बाँके ।
गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनका घटनामा आधारित नेपाली कथानक फिल्म ‘जनक्रान्ति’ निर्माण गरिने भएको छ । फिल्मको पहिलो पोस्टर गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरिसकेका छन् । पोस्टर सार्वजनिकपछि प्रचण्डले फिल्मले युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको संघर्ष तथा त्यसपछिको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाबारे जानकारी दिन सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।
उनले हिजोको समाजको वास्तविक अवस्थाबारे युवालाई अवगत गराउन आवश्यक रहेको बताए । रुद्राक्ष फिल्म्स प्रा. लि.को ब्यानरमा निर्माण हुने यस फिल्म को निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन् । भाद्र दोस्रो सातादेखि फिल्मको छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ । ‘जनक्रान्ति’को प्रदर्शन मिति आगामी फागुन १ गतेका लागि तय गरिएको निर्माता रुद्रप्रसाद खनालले बताए ।
निर्देशक तिमिल्सिनाका अनुसार फिल्ममा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनको पृष्ठभूमि समेटिनेछ । सत्य घटनामा आधारित यस चलचित्रले नयाँ पुस्ताका युवालाई नेपालको राजनीतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षको दाबी छ । फिल्मको छायांकन पश्चिम नेपालको रूकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालीकोट, बाँके, बर्दिया, पूर्वी नेपालको धनकुटा, खोटाङ, भोजपुर तथा तराई–मधेशको सर्लाहीमा गरिने जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्