जीतबहादुर शाह
छोरा पढ्ने विद्यालयबाट शिक्षकले अभिभावकलाई फोन गर्छन्, ‘घरमा पनि छोराको पढाइको बारेमा कान ठाडा बनाएर समय दिनुहोस् भनेर कत्ति भने तपाईँहरूलाई । मेरो कुराले यहाँहरूको कानमा बतास लागेन । बाबुले त परीक्षामा आलु खाएछ ।’ बुहारी नानीले आफ्नो आँखाको नानी मान्ने गरेकी साथीसँग मुटु खोलेर भन्दै थिइन् –‘खै कसले हो मेरो बारेमा सासुआमालाई के के भनेर कान भरिदिएछ, मलाई भेट्नेबित्तिकै बुढीमाऊ त आगो भएर हात हाल्नेजस्तो पो गरिन् ।’ माथिका हरफहरूमा कान ठाडा बनाउनु, कानमा बतास लाग्नु, आलु खानु, आँखाको नानी मान्नु, मुटु खोल्नु, कान भर्नु, आगो हुनु, हात हाल्नु जस्ता पदावलीको प्रयोग भएको छ । ती शब्दहरूको प्रयोग उक्त हरफहरूमा सोझो अर्थ (अभिधामूलक अर्थ) दिने गरी नगरी लक्षणात्मक अर्थात् अक्षर र शब्दले दिने अर्थभन्दा फरक अर्थका निम्ति प्रयोग गरिएको छ । जसलाई भाषा एवम् साहित्यमा लक्षणा अर्थात् लक्षणात्मक अर्थ भन्ने गरिन्छ । त्यसरी नै यो आलेखमा हात धुने पदावलीको पनि दुईटै अर्थमा प्रयोग हुने गरी चर्चा गर्ने प्रयत्न गरिएको छ । आज अक्टोवर १५ तारिखको दिन विश्व हात धुने दिवस रहेछ । यो दिवस सन् २००८ देखि ग्लोबल ह्याण्डवासिङ पाट्नरसिपको अगुवाइमा विश्वभर मनाउन थालिएको हो । यसको मुख्य उद्देश्य झाडापखाला, हैजा, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण (रुघाखोकी, निमोनिया) जस्ता सङ्क्रामक रोगहरूबाट बच्न साबुनपानीले सही तरिकाले हात धुने बानीलाई सर्वव्यापी बनाउनु र जनचेतना फैलाउनु हो । यस दिवसको मुख्य नाराको रूपमा यस अभियानले ‘हात धुने नायक÷नायिका बनौँ’लाई विश्वभर प्रवर्धन गर्दै आएको छ । यसको अर्थ आफू पनि सही तरिकाले हात धुनु र परिवार, विद्यालय तथा समुदायमा अरूलाई पनि यसका लागि प्रेरित गर्नु हो ।विश्वलाई हात धुने विषयमा सावधान हुनका लागि कोभिड १९ ले पनि हामीलाई अभ्यस्त बनाएर गएको छ । मानिसलाई लाग्ने असी प्रतिशत सङ्क्रामक रोगहरू हातकै कारणबाट सर्ने कुराको पुष्टि पनि स्वास्थ्यसम्बन्धी संघसंस्थाका प्रतिवेदनहरूले गरेका छन् । यसको मतलब निरोगी हुन मन छ भने साबुनपानीले हात धुनुको अर्को प्रभावकारी विकल्प अरु देखिएन ।
विश्व स्वास्थ्य सङ्गठनलगायत विभिन्न संघसंस्थाहरूले विश्वव्यापी रूपमा साबुनपानीले हात धुने सही तरिकाको बारेमा पनि चर्चा गर्दै आएका छन् । बिस मिनेटमा सम्पन्न हुने यस तरिकाका छवटा स्टेपहरू छन् । पहिलो स्टेपमा सफा पानीले हात भिजाएर पर्याप्त साबुन लगाउने, दोस्रो स्टेपमा दुवै हातका हत्केलाहरू आपसमा मिच्ने वा रगड्ने, तेस्रो स्टेपमा एउटा हातको हत्केलाले अर्को हातको पछाडिको भाग र औँलाका बीच–बीचमा मिच्ने वा रगड्ने, चौथो स्टेपमा औँलाहरू एकआपसमा घुसाएर औँलाका काप र नङ्को भित्रीभाग मिचेर सफा गर्ने, पाँचौँ स्टेपमा बुढीऔँलालाई अर्को हातले समातेर घुमाउँदै सफा गर्ने र नाडीसम्म धुने र छैटौँ स्टेपमा सफा बग्दो पानीले साबुन पखाल्ने र सफा टावेल वा हावाले हात सुकाउने पर्दछन् । पहिलो र छैटौँबाहेक अरु स्टेपहरू अघिपछि भए पनि फरक पर्दैन तर पूरा भने सबै गर्नुपर्ने हुन्छ । यसरी कुन कुन बेला साबुनपानीले हात धुने भन्नेबारेमा पनि खाना खानु वा पकाउनुभन्दा अगाडि, शौचालय प्रयोग गरिसकेपछि, फोहोर वस्तु वा जनावर छोएपछि, खोक्दा, हाच्छिउँ गर्दा वा सिँगान पुछेपछि र बाहिरबाट घर फर्किएपछि भन्ने कुरा स्पष्टसँग किटान गरिएको देखिन्छ । अहिलेसम्म कुरा गरियो हात धुने पदावलीको अभिधा अर्थ (सोझो अर्थ)को बारेमा जसबाट बोध भयो कि पानी वा साबुनले हात सफा गर्ने प्रक्रिया । अभिधाको हिसाबले हात धुनु राम्रो हो । तथापि लक्षणामूलक (मुख्य लक्ष्यार्थ) वा व्यञ्जनामूलक (साङ्केतिक) हिसाबले हात धुनु राम्रो मानिँदैन । त्यसैले भाषाको यो अर्थमा मानिसहरू सकेसम्म हात धुन मान्दैनन् । हात धुनुपर्छ भनेर पटकपटक भन्दा पनि मान्दैनन् । यसरी मानिसले हात धुन नमानेपछि समाज र मुलुकमा ठुलाठुला आन्दोलन र युद्धहरू गर्नुपर्ने हुन्छ । मानिसहरूले रगत बगाउनु पर्ने हुन्छ । मानिसहरू सहिद हुनुपर्ने हुन्छ । स्वास्थ्यमा हात धुने प्रक्रियाले आफूलगायत धेरै मानिसको ज्यान बचाउन सकिन्छ तर साहित्यको लक्षणामूलक विधामा हात नधुनेहरूका लागि सयौँ मानिसको रगत बगाउनु पर्ने हुन्छ । किनभने साहित्यको लक्षणामूलक विधाले हात धुनु भनेको गुमाउनु, आश मार्नु, अलग्गिनु, अधिकार वा स्वामित्व समाप्त हुनु हुन्छ भने व्यञ्जनामूलक (साङ्केतिक) अर्थ पनि नैतिक जिम्मेवारीबाट पन्छिनु, विवश भएर त्याग्नु वा आत्मसमर्पण गर्नु हुने गर्दछ । कहिलेकाहीँ सकारात्मक किसिमले हेर्ने हो भने यसको अर्थ खराब बाटो वा अपराधबाट सदाका लागि मुक्त हुनु भन्ने पनि हुने गर्दछ ।
हात धुने काममा सहमति हुन सकेन भने हात हाल्ने काम पनि हुँदोरहेछ । हात हाल्नु भनेको झगडा गर्नु, आक्रमण गर्नु वा कुटपिट गर्नु हुने गर्दछ । हात हालाहालको अवस्था भयो भने अन्तिम परिणामको रूपमा हात धुने हो । परिणाम त्यहाँसम्म पुग्न सकेन भने हाल खाली गर्ने अर्थात् उसलाई अधिकारविहीन र सुविधाविहीन बनाउने काम गरिन्छ । त्यसो पनि सकिएन भने हात बाँध्ने अर्थात् उसलाई काममा अवरोध गर्ने वा काम गर्न नदिने कार्य पनि गर्नुपर्ने रहेछ । हातहाल्ने वातावरण अपेक्षित परिणाममा पुग्न थाल्यो भने डाडुपन्यु हातमा भएकाहरूबाट हात उठाउने अर्थात् आत्मसमर्पण गर्ने काम हुने रहेछ । हात हाल्ने, हात खाली गर्ने, हात बाँध्ने, हात उठाउने आदि जे भने पनि यी सबै क्रियाकलापहरू हात धुने वातावरणको सिर्जना गर्नका लागि गरिने प्रक्रियागत चरणहरू हुन् । सर्लक्क हेर्दा यो पनि स्वास्थ्यमा साबुनपानीले हात धुनेजस्तै सुनिए पनि लक्षणामूलक अर्थमा हात धुने काम त्यत्ति सजिलो र आनन्ददायक भने अवश्य देखिँदैन । हिजोआज सामाजिक सञ्जाल प्रतिनिधिसभाका सदस्य खगेन्द्र सुनारको एउटा भिडिओले तात्तिरहेको छ । यसलाई कसैले ठिक हो भनिरहेका छन् भने कसैले बेठिक पनि भनिरहेका छन् । ठिक भन्नेहरूले खगेन्द्र सुनारले अहिले भएको सबै पद र सुविधाबाट हात धुनुपर्छ भनिरहेका छन् भने बेठिक भन्नेहरूले यो एआईले बनाएको फेक भिडिओ हो । यसमा खगेन्द्र सुनारको कुनै अपराध छैन । उनले कतैबाट पनि हात धुनु पर्दैन भन्ने तर्क रहेको छ । यता जे गरे पनि र जे खाए पनि गर्नेवाला र खानेवालाले हात धुनु पर्दैन भन्ने मान्यता राख्ने गरिन्छ । उता स्वास्थ्यमा भने जे गरे पनि र जे खाए पनि तुरुन्त छ चरणको विधिबाट हात धुनुपर्छ भन्ने कुरा प्राथमिकतामा पर्छ । सरसर्ती हेर्दा जे मन लाग्यो त्यही गर्नुपर्ने, जे मन लाग्यो त्यही खानु पर्ने तर हात धुने कुरा उठ्दा अनायासै कर्ताको पनि टाउको दुख्ने र नागरिकको पनि टाउको दुख्ने यो खेल त्यत्ति उपयुक्त भने देखिएन । सत्ताबाट हात धुने, सम्पत्तिबाट हात धुने, सेवासुविधाबाट हात धुने र अन्तत जीवनका सबथोकबाट हात धुने कुरा मान्छेले साबुनपानीले हात धोएजस्तै हओस् पनि कसरी ! क्रियाकलापहरूको क्षितिजसम्म गएर अर्थ लगाउँदा अभिधा र लक्षणाको हिसाबले हात धुनुको अर्थ उस्तै उस्तै हो जस्तो पनि लाग्छ । साबुनपानीले पनि अन्ततः हातलाई पवित्र र सफासुग्घर बनाउँछ र लक्षणाले पनि कुनै खराब व्यक्ति वा संस्थालाई हाल गरिरहेको काम वा बसिरहेको स्थानबाट हात धुने अवस्था सिर्जना गरेर त्यो काम र स्थानलाई पवित्र र सफासुग्घर बनाउँछ भन्ने हो । कुरो यत्ति मात्रै फरक हो कि साबुनपानीले हात धोएर सफासुग्घर हुने भनेको वस्तुगत सवाल हो ।
कुनै काम वा स्थानबाट कसैलाई हात धुने वातावरण सिर्जना गर्ने भनेको विषयगत सवाल हो । वस्तुगत सवालमा सत्य एउटै हुन्छ । विषयगत सवालमा सत्यको स्वरुप बहुआयामिक हुन्छ । नेपालको संघीय राजधानी कहाँ हो भनेपछि सत्य एउटै हुन्छ तर नेपालको शैक्षिकस्तर कसरी उठाउन सकिन्छ भन्ने सवालमा सत्य बहुआयामिक भइदिन्छ, आँखा नदेख्नेले हात्तीको आकारको बारेमा वर्णन गरेजस्तै । नेपालको शिक्षाको स्तर उठाउन वा सुधार गर्न पनि हरेक पछिल्लोपटक कर्ता भएर आउनेहरूले गतिलो गर्नका लागि आउने हो भनेर पुरानाहरूलाई हात