नेपालगन्ज ।
उपन्यासकार कल्पना खरेलको उपन्यास रानीतलाउको नेपालगन्जमा गृहविमोचन गरिएको छ । नेपाली साहित्य समाज लुम्बिनी प्रदेशको आयोजनामा नेपालगन्ज–८ रानीतलाउ परिसरमै बिहीबार एक कार्यक्रम गरी पुस्तकको विमोचन गरिएको हो ।
पुस्तकको साहित्यकार सनत रेग्मी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकाल, शशीराम कार्कीलगायतले विमोचन गरेका थिए ।
समाजका अध्यक्ष किरण आचार्यको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले खरेलको लेखनप्रतिको लगावको तारिफ गरेका थिए । सामाजिक अन्तरविरोध र संघर्ष विषयवस्तु रहेको उपन्यास नेपालगन्जको रानीतलाउलाई बिम्ब बनाएर लेखिएको छ ।
उनले उपन्यासमा युवा–युवतीहरूको हृदयमा कहिल्यै नमर्ने जोश र उत्साह भर्ने, जीवनमा अचानक आइपर्ने कठिनाइ र तिनको समाधान वैज्ञानिक तरिकाले गर्न सकिन्छ भन्ने तर्क र उपायहरू प्रस्तुत गर्न खोजेको बताएकी छन् ।
कल्पना खरेलका यसअघि आधा दर्जन कृति प्रकाशित भइसकेका छन् । उनका ‘लभ इन जेरुसलेम’, ‘समलिंगी सम्बन्ध’ उपन्यास, ‘रागिनी’ कथासंग्रह, ‘क्षितिजपारिका शब्दहरु’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् । खरेलको पछिल्लो कृति ‘रानीतलाउ’ मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो ।








प्रतिक्रिया दिनुहोस्