उनले बताए । पानीले डुबाएसँगै यस्ता तरकारी बालीमा जरा कुहिने र बिरुवा मर्ने समस्या निम्तने उनले बताए ।
खजुराकै अर्का तरकारी उत्पादक किसान सुरेन्द्र खड्काले पनि दुई हप्तामा भएको वर्षाले किसानलाई निकै मर्कामा पारेको बताए । उनले आफूले मल्चिङ गरेर लगाएको टमाटर खेतीमा पनि अघिल्लो वर्षाले ठूलो क्षति पु¥याएकोमा फेरि तंग्राएको बेला पुनः भएको वर्षाले अर्काे क्षति गरिदिएको बताए । खड्काले करिब १० हजार बेर्ना टमाटर र चार हजार बेर्ना काउली रोपेकोमा अघिल्लोपटक परेको पानीले गलाइदिएको बताए । यसपटक फेरि पानी आएर बचेका बिरुवा ढलाइदिएको र ढलेका बिरुवालाई उठाएर जोगाउने प्रयास गरिरहेको उनको भनाइ छ ।
‘मेरो मात्रै होइन यहाँका सबै किसानको समस्या उस्तै छ । सबैभन्दा बढी त धानबालीको समस्या छ । अधिकांश किसानको धानहरू डुबेर क्षति हुने अवस्था आएको छ,’ खड्काले भने । खजुरा गाउँपालिकाका कृषि प्रसार अधिकृत युवराज ढकालले पनि दुई हप्तामा परेको पानीले गाउँपालिकाको धानबाली र तरकारी बाली प्रभावित भएको बताए । उनले धानबाली ढलेर क्षति भएको भनेर कृषकहरूले गुनासो गरेको र आफूहरूले क्षति कम गर्ने उपाय सुझाइरहेको बताए । तर, अघिल्लो हप्ताको पानी सुक्न लागेको बेला फेरि परेको पानीले थप क्षति गरेको बताए ।
पानी चाँडो नसुक्ने खेतहरूमा धानबाली चाँडो सुक्न नपाएमा उम्रिने समस्या आउने देखिएको उनको भनाइ छ । त्यस्तो धान बीउका लागि झनै उपयुक्त नहुने उनले बताए । ढकालले गाउँपालिकाले माथिल्ला निकायहरूले तथ्याक मागेका पठाइदिने गरी किसानहरूको गुनासोका आधारमा विवरण संकलन गरिरहेको बताएका छन् । फिल्डमै गएर क्षतिको विवरण संकलन नभएको उनले बताए । क्षति भएका किसानहरूलाई क्षतिपूर्ति दिने विषयमा पनि छलफल भइरहेको तर हाल अध्यक्ष र उपाध्यक्ष गाउँपालिका बाहिर रहेकोले निर्णय हुन बाँकी रहेको उनको भनाइ छ ।
खजुरासहित बाँके जिल्लामा असोज दोस्रो साता र तेस्रो साताको वर्षाले करिब एक सय ५० हेक्टर धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । तर, यो विवरण पनि अनुमानमा आधारित हो । क्षतिको यकिन विवरण अझै संकलन भएको छैन । पछिल्लोपटक भएको असोज २० र २१ गते भएको वर्षाले बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा चाँडो पाक्ने जातका धानबालीमा केही मात्रामा क्षति पुगेको पाइएको छ । कतिपय ठाउँमा काटिएको धान डुबानमा परेको र कतिपय ठाउँमा पाकेको धान ढलेको पाइएको कृषि सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार पछिल्लोपटकको वर्षाले भन्दा बढी अघिल्लो साता भएको वर्षाले धानबालीमा बढी क्षति पुगेको छ । उक्त वर्षाले करिब एक सय ५० हेक्टर क्षेत्रफलको धानबालीमा आंशिक क्षति पुगेको अनुमान गरिएको बताइन् । असोज २० र २१ गतेको वर्षापछि तुरुन्तै घाम पनि लागेकोले भिजेको धान सुकाउन मिलेको र त्यसले कम क्षति भएको उनको भनाइ छ । ‘चाँडो पाक्ने जातका धानमा आंशिक क्षति मात्रै पुगेको हो । पूर्ण क्षति भएको भनेर अहिलेसम्म जानकारीमा आएको छैन । पछिल्लोपटकको वर्षाले पनि केही ठाउँमा धानबालीमा क्षति पुगेको छ । तर यकिन तथ्यांक आइसकेको छैन,’ शर्माले भनिन् ।
शर्माका अनुसार पछिल्लो वर्षाले साग तथा तरकारीको बेर्नालाई भने असर गरेको बताइन् । विशेषगरी खजुरा क्षेत्रका किसानहरूबाट करिब पाँच हेक्टर क्षेत्रफलमा लगाइएको टमाटरमा क्षति भएको भनेर खबर आएको उनले बताइन्् । यसका साथै हिउँदे तरकारी बालीका लागि चाडो रोप्नका लागि तयार गरिएका बेर्नामा पनि क्षति गरेको उनले बताइन् । सबै क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र केही दिनमा क्षतिको यकिन विवरण थाहा हुनसक्ने उनको भनाइ छ । उता बर्दिया जिल्लामा चाँडो पाक्ने जातका धानबालीमा क्षति भएको एकीकृत कृषि तथा पशुपन्क्षी विकास कार्यालयका सूचना अधिकारी फिर्तुमान चौधरीले जानकारी दिए । जिल्लामा पनि क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर विष्ट यस वर्ष भएको क्षति असामान्य नभएको बताउँछन् । कटानीका लागि तयार भएको अगौटे धानबालीमा पाँचदेखि सात प्रतिशतसम्म क्षति गरेको हुनसक्ने अनुमान गरिएको बताए । उनले पनि क्षतिको विवरण संकलनकै क्रममा रहेको बताए । कैलालीमा अहिले काउली बन्दाको बेर्ना राख्ने बेला पनि भएकोले केही किसानको बेर्नालाई पनि पानीले असर गरेको हुनसक्ने उनले बताए ।
कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशका बाली संरक्षण अधिकृत मिलन गैरेले प्रदेशका तराईका जिल्लामा केही क्षति भएको सूचना आएको र सबै जिल्लाबाट विवरण संकलन भइरहेको बताए ।
क्षतिको पूरा विवरण आइसकेपछि मात्रै उक्त क्षति स्तर यकिन भन्न सकिने उनको भनाइ छ । संघीय सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालयका सूचना अधिकारी डा. मणिरत्न अर्यालले पनि अहिलेसम्म सरकारसँग वर्षाले कृषिमा गरेको क्षतिको विवरण नरहेको बताए । उनले क्षतिको विवरण संकलन हुन केही लाग्ने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्