दसैँको सम्झना



सतिश निरौला

नेपालगन्जको त्रिभुवन चौकनजिक कोल्ड कर्नर थियो, त्यो समयको रेस्टुरेन्ट वा क्याफे जे भने नि त्यही थियो, युरोप र अमेरिकी सहरहरूमा म्याकडोनाल्ड र स्टारबक चार्म जे जस्तो थियो त्योभन्दा कम थिएन । नेपालगन्जका लागि त्रिभुवन चौकको कोल्ड कर्नर । कोल्ड कर्नरमुनि रहेको मिनि मार्केट हामीलाई भाटभटेनी, काठमाडौँ मल र सिटी सेन्टरभन्दा भव्य लाग्थ्यो । जब दसैँको माहोल बढ्दै जान्थ्यो, नयाँ फेसनका कपडासहित ग्राहकको भिडले भरिभराउ हुन्थ्यो मिनि मार्केट र हिरू–पिन्टु लगायतका पसल । हरेक वर्ष पर्खिन पर्ने जमाना थियो नयाँ कपडा लाउन दसँै नै । अहिलेजस्तो जहिले चाहियो वा मनलाग्यो नयाँ कपडा किन्ने वा सिलाउने चलन थिएन । त्रिभुवन चौकमा रहेको मिनि मार्केटमा त्यतिबेला किनमेल गर्नेहरूको भिडमा नेपालीसँगै भारतीय ग्राहक पनि प्रसस्त हुन्थे । त्यस्तै अलि राम्रो रेडिमेड कपडाको पसल थियो आदर्श इम्पेक्स, कपडा सिलाउने फेमस टेलर थियो लखनउ टेलर्स, ग्लोब टेलर्स । नेपालगन्जमा न्युरोड थिएन त्यतिबेला सहरको मुटु (मुख्य केन्द्र ) त्रिभुवन चौक नै थियो ।

गाउँघरमा लिपपोतदेखि सरसफाइ अनि नयाँ धानको चिउरा, भन्सा कोठामा डोरीभरी टाँगिएका केराका घरी, घरघरमा खसीको मासु । कतै पक्कु त कतै भुटुवा अनि थरिथरिका मासुको परिकार । त्यतिबेला मासु वा मिठोमसिनो खान पनि चाडपर्व (दसैँ÷तिहार ) नै पर्खिनुपर्ने अवस्था थियो आम मानिसहरूका लागि । टोल टोलमा पिङ बेग्लै रमाइलो माहोल हुन्थ्यो दसैँमा । दसैँमा दुर्गा मूर्ति स्थापना गरेर पूजापाठ गर्ने चलन थिएन, ५० को दशकसम्म पहाडी समुदायमा । घटस्थापना सुरु भएदेखि नै बेग्लै फेस्टिभ भाइब आउँथ्यो अलगखाले रमाइलो हुन्थ्यो । न टेलीभिजन थिए घरघरमा, न त इन्टरनेट सेवा, न टिकटक, न त फेसबुक नै तर त्यो बेला पानासोनिक रेडियोमा घन्किने मालश्रीका धुनले कति आनन्द र मज्जा दिन्थ्यो । पारिवारिक जमघट अनि जुटपत्ति, साइटिन, फुट्टी, फलास (तिनपत्ति) पारिवारिक रमाइलो र साँच्चिकै प्रेम देखिन्थ्यो । गाउँमा बाहिर भएका पनि आइपुग्थे दसैँको छेको पारेर । दसैँभरि पारिवारिक तास खेलाइ निकै रमाइलो हुन्थ्यो । कोजाग्रत पूर्णिमाको दिन कौडा हानेपछि दसैँ पनि सकिन्थ्यो, जुवातासको रमाइलो पनि ।

हामी २५ पैसा बोट खेल्थ्यौँ जुटपत्ति र तिनपत्ति (फलास) । दसैँमा १ रूपैयाँँदेखि अधिकतम ५ रूपैयाँँसम्म दक्षिणा पाइन्थ्यो झण्डै ५० को दसकसम्मै । चाडपर्व भेटघाट, रमाइलो र रिफ्रेस हुने एकमात्र माध्यम थिए त्यो बेला । अहिलेजस्तो घुमफिर गर्ने वा एकैठाउँ १०÷२० जना जम्मा हुँदा पनि मोबाइल मै एक्लाएक्लै भुल्ने युग थिएन त्यो । पछिल्लो सय वर्षयताको समयको हिसाबकिताब गर्दा १९८०–२००० सम्म को समय नै उत्कृष्ट ठम्याउँछु म । हाम्रो परिवार निकै ठूलो थियो । बुबाहरू ९ भाइ अनि हामी ९ भाइका सबै सन्तानहरू एकैठाउँ जुट्ने र दसैँ मनाउने गरिन्थ्यो । हामी सबैको जमघट गौघाट सितापुरमा माइला पिताको घरमा हुने गथ्र्यो । हजुरआमा हुनुहुन्थ्यो, हामी झन्डै सय जना थियौँ, सबै परिवार । हामीलाई टीका लगाइदिने पनि धेरै हुनुहुन्थ्यो । हामी स्कुलमा लाइन लागेझैँ लाइनमा उभिन्थ्यौँ टीका लाइसकेपछि दक्षिणा थाप्न । बिर्सिएर एकै जनाबाट डबल दक्षिणा नि पाइन्थ्यो कहिलेकाहीँ गज्जब रमाइलो हुन्थ्यो । अहिले ती समय सम्झँदा पनि आनन्द लाग्छ, बेग्लै अनुभुति हुन्छ । अब ५० को दशकअगाडि जस्तो न चाडपर्व हुनेछन्, न त त्यो माहोल नै । मनिसहरूको रहर फेरिए, प्रविधि र विज्ञानको क्षेत्रमा आएको क्रान्तिले मानिसको दैनिकी बदलिए । स्वभाव र बानी बदलिए । साथीभाइ र परिवारसँगै समूहमा रुमलिने, रमाउने र छुट्टिन नरुचाउने मानिस अब इन्टरनेट, ल्यापटप, ट्याब र मोबाइलमै रुमलिँदै छ, एकछिन पनि नछोडिकन । बडादसैँ २०८३ को सबैलाई शुभकामना !

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार