नेपालगन्ज (बाँके) ।
बजाज अटो लिमिटेडले नेपालगन्जमा आफ्नो विद्युतीय सवारीसाधनको पोर्टफोलियो विस्तार गर्दै चेतकका दुई नयाँ मोडल सी२५०१ र सी३५०३ सार्वजनिक गरेको छ । नेपालमा बजाजका दुईपाँग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडमार्फत यी दुई मोडल बजारमा ल्याइएको हो । नेपालगन्जमा यसको आधिकारिक विक्रेता पानस मोटर्स प्रालि रहेको छ । प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र खनालले सार्वजनिक गरिएका यी दुईपाँग्रे मोडलले दिगो, आकर्षक र उत्कृष्ट प्रदर्शनयुक्त सहरी मोबिलिटीलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीका महाप्रबन्धक युगेन्द्र श्रेष्ठका अनुसार नयाँ मोडलले नेपाली उपभोक्ताको आवश्यकता र बदलिँदो जीवनशैलीअनुसार किफायती, आकर्षक तथा उत्कृष्ट प्रदर्शनयुक्त विद्युतीय सवारीको विकल्प थप गरेको छ । गत वर्ष नेपालमा चेतक सार्वजनिक गरेपछि प्राप्त उत्साहजनक प्रतिक्रियापछि कम्पनीले नयाँ मोडलमार्फत आफ्नो विद्युतीय सवारीको दायरा विस्तार गरेको जनाएको छ ।
चेतक सी२५०१ दैनिक आवतजावतलाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटर हो ।
पूर्ण मेटल बडीसहित तयार गरिएको यस स्कुटरले सहरी सडकसँगै केही असहज सडकमा समेत सहज र सुरक्षित राइडिङ अनुभव दिने कम्पनीको दाबी छ । २.५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्रीबाट सञ्चालित सी२५०१ ले प्रमाणित आईडीसीअनुसार एकपटकको चार्जमा ११३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर रहेको छ । फास्ट चार्जिङ प्रणालीमार्फत ब्याट्रीलाई शून्यदेखि ८० प्रतिशतसम्म २ घण्टा २५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
सी२५०१ मा भाइब्रेन्ट कलर एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक प्ले÷पज कन्ट्रोल, रिभर्स मोड तथा २५ लिटरको अन्डर–सिट स्टोरेज उपलब्ध छ । यसमा आइस क्युब टेललाइटसहित विभिन्न आकर्षक रङको विकल्प रहेको कम्पनीले जनाएको छ । यसको मूल्य २ लाख ८१ हजार ९ सय रूपैयाँ तोकिएको छ । त्यस्तै, चेतक सी३५०३ मा रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन गरिएको छ । लामो दूरीको यात्रालाई समेत ध्यानमा राखेर तयार गरिएको यस स्कुटरमा ३.५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ । यसले प्रमाणित आईडीसीअनुसार एकपटक चार्जमा १५१ किलोमिटरसम्मको रेन्ज र प्रतिघण्टा ७० किलोमिटरसम्मको गति प्रदान गर्ने कम्पनीले जनाएको छ ।
सी३५०३ मा डिजिटल एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, इनकमिङ कल तथा म्यासेज अलर्ट र ३५ लिटरको अन्डर–सिट स्टोरेज उपलब्ध छ । क्लासिक डीआरएल हेडलाम्पसहित तयार गरिएको यस स्कुटरमा मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चारकोल ग्रे र साइबर ह्वाइटलगायत आकर्षक रङ उपलब्ध छन् । यसको मूल्य ३ लाख ३९ हजार ९ सय रूपैयाँ तोकिएको छ । कम्पनीका अनुसार सी२५०१ र सी३५०३ दुवै मोडल नेपालभरका बजाज डिलरमा बुकिङका लागि उपलब्ध छन् । साथै, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा आगन्तुकले यी नयाँ मोडल प्रत्यक्ष अनुभव गर्न सक्ने व्यवस्था गरिएको थियो ।
हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडका अनुसार नेपालमा अटोमोटिभ समाधानको क्षेत्रमा कम्पनीले आफ्नो उपस्थितिलाई थप विस्तार गर्दै आएको छ । उच्च गुणस्तर र भरपर्दो मोबिलिटी विकल्प उपलब्ध गराउने प्रतिबद्धतासहित कम्पनीले विद्युतीय सवारीको बजार विस्तारमा काम गरिरहेको जनाएको छ । बजाज अटो विश्वकै अग्रणी दुईपाँग्रे तथा तीनपाँग्रे सवारीसाधन निर्माता कम्पनीका रूपमा परिचित छ ।









प्रतिक्रिया दिनुहोस्