निशु जोशी । नेपालगन्ज ।
गतवर्ष बाँकेको विभिन्न सिमसार तथा तालतलैयामा प्रशस्त मात्रामा देखिएको जंगली धान यसवर्ष भने उल्लेख्य रूपमा घटेको पाइएको छ । जंगली धानको खोज तथा संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्जको बफरजोन क्षेत्रमा पुगेका स्थानीय, सामुदायिक वन र राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र (जीन बैंक)को टोलीले गतवर्ष धान देखिएको स्थानमा यसवर्ष धान नभेटेपछि यसको संरक्षणमा थप चुनौती देखिएको हो ।
कोहलपुर नगरपालिका–२ मनकामनाका चन्द्रबहादुर जिसीको नेतृत्वमा स्थानीय तथा सामुदायिक वनका प्रतिनिधिसहितको टोली करिब पाँच किलोमिटरको हिलाम्मे बाटो हुँदै बाँके राष्ट्रिय निकुञ्जको बफरजोनमा रहेको गिद्धेनी चौरको पोखरी पुगेको थियो । गतवर्ष सो क्षेत्रमा प्रशस्त जंगली धान देखिएको भए पनि यसवर्ष भने धान भेटिएन । जिसीका अनुसार गतवर्ष सिमसार क्षेत्रमा प्रशस्त जंगली धान देखिएको थियो । तर यसवर्ष वन्यजन्तुलाई पानी खाने व्यवस्था गर्न पोखरी ठूलो बनाइएको र सफाइ गर्ने क्रममा जंगली धान नष्ट भएको हुन सक्ने उनको अनुमान छ ।
कालिका ताजा तरकारी कृषक समूहका अध्यक्षसमेत रहेका जिसीले राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र (जीन बैंक), खुमलटारको सहयोगमा स्थानीयस्तरमा रैथाने बाली संरक्षण गर्दै आएका छन् ।
उनको घरआँगनमै गिठा, भ्याकुर, विभिन्न कन्दमूल तथा औषधीय गुण भएको नीलो बेसारलगायतका रैथाने खाद्यबाली संरक्षण गरिएको छ । जीन बैंक र कृषक समूहको संयुक्त आयोजनामा जंगली धानको अवस्था बुझ्न टोली गिद्धेनी चौर पुगेको थियो ।
टोलीमा सहभागी जनएकता मध्यवर्ती सामुदायिक वनकी अध्यक्ष पुण्यप्रभा मल्ल र देउराली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्रबहादुर खत्रीले पनि गतवर्ष गिद्धेनी चौर मचान नजिकै सिमसार क्षेत्रमा प्रशस्त जंगली धान देखेको बताए । मल्लले निकुञ्जभित्रका वन्यजन्तुले धान खाएका कारण यसवर्ष नदेखिएको हुन सक्ने बताइन् । कृषि जैविक विविधता संरक्षणमा काम गर्दै आएका खत्रीले भने सिमसार क्षेत्रलाई विस्तार गरी ठूलो पोखरी बनाइएकाले जंगली धान हराएको हुन सक्ने अनुमान लगाए । उनीहरूले पुनः जंगली धानको बीउ संकलन गरी संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन् ।
धेरै क्षेत्रमा घट्यो जंगली धान
पाँच वर्षभन्दा बढी समयदेखि जंगली धानको संरक्षणमा सक्रिय जैविक विविधता संरक्षण अभियन्ता पुरमल बस्नेतका अनुसार बाँकेका विभिन्न स्थानमा गतवर्षको तुलनामा यसवर्ष जंगली धान उल्लेख्य रूपमा घटेको छ । जीन बैंकसँगको सहकार्यमा लगातार दुई–तीन वर्षको अवलोकनपछि बाँकेका विभिन्न क्षेत्रमा जंगली धान रहेको पुष्टि भएको र गतवर्ष प्रशस्त धान देखिएपछि संरक्षणकर्मी उत्साहित भएको बस्नेतले बताए । तर यसवर्ष अपेक्षाकृत रूपमा धान नदेखिएपछि संरक्षणमा थप चुनौती थपिएको उनको भनाइ छ ।
गतवर्ष जंगली धान प्रशस्त देखिएपछि कोहलपुर नगरपालिका वडा नं. २ र ८ मा संरक्षण तथा जनचेतनाका लागि २ वटा सूचना बोर्डसमेत राखिएको थियो । कोहलपुर–२ मा सशस्त्र प्रहरीको क्याम्प नजिकै राजमार्ग छेउमा रहेको स्थानमा अहिले कमलका फूल फुलेका छन् । गतवर्ष सोही क्षेत्रमा प्रशस्त जंगली धान देखिएको थियो । बस्नेतका अनुसार यसवर्ष पनि उक्त क्षेत्रमा जंगली धान उम्रिएको र दुई–तीन फिटसम्म अग्लो भएको उनले देखेका थिए । तर पछि पानीको मात्रा अत्यधिक बढ्दा धान पानीबाट माथि निस्कन नसकेको हुन सक्ने उनको अनुमान छ ।
यसवर्ष धान नदेखिनुको एउटा कारण जलवायु परिवर्तन पनि हुनसक्ने उनले बताए । गतवर्ष कोहलपुरदेखि मानखोलासम्म सडक किनार, धम्बोझीदेखि मानखोलासम्मका विभिन्न स्थानमा जंगली धान देखिएकोमा यसवर्ष कतिपय स्थानमा पूर्ण रूपमा हराएको र कतिपयमा न्यून मात्रामा मात्र देखिएको उनले बताए । ‘घट्दो क्रममा रहेको जंगली धान कसरी सुरक्षित गर्ने भन्ने चिन्ता छ,’ बस्नेतले भने, ‘धानको बीउ संरक्षणका लागि सार्वजनिक तथा सामुदायिक तालतलैया खोज्दै हिँडिरहेका छौँ ।’
बाँके, बर्दिया र कैलालीसम्मका स्थानीय तहले जंगली धान संरक्षणमा पर्याप्त चासो नदिएको उनको गुनासो छ । वडा, पालिका र कृषि शाखासम्म यस विषयमा आवश्यक चासो नदेखिएको बताउँदै उनले जंगली धान राज्यको सम्पत्ति भएकाले भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने बताए । गतवर्ष विभिन्न स्थानबाट संकलन गरिएका केही बीउ नार्कअन्तर्गतको जीन बैंकमा सुरक्षित गरिएको उनले जानकारी दिए । संकलित बीउमध्ये केहीलाई आगामी वैशाख–जेठमा बाँकेलगायतका विभिन्न स्थानका तालतलैयामा राखेर संरक्षण गर्ने योजना रहेको उनले बताए । जंगली धान संरक्षणका लागि स्थानीय तहले जनचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यालयका पाठ्यपुस्तकमा समेत यस विषयलाई समावेश गर्नुपर्ने बस्नेतको सुझाव छ । ‘एक–दुई जनाले मात्र संरक्षण गर्न गाह्रो छ । तैपनि हामी लागिरहेका छौँ,’ उनले भने ।
दुई जातका जंगली धान भेटिएको थियो
राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र (जीन बैंक)ले गतवर्ष बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, पाल्पा र कास्कीमा जंगली धानको अवस्था अध्ययन गरेको थियो । अध्ययनका क्रममा बाँकेमा ‘निवारा’ र ‘रुफिपोगन’ गरी दुई जातका जंगली धान भेटिएको अध्ययनका लागि फिल्डमा खटिएका जीन बैंकका प्राविधिक अधिकृत डा. मुकुन्द भट्टराईले बताए । उनका अनुसार नेपालमा जंगली धानका पाँच जात रहेकोमा हालसम्म तीन जात फेला परेका छन् ।
यसवर्ष जंगली धानको अवस्था बुझ्न पुनः बाँकेलगायत विभिन्न जिल्लामा अध्ययन सुरु गरिएको डा. भट्टराईले बताए । उनका अनुसार गतवर्ष बाँकेका अधिकांश ताल तथा सडक छेउका क्षेत्रमा ८० देखि ९० प्रतिशतसम्म जंगली धान भेटिएको थियो । यसवर्ष भने कतिपय क्षेत्रमा शून्य र कतिपयमा २० देखि २५ प्रतिशतसम्म मात्र देखिएको छ । ‘धान किन घट्यो र स्थानीयको अनुभव के छ भनेर दुईवटा तालमा पुग्यौँ । तर त्यहाँ जंगली धान भेटिएन,’ भट्टराईले भने । अहिले धान नदेखिनुको कारणबारे अध्ययन भइरहेको उनको भनाई छ । उनका अनुसार बाँकेमा मात्र नभई देशभरमा जंगली धानको अवस्थाका बारेमा अध्ययन गर्न लागिएको छ ।
जंगली धान घट्नुका कारण तत्कालै यकिन गर्न नसकिने उनी बताउछन् । गाईबस्तुले खाएको, तालमा अत्यधिक पानी भरिएर बीउ उम्रन नसकेको वा कमलका पातले धानलाई छोपेका कारण नदेखिएको हुन सक्ने स्थानीयले बताएको उनले जानकारी दिए । तर वास्तविक कारण पत्ता लगाउन थप अध्ययन आवश्यक रहेको बताउदै भट्टराईले भने ‘यसका लागि अझै दुई–तीन वर्ष अध्ययन गर्नुपर्ने हुन सक्छ,’ । बाँकेपछि पश्चिम नेपालका अन्य क्षेत्र र त्यसपछि पूर्वी नेपालमा समेत अध्ययन गर्ने जीन बैंकको योजना छ । चितवनको लोथरमा पाखोमा हुने जंगली धानको अध्ययन दसैँपछि गर्ने तयारी रहेको भट्टराईले बताए ।
नयाँ जातको धान विकासको सम्भावना
वैज्ञानिक दृष्टिले जंगली धानलाई धानका आधुनिक जातको पुर्खाका रूपमा लिइन्छ । यसमा रहेका उपयोगी गुणलाई पहिचान गरी खेती गरिने धानमा स्थानान्तरण गर्न सके नयाँ जातको धान विकास गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ । भट्टराईका अनुसार जंगली धानमा रहेका गुणबारे जीन बैंकले अध्ययन गरिरहेको छ । विशेषगरी डुबान सहन सक्ने तथा अन्य उपयोगी गुण पहिचान गरी नयाँ जातको धान विकास गर्न सकिने सम्भावना रहेको उनले बताए ।
विश्वका विभिन्न देशमा बहुवर्षीय धानबाली विकासका विषयमा अध्ययन भइरहेको भन्दै उनले नेपालमा पनि जंगली धानका उपयोगी गुणको अध्ययनबाट भविष्यमा कम लागतमा उत्पादन लिन सकिने धानको विकास गर्न सकिने सम्भावना रहेको बताए । ‘जंगली धानमा भएका गुण अन्य धानमा स्थानान्तरण गरेर नयाँ जात विकास गर्न सकिन्छ,’ उनले भने, ‘यसका लागि अन्तर्राष्ट्रिय संस्थासँग पनि छलफल अघि बढाइएको छ ।’ उनका अनुसार जंगली धानमा भएका गुण यकिन भएपछि त्यसको उपयोगबाट बहुवर्षीय धानबाली विकास गर्न सकिने सम्भावनासमेत छ ।
संरक्षणमा स्थानीय तहको भूमिका आवश्यक
जंगली धानको संरक्षणका लागि स्थानीय समुदायसँगै स्थानीय तह, वडा र कृषि शाखाको सक्रिय सहभागिता आवश्यक रहेको जीन बैंकका अधिकारीहरूको भनाइ छ । जीन बैंकले स्थानीय जातका बालीको खोज, अनुसन्धान र संरक्षणको काम गर्दै आएको भए पनि संरक्षणको दीर्घकालीन कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारको सहयोग आवश्यक रहेको भट्टराईले बताए । बस्नेत भने स्थानीय तहले सडक, पुलपुलेसा लगायतका भौतिक पूर्वाधारलाई प्राथमिकता दिए पनि जैविक विविधता संरक्षणका विषयलाई पर्याप्त प्राथमिकता नदिएको बताउँछन् ।
‘स्थानीय सरकारले जनचेतनाका लागि यस्ता विषय पाठ्यपुस्तकमा समावेश गर्नुपर्छ । जनचेतनाका कार्यक्रम गर्नुपर्छ,’ उनले भने, ‘यो एक–दुई जनाले मात्र संरक्षण गरेर सम्भव हुँदैन । राज्य र स्थानीय समुदाय सबै मिलेर संरक्षण गर्नुपर्छ ।’ जंगली धान संरक्षणका लागि कोहलपुर नगरपालिकासंग कुनै योजना नरहेको कोहलपुरको कृषि शाखा बताउछ । शाखाले बजेटमा समावेश योजनालाई मात्र प्राथमिकता दिने गरिएको बताएको छ ।
गतवर्ष प्रशस्त देखिएको जंगली धान यसवर्ष अचानक घट्नुले यसको संरक्षण र अनुसन्धानलाई थप गम्भीर बनाएको छ । जीन बैंकले कारण पत्ता लगाउन थप वर्ष अध्ययन गर्ने तयारी गरिरहँदा संरक्षणकर्मी भने बाँकी रहेका जंगली धान र यसको बीउ तत्काल सुरक्षित गर्नुपर्नेमा जोड दिइरहेका छन् । उनीहरू जंगली धानको संरक्षणका लागि समुदायस्तरमा रहेका तालतलैयामा बीउ रोपेर भएपनि जोगाउने ध्याउन्नेमा छन् ।









प्रतिक्रिया दिनुहोस्