धुन लगाइन्छ । तर सोचेजस्तै हुँदैन । हामीले राम्रै भन्दै आएको राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ र विसं २०४९ पछिको शैक्षिक सुधारका कार्यक्रमहरू नेपालको माटो सुहाउँदो शिक्षा र सामुदायिक शिक्षालाई कमजोर बनाउन ल्याइएको हो भन्ने कुरा क्रमशः बहसमा आउँदैछ । सत्यको स्वरुप नै बहुआयामिक हुने भएकोले नेता र नागरिकको बुझाइ पनि फरकफरक हुने गर्दछ । नागरिकले नेता छनोट गर्दा यो नेताले पहिलेभन्दा केही राम्रो काम हाम्रो निम्ति गर्छ भनेर सत्य र वास्तविक तथ्यको रूपमा बुझ्ने गर्दछन्् । नेताले भने सत्तामा जानु र निर्वाचन जित्नु भनेको नागरिकको जीवनस्तरभन्दा आफ्नो जीवनस्तर सुधार गर्नुलाई सत्य र वास्तविक तथ्यको रूपमा बुझ्ने गर्दछन् । त्यही भएर आफैँले छनोट गरेको नेतालाई जिताइएको पद र सत्तासुविधाबाट हात धुन बाध्य बनाउनका लागि आन्दोलन नैै गर्नुपर्ने हुन्छ । अरुलगायत निर्वाचन आफैँमा पनि एउटा शान्तिपूर्ण आन्दोलनको स्वरुप हुने गर्दछ । तर त्यसरी सुखभोग गरिरहेको नेताले पनि त्यसै हात धोइहाल्ने वा आत्मसमर्पणरुपी हात उठाइहाल्ने अवस्था पनि नहुँदो रहेछ । निर्वाचनबाट सत्तामा गएको नेताले समेत नागरिककै रगत पसिनाबाट तलवसुविधा पाउने राज्यसंयन्त्रलाई तिनै नागरिकलाई दबाउनका लागि प्रयोग गर्दोरहेछ । यस्तै हरकतकै कारण हिरोशिमा र नागासाकीमा एटमबम खसालिएको रहेछ । यस्तै हरकतकै कारण हिटलरले आधा करोडभन्दा बढी निहत्था नागरिकको हत्या गरेको रहेछ । सत्ता, शक्ति र सुखसुविधाबाट हात धुन नपरोस् भनेर । स्वास्थ्यले हात धुन नमान्नेलाई फोहर र रोगी भनेजस्तै यता सामाजिक र राजनीतिक जगत्मा पनि सहज रूपमा हात धुन नमान्ने वा स्वीकार नगर्नेलाई पनि नागरिकले भ्रष्ट, अनैतिक र सत्तालोलुप भनेर विशेषणहरू दिने गर्दछन् । यी विशेषण भनेका पनि तात्विक हिसाबले फोहर र रोगी भनेजस्तै हुन् । स्वास्थ्यमा हात धुन नचाहनेहरूले आफू त बर्बाद हुन्छन् नै, अरुलाई समेत बर्बाद बनाउन हरकत गर्दछन् । सामाजिक र राजनीतिक क्षेत्रमा पनि हात धुन नचाहनेहरूले त्यसै गर्दछन्, सबभन्दा पहिले मुलुक र मुलुकवासीलाई बर्बाद बनाउँछन् त्यसपछि मात्रै आफू बर्बाद हुन्छन् । शिक्षा सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिज्ञ, कर्मचारी, विद्यार्थी आदिबाट आआफ्नो माग र आवश्यकताहरू तेस्र्याएजस्तै सत्ता चलाउनका लागिसमेत नेताले आफ्नो स्वार्थअनुकूलका तिकडमहरू चाल्नु नौलो कुरा होइन भन्ने लाग्छ, कुरा यत्ति हो कि अरु जे जति गरे पनि सत्ताबाट हात धुनु पर्ने नपर्ने मनसायले तिकडमहरू चाल्नुु भने राम्रो होइन । बाँकी जो हजुरहरूको मर्जी !









प्रतिक्रिया दिनुहोस्