काठमाडौँ ।
चालू आर्थिक वर्ष २०८३–०८४ मा करिब ६७ करोड रूपैयाँबराबरको धान खरिद हुने भएको छ । वैज्ञानिक ढंगबाट निर्धारण गरिएको धानको न्यूनतम सर्मथन मूल्यमा ६७ करोड ५० लाख रूपैयाँबराबरको धान खरिद गर्न लागिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिकटन धान खरिद गर्ने योजना मन्त्रालयको छ । कृषिमन्त्री गीता चौधरीले धान खरिद गर्ने निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले समन्वय गरेर सो धान खरिद प्रक्रिया अघि बढाउन आग्रह गरेकी छिन् ।
आर्थिक वर्ष २०८३–०८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मोटा धानको प्रतिक्विन्टल ३ हजार ६६० र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रूपैयाँ तोकिएको छ । यो मूल्य कार्यान्वयनका लागि मन्त्री चौधरी सम्बन्धित निकायसँग समन्वय गरिरहेकी छिन् ।
धान खरिद प्रक्रिया दसैँ र तिहारको बीचमा सुरु गर्ने मन्त्रालयको योजना छ । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया अघि बढाउँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने मन्त्री चौधरीको अपेक्षा छ ।









प्रतिक्रिया दिनुहोस्