सुर्खेतमा ६ महिनामा १५१ वटा मानवअधिकार उल्लंघनका घटना



oppo_0

नन्दराम जैशी । सुर्खेत ।

जिल्लामा पछिल्लो ६ महिनामा १५१ वटा मानवअधिकार उल्लंघनका घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल कर्णाली प्रदेशको तथ्यांकअनुसार ६ महिनामा १५१ वटा मानवअधिकार उल्लंघनका घटना घटेको पाइएको छ । यी घटना सन् २०२५ को जनवरीदेखि जुनसम्म सुर्खेत जिल्लामा संकलन गरिएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटना हुन् । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ का लागि सुर्खेत जिल्लामा संकलन गरिएका घटनाको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रमका अवसरमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

तथ्यांकअनुसार कूल १५१ घटनामध्ये राज्य पक्षबाट ३ वटा र गैरराज्य पक्षबाट १४८ वटा घटना घटेको उल्लेख छ । जसमा कुटपिट गर्दै गिरफ्तारको १ वटा र कुटपिटका २ वटा घटना रहेका छन् । यस्तै बालअधिकार उल्लंघनका घटनाअन्तर्गत बालविवाह १, कुटपिट १, बलात्कार १६ र यौन दुव्र्यवहारका २ वटा घटना रहेका छन् । यस्तै अमानवीय व्यवहारसम्बन्धी १, जातीय विभेद १, धम्की १ र महिला अधिकारका १२४ वटा मुद्दा रहेका छन् भने घरेलु हिंसाका १०८, बलात्कार १५ र बलात्कार प्रयासको १ वटा घटना घटेको तथ्यांकमा उल्लेख छ ।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीका अनुसार समाजमा पछि परेका महिला र बालबालिकाको घटना बढी घटेको पाइएको छ । इन्सेकले पनि महिला र बालबालिकालाई विशेष ध्यानमा राखेर काम गरिरहेको उनले बताए । समीक्षा कार्यक्रममा सबै सरोकारवालाहरूले दिएको सुझाव र सल्लाहअनुसार मानवअधिकार वर्ष पुस्तक २०२६ को तयारी गरिने उनको भनाइ छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले मानवअधिकार हनन भएका तर मुद्दाका रूपमा बाहिर आउन नसकेका घटनाको विवरण संकलनमा ध्यान दिन इन्सेक नेपाललाई सल्लाह दिए ।

हरेक क्षेत्र तथा व्यक्तिले आफ्नो मानवअधिकारको प्रयोग गर्दैगर्दा अरुको पनि मानवअधिकारका विषयमा हेर्नुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेशका संयोजक रमेशकुमार थापाले समाजमा आपराधिक घटना कम भएको खण्डमा मानवअधिकार उल्लंघनका घटना पनि कम हुने बताए । मानवअधिकार उल्लंघनमा आपराधिक घटनाले नै बढी जोखिम निम्त्याएको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधिरराज शाहीले समाजमा नचाहँदा नचाहँदै पनि मानवअधिकार उल्लंघनका घटना बढिरहेको बताए । तर त्यस्ता घटना सबै बाहिर आउन नसकेको उनको भनाइ छ ।

अपराध अनुसन्धान शान्ति सुरक्षा प्रहरीको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दे यसमा मानवअधिकारका दृष्टिकोणले हेर्ने गरिएको उनले जानकारी दिए । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता डम्बरप्रसाद काफ्लेले मानवअधिकार उल्लंघनका घटनामा दोषि पक्राउपछि पनि उनीहरूको मानवअधिकार उल्लंघन भएको विषयमा अध्ययन गरिनुपर्ने बताए । वास्तविक मानवअधिकार उल्लंघनका विषय इन्सेक नेपालको वर्ष पुस्तकमा छुटाउन नहुने उनको भनाइ छ ।

जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वलदेव रावतले मानवअधिकार उल्लंघनका घटना न्यूनीकरण गर्न न्यायमा सबैको पहुँच पु¥याउनुपर्ने बताए । मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश संयोजक पिताम्बर ढकालले मानवअधिकार उल्लंघनका घटनाका विवरण संकलनले समाजमा गलत मनोवृत्ति कम हुने बताए । अदालतले फैसला नगर्नुजेल अभियोग लागेको भन्न नमिल्ने भन्दै विभिन्न डर त्रासका कारण ग्रामीण भेगका पीडितले अझै न्यायका लागि बोल्नसक्ने स्थिति नरहेको उनले उल्लेख गरे ।

उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष दुर्गा सापकोटाले मानवअधिकारको क्षेत्रमा इन्सेक नेपालको गतिविधिका कारण न्यायको पहुँचमा नभएकालाई पहुँचमा ल्याएको तर्क गरे । गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारुले घटनाको अभिलेख व्यवस्थापनले सहज बनाएको भन्दै गोपनियतालाई पनि ध्यान दिनुपर्ने उल्लेख गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार