सुरुवातमा कुलीन र दरबारिया राणा परिवारको मात्रै पहुँचमा रहेको साइकल बिस्तारै बिस्तारै सम्भ्रान्त परिवार र विशिष्ट व्यक्तिहरूको पहुँचमा पनि पुग्यो । नेपालका प्रसिद्ध साहित्यकारहरू बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटासँगका साइकल प्रसङ्गहरू समेत सुन्न र पढ्न पाइन्छ । त्यसपछि साइकल सम्भवत मलाया, हङकङ, भारत र बेलायत पुगेका लाहुरेहरूले नेपाल भित्र्याएको हुनुपर्छ आम रूपमा । साइकल ५० को दशकसम्म नेपाल र नेपालीको लाइफलाइन थियो ।
सतिश निरौला
नेपालमा साइकलको इतिहास १०० वर्ष पुरानो नै छ, नेपालमा आधिकारिक रूपमा पसल खोलेर साइकल बेचबिखनको सुरुवात चाहिँ पञ्चनारायण–अष्टनारायण साइकल पसलबाट सुरु भएको थियो, जुन साइकल पसल अहिले पनि प्यान्क बाइकका नामबाट सञ्चालनमा रहिरहेको छ । उक्त साइकल पसल सन् १९२५ बाट सञ्चालनमा आएको थियो । सुरुवातमा कुलीन र दरबारिया राणा परिवारको मात्रै पहुँचमा रहेको साइकल बिस्तारै बिस्तारै सम्भ्रान्त परिवार र विशिष्ट व्यक्तिहरूको पहुँचमा पनि