वीरेन्द्र जैसी । नेपालगन्ज ।
‘बर्कीमार गाएको र त्यसको तालमा मादल बजेपछि मात्रै थारू समुदायमा बडादसैँ आएको थाहा हुन्थ्यो,’ अध्येयता शेखर दहित भन्छन्, ‘अहिले त बर्कीमार बुझ्नेहरू त कुरै छोडौँ, गाउनेहरू समेत पाउन मुस्किल हुन थाल्यो ।’ अहिले बर्कीमार गाइने थारू गाउँहरू पाउनु मुस्किल हुन थालेको अर्का अध्येता तथा लोककथा बर्कीमारलाई थारू भाषमा लिपिबद्ध गरेका एकराज चौधरी बताउँछन् । बर्कीमार पौराणिक महाकाव्य महाभारतसँग मिल्दोजुल्दो तर थारू समुदायको आफ्नै लोक संस्कृति बोकेको मौलिक लोक महाकाव्य भएको चौधरीको भनाइ छ ।
उनका अनुसार ‘बर्की’ भन्नाले नेपालीमा ‘ठूलो’ अथवा ‘महा’ र ‘मार’ भन्नाले युद्ध भन्ने अर्थ लाग्छ । यस हिसाबले नाम पनि महाभारतसँग मिल्दोजुल्दो रहेको यो लोक महाकाव्य थारू समुदायले गीतिलयमा श्रुति परम्पराबाट जोगाउँदै दसैँको बेला गाएर अर्काे पुस्तामा हस्तान्तरण गर्दै आएका थिए । तर, यस कथाको लोकलयको ज्ञान लिन नयाँ पुस्तामा जागरुकता नहुनु र हस्तान्तरणको नयाँ शैली अपनाउन नसक्नुले अहिले यो लोककथा गाएर सुनाउनेहरू भेट्नु मुस्किल भइसकेको बर्दिया निवासी बर्कीमारका अध्येयता सोम डेमनरौरा बताउँछन् ।
बर्कीमारको कथाले मानिसको जीवनका माया, प्रेम, सद्भाव, यद्ध, नीति, रणनीति तथा राजनीतिसमेतको किंवदन्तीमा आधारित महाकाव्य भएको डेमनरौराले बताए । यसभित्रका पात्रहरूको मौलिक चरित्र तथा प्रस्तुति थारू संस्कृतिको अमुल्य निधि भएको उनको भनाइ छ । यसलाई अर्काे पुस्तामा हस्तान्तरण गर्न गुरुवा र बडघर प्रणालीले सघाउँदै आएकोमा अब बदलिँदो परिवेशअनुसार थारू समुदायको बाहुल्यता रहेका स्थानीय सरकारहरूले नै अग्रसरता लिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
विशेषगरी दाङ मूल भएका डंगौरा र डिउखर्या थारू समुदायले बर्कीमार महाकाव्यलाई जोगाउँदै आएका छन् । बर्कीमारलाई लिपीबद्ध गरेका चौधरीका अनुसार महाभारतका पात्र पाण्डवहरूमा केन्द्रित यो महाकाव्य विहंगम ज्ञानको स्रोत हो । विगतमा बडादसैँको बेला गाउँका घरमुलीहरू मादलसहित गाउँको भुह्यारथानमा भेला भएर दिनभरि बर्कीमार गाउने गरेको उनको भनाइ छ । गाउँका घरमुलीहरू बाबरी, जमरा र गोल्द्रामसहित भेला हुने, सामूहिक रूपमा गीत गाउने र एकअर्काको कानमा जमरा तथा बाबरी लगाएर दसैँको शुभकामना आदानप्रदान गर्ने यस महाकाव्य वाचनको शैली भएको उनले जानकारी दिए ।
टीका लाउनुअघि पनि सामूहिक गायन गर्दै मादलको तालमा नाच्दै गाउँको मुलमान्छे (मटावाँ)को घरमा पुग्ने र मटावाँसँग सामूहिक टीका लगाउने चलन रहेको थियो । बर्कीमार लोकमहाकाव्यमा १२ वटा पैढार अर्थात् प्रसङ्ग वा खण्डहरू रहेका छन् । जसमा समरौटी, लखागिरक, जट्यक, राउबेढक, पसावरक, वनबासक, घरबासक, हँठ्यक, किचकक, सुसर्मक, बर्कीमारक र स्वर्गारोहण खण्डहरू छन् । यी सबै पैढारहरू थारू समुदायको गुरुवाले लोकलयमा गाउने गर्दथे । अहिले यो गाउनसक्ने मानिसहरू औँलामा गन्न सकिने मात्रै छन् ।
डेमनरौराका अनुसार बर्कीमारभित्र धेरै मन्त्रहरू रहेको र तीमध्ये केही मन्त्रहरू वाचन गर्दा वाचकलाई देउता आएजस्तै काम आउने गरेको छ । यो सबै विधिविधानपूर्वक र लोकलयमा वाचन गर्ने शैली अनौठो र बचाइराख्नुपर्ने सम्पदा भएको उनको भनाइ छ । अहिले बर्कीमार गाउँदा नाचिने बर्का नाच पनि लोपप्रायः भइसकेको बताए । उक्त नाच हाल अहिले दाङको जलौरामा मात्रै नाचिने गरेको उनको भनाइ छ ।
डेमनरौराले बर्कीमारको भाषिक लालित्यले उच्च स्तरको साहित्यको झल्को दिने बताए । त्यसैले यसलाई बुझ्न पनि असहज हुने भएकोले पनि यसलाई नयाँ पुस्तामा हस्तान्तरणका लागि नयाँ शैली आवश्यक भइसकेको उनले बताए । बर्कीमार थारू समुदायको श्रुति परम्परामा आधारित निकै समृद्ध साहित्य तथा संस्कृतिको संग्रह भएकोले यसलाई संरक्षण गरिराख्नु जरुरी रहेको थारू संस्कृतिका जानकारहरूको भनाइ छ । बर्कीमार पुस्तकाका रूपमा थारू भाषामा लिपिबद्ध भने भइसकेको छ । एकराज चौधरी र चन्द्रप्रसाद चौधरीले बर्कीमारलाई लिपिबद्ध गरेका छन् ।
कैलालीको जानकीमा बर्कीमार सुन्ने कार्यक्रम
गाउने र सुन्ने क्रम कम भएर लोप हुने संघारमा पुगेको बर्कीमारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न र संरक्षणका लागि जागरुकता फैलाउन कैलालीको जानकी गाउँपालिकाले बर्कीमार सुन्ने कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित महेन्द्र शिशु मावि धर्मापुरमा तीन दिनसम्म बर्कीमार सुन्ने तथा अर्थ पनि व्याख्या गर्ने कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष गणेश चौधरीले थारू समुदायको अमूल्य निधिका रूपमा रहेको बर्कीमार अहिले गाउँघरबाट हराउन लागिसकेको बताए । बर्कीमारलाई विधिपूवर्क गाउनसक्ने र त्यसको मौलिक शैलीलाई पछ्याएको व्यक्ति कैलालीमा नभेटिए पनि दाङबाट तीन वटा बर्कीमार गायकहरूलाई बोलाएर कार्यक्रम गर्न लागिएको चौधरीले जानकारी दिएका छन् ।
उनले थारू समुदायको बाहुल्यता रहेको गाउँपालिकाले थारू समुदायको अमूल्य सांस्कृतिक निधिलाई संरक्षण, पुस्तान्तरण र अभिलेखीकरण र प्रवद्र्धनका लागि उक्त कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा चन्द्रप्रसाद चौधरीको नेतृत्वमा जग्गुप्रसाद चौधरी र जगवीर चौधरीलगायत दर्जनबढी गायकहरूले बर्कीमार गाउनेछन् भने बर्कीमारको व्याख्या सोम डेमनरौरा र शेखर दहितले गर्नेछन् ।
यसरी व्याख्यासहित बर्कीमार वाचन गर्दा नयाँ पुस्ताले यसमा चासो दिने र अन्य समुदायले पनि यसको महत्व बुझेर संरक्षण तथा अभ्यासमा जागरुकता बढ्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष चौधरीले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्