नेपालबाट बाहिरियो यस वर्षको मनसुन



काठमाडौँ ।

यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपालबाट बाहिरिएको हो । नेपालमा मनसुन बाहिरिने सरदर (औसत) मिति अक्टोबर २ भए तापनि यस वर्ष १२ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जनाएको छ ।

यसअघि गत असोज १७ गते (अक्टोबर ३)का दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बहिर्गमनको सुरूवात भएको थियो । असोज २८ गतेसम्म आइपुग्दा मनसुन देशैभरिबाट बाहिरिएको छ । नेपालबाट मनसुन प्रणाली बाहिरिए तापनि स्थानीय वायु र पश्चिमी वायुको प्रभाव अझै रहन सक्ने भएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचनाको जानकारी लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस्तै बुधबारदेखि मनसुन बाहिरिएसँगै मनसुनी वर्षाका कारण सिर्जना हुने बाढी तथा आकस्मिक बाढीको जोखिम तत्कालका लागि नदेखिएको भन्दै महाशाखाले नियमित २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा स्थगित गरेको हो । आगामी वर्षको मनसुन सुरु नभएसम्मका लागि उक्त नियमित सेवा बन्द गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । पूर्वसूचना प्रवाह गर्न सर्वसाधारणको सहजताका लागि सञ्चालनमा ल्याइएको टोल फ्री नम्बर ११५५ को विकल्प (२)समेत हाललाई बन्द गरिएको छ ।

नियमित पूर्वसूचना सेवा स्थगित गरिए पनि नदी तथा जलस्रोतको अवस्था र बाढीजन्य जोखिमको निरन्तर निगरानी भने कायम रहने महाशाखाले प्रस्ट पारेको छ । मनसुनबाहेकको समयमा पनि सम्भावित विपत्लाई मध्यनजर गर्दै अवस्थाअनुसार जानकारी गराइने महाशाखाको भनाइ छ । ‘मनसुनबाहेकको अवधिमा बाढीको जोखिम आकलन भएमा वा अन्य कुनै कारणले पूर्वसूचना दिनुपर्ने अवस्था आएमा आवश्यकताअनुसार तत्काल सेवा पुनः सञ्चालन गरिनेछ,’ महाशाखाद्वारा जारी सूचनामा भनिएको छ । नदीको जलसतह र बहावको निरन्तर अवलोकन भइरहने भएकाले जोखिम देखिएको खण्डमा तत्काल पूर्वसूचना प्रवाह गरिने व्यवस्था मिलाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार