नन्दराम जैशी । सुर्खेत ।
बिहानैदेखि बसपार्कमा यात्रुको ठूलो भीड लाग्छ । कोही गन्तव्य सोध्दै टिकट काउन्टर धाइरहेका हुन्छन् त कोही बसको प्रतीक्षामा झोला र पोका बोकेर सडक तथा चोकमा बसेका हुन्छन् । यी दृश्य दसैँ सुुरु भएसँगै देशभरका बसपार्कमा देखिन्छन् । चाहे ती काठमाडौँको लामो बसाइँपछि गाउँ फर्किनेहरू हुुन्, वा रोजगारीको सिलसिलामा घरबाहिर रहेका व्यक्तिहरू । परिवारसँग दसैँ मनाउने तयारीमा बसपार्कमा देखिने यो दृश्यले दसैँ नजिकिएको महसुुस गराउँछ । अन्य समयमा बिहानपख मात्रै बढी चहलपहल देखिने सुर्खेत बसपार्कमा अहिले दिनरात यात्रुको आवागमन बाक्लिन थालेको छ ।
संघीय राजधानी काठमाडौँलगायत देशका विभिन्न सहरबाट कर्णाली र सुदूरपश्चिमका जिल्लातर्फ जाने यात्रुका लागि बाँकेको कोहलपुुर र सुर्खेतको सिटी बसपार्क प्रमुख केन्द्र हुुन् । बाहिरी जिल्लाबाट सुर्खेत आउने र यहाँबाट गाउँ फर्किने यात्रुको चाप बढेसँगै बसपार्कको व्यस्तता पनि बढेको हो । दसैँमा घर फर्किने हतारो कतिसम्म हुन्छ भन्ने कुरा जुम्लाको तातोपानी गाउँपालिका–४ का लालप्रसाद हमालको अनुभवले देखाउँछ । चाहेजस्तो गाडी र सिट नपाएपछि उनले दुई दिनपछिको टिकट काट्नुपरेको बताए ।
उनले भने, ‘दसैँमा घर पुग्ने भनेपछि समयमै निस्कन खोजेको थिएँ, तर आफूले चाहेजस्तो गाडी र सिट पाइएन । बाध्य भएर दुई दिनपछिको टिकट काट्नुप¥यो ।’ उनका लागि दुई दिनको प्रतीक्षा परिवारसँग दसैँ मनाउन घर पुग्ने योजनामा थपिएको अनिश्चितता हो । चाडपर्वको समयमा यात्रुको चाप बढ्नु स्वाभाविक भए पनि पर्याप्त सवारीसाधन र व्यवस्थित टिकट प्रणाली नहुँदा सास्ती भोग्नुपरेको उनको भनाइ छ । सुर्खेतबाट बुटवल जान बसपार्क पुगेका दिपेन्द्र घिमिरे पनि चाडपर्वको यात्रामा समय र खर्च दुवैको हिसाब मिलाउनुपर्ने बताउँछन् ।
‘वर्षभरि कामको व्यस्तताले परिवारसँग समय बिताउन पाइँदैन । दसैँमा घर जानैप¥यो,’ उनले भने, ‘तर चाडपर्वमा टिकट पाउनै मुस्किल हुने र यात्राको खर्च पनि बढ्ने हुँदा पहिल्यै योजना बनाउनुपर्ने रहेछ ।’ सुर्खेतबाट बर्दिया जान लागेका भीम कँडेलले दसैँ परिवारसँग भेटघाट गर्ने अवसर भएको बताए । तर, चाडपर्वमा एकैपटक यात्रुको चाप बढ्दा सार्वजनिक यातायात व्यवस्थापनमा सुधार आवश्यक रहेको उनको भनाइ छ । ‘सबैलाई दसैँमा घर पुग्ने हतारो हुन्छ । टिकट काटेपछि समयमा गाडी पाइयोस्, सिटअनुसार यात्रा गर्न पाइयोस् र बाटोमा अनावश्यक दुःख भोग्न नपरोस् भन्ने अपेक्षा छ,’ उनले भने । दसैँमा यात्रुुहरूलाई घर फर्किने उत्साहसँगै खर्च, समय र सहज यात्रा व्यवस्थापनको चिन्ता छ । संयुुक्त यातायात व्यवसायी संघ सुुर्खेतका अनुसार कर्णाली प्रदेशमा दैनिक १० हजार यात्रुुको आउजाउ भइरहेको छ ।
काठमाडौँमा गाउँ फर्किनेको भीड
दसैँमा गाउँ फर्किनेको चाप सुर्खेतमा मात्रै सीमित छैन । काठमाडौँ उपत्यकाबाट पनि ठूलो सङ्ख्यामा यात्रु बाहिरिन थालेका छन् । उपलब्ध तथ्यांकअनुसार एक लाख ८७ हजार ७ सय ७४ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि मंगलबार रातिसम्म ६९ हजार ८९ महिला र एक लाख १८ हजार ६८५ पुरुषगरी एक लाख ८७ हजार ७७४ जनाले उपत्यकाबाट बाहिरिएका हुन् ।
दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको हो । प्रवक्ता सुवेदीले दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप दिनहुँ बढ्दै गएको जानकारी दिए । उनका अनुसार दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडा लगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यी नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गतेदेखि २९ गतेसम्मको लागि एक लाख ३० हजार १२९ जनाले अग्रिम टिकट बुकिङ गरेका छन् । यातायात व्यवस्था विभागका अनुसार हाल नागढुङ्गा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बिपी राजमार्ग लगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ ।
नेपाल यातायात राष्ट्रिय व्ययसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले मुख्य नाकामा सवारीसाधनको चाप बढ्दा यात्रा समय लम्बिन सक्ने भएकाले यात्रुले यात्राको योजना बनाउँदा पर्याप्त समय छुट्याउनु उपयुक्त हुने बताए । यात्रुको चाप बढेसँगै काठमाडौँका दरबारमार्ग, कलंकीलगायत क्षेत्रमा पनि चाडपर्वको गतिविधि बढेको छ । दरबारमार्गका विभिन्न पसलले ब्रान्डेड कपडा, जुत्ता, झोला र अन्य सामग्रीमा छुट तथा विशेष अफर सञ्चालन गरेका छन् भने त्यहाँका व्यवसायीहरू पनि ग्राहकको चहलपहलअनुसार व्यापार बढ्दै गएको बताउँछन् ।
काठमाडौँको दरबारमार्ग र सुर्खेतको वीरेन्द्रनगर बजारको आकार, ग्राहकवर्ग र व्यापारिक संरचना फरक छ । तर, दुवै ठाउँमा चाडपर्वमा बजार चलायमान देखिँदा कारोबार पनि पहिलेको तुुलनामा बढेको हो । दसैँमा गाउँ फर्किनेको लर्कोले नेपाली समाजमा परिवार र थातथलोप्रतिको सम्बन्ध अझै बलियो रहेको देखाउँछ । सहरमा वर्षभरि काम गर्ने मानिसहरू चाडपर्वमा घर फर्किन चाहन्छन् । उनीहरूका लागि दसैँ बिदासँगै परिवारसँग भेटघाट गर्ने र सामाजिक सम्बन्ध नवीकरण गर्ने अवसर पनि हो ।
तर, घर फर्किने यात्रुका लागि टिकटको अभाव, सवारीसाधनको चाप र यात्राको खर्च चुनौती बन्ने गरेको छ । त्यसैले सार्वजनिक यातायात व्यवस्थापन, तोकिएको भाडाको कार्यान्वयन र यात्रुको सुरक्षामा सम्बन्धित निकायको ध्यान आवश्यक छ । एकातिर परिवारसँग दसैँ मनाउन घर फर्किनेको लर्को छ, अर्कोतिर बजारमा आवश्यक सामग्री किन्दा पनि मूल्य र बजेटको हिसाब गर्नुपर्ने अवस्था छ । सहरमा काम गर्ने धेरै मानिसका लागि दसैमा घर फर्किनु नै अतिरिक्त खर्चसँग जोडिने गरेको समाजसेवी पूूर्ण पौडेल बताउँछन् ।
‘यातायात भाडा, घरपरिवारका लागि उपहार, लत्ताकपडा र अन्य सामग्री खरिद गर्दा अतिरिक्त खर्च बढ्छ,’ उनले भने, ‘सीमित आम्दानीमा यी सबै आवश्यकता पूरा गर्नुपर्ने हुँदा उपभोक्ताले कतिपय सामग्री खरिद स्थगित गर्न वा कम खर्चिलो विकल्प रोज्ने गरेका छन् । त्यसको प्रभाव बजारमा पर्नु स्वाभाविक हो ।’
बजारमा तीव्र चहलपहल
बसपार्कमा यात्रुको भीड बढेसँगै वीरेन्द्रनगर बजारमा पनि दसैँको किनमेल गर्नेहरूको चहलपहल बढेको छ । फेन्सी पसल, जुत्ता पसल र अन्य व्यापारिक प्रतिष्ठानमा ग्राहक आउन थालेका छन् ।
पसलहरूमा नयाँ सामान सजाइएको छ भने कतिपय व्यवसायीले चाडपर्वलक्षित छुट तथा विशेष अफरसमेत ल्याएका छन् । दसैँ नेपाली समाजमा नयाँ कपडा लगाउने, परिवारका सदस्यलाई उपहार दिने र घरका लागि आवश्यक सामग्री खरिद गर्ने पर्वका रूपमा स्थापित छ । त्यसैले यो समय व्यापारीका लागि वर्षकै महत्वपूर्ण व्यापारिक अवसर मानिन्छ ।
वीरेन्द्रनगरका फेन्सी व्यवसायी रमेश पाण्डेका अनुसार दसैँलाई लक्षित गरेर नयाँ सामान ल्याउने, पसल सजाउने र ग्राहकलाई आकर्षित गर्ने तयारी व्यवसायीले गरेका छन् । तर, उपभोक्ताले पहिलेभन्दा बढी मूल्य तुलना गर्ने र आवश्यकताअनुसार मात्रै सामान खरिद गर्ने प्रवृत्ति देखिएको उनको अनुभव छ । ‘ग्राहक पसलमा आउनुहुन्छ, सामान हेर्नुहुन्छ र मूल्य पनि सोध्नुहुन्छ, तर सबैले खरिद गर्नुहुन्न,’ उनले भने, ‘अहिले ग्राहकले आफ्नो बजेट हेरेर मात्रै सामान किन्ने गरेका छन् । तर, हामीले दसैँमा व्यापार बढ्ने आशाले नयाँ सामान ल्याएका छौँ ।’
उनका अनुसार चाडपर्वमा बिक्री बढ्ने अपेक्षाले व्यवसायीले पहिले नै सामानमा लगानी गरेका हुन्छन् । तर, बिक्री अपेक्षाअनुसार नहुदाँ पसलको भाडा, कर्मचारी खर्च र अन्य सञ्चालन लागत व्यवस्थापन गर्न कठिन हुने गरेको छ । बढ्दो महँगी, घरायसी खर्चको चाप र उपभोक्ताले आफ्नो आम्दानीअनुसार खर्च व्यवस्थापन गर्नुपर्ने अवस्थाले किनमेल प्रभावित पारेको व्यवसायीहरू बताउँछन् । दसैँमा चाहना भए पनि उपभोक्ताले अत्यावश्यक सामग्रीलाई प्राथमिकता दिने र अन्य खर्च घटाउने गरेको व्यवसायी रवी लामिछानेले बताए ।
‘अनलाइन किनमेलको बढ्दो आकर्षणले पनि परम्परागत पसललाई प्रतिस्पर्धामा उभ्याएको छ,’ उनले भने, ‘ग्राहकले घरमै बसेर सामानको मूल्य र गुणस्तर तुलना गर्न सक्ने भएपछि भौतिक बजारका व्यवसायीले छुट र आकर्षक अफरमार्फत ग्राहक तान्नुपर्ने अवस्था बनेको छ ।’ बजारमा पनि उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने, मूल्यसूची स्पष्ट राख्ने र चाडपर्वको नाममा हुने अनुचित मूल्यवृद्धि नियन्त्रण गर्न सरोकारवालाले अनुुगमन तीव्र पारेका छन् ।









प्रतिक्रिया दिनुहोस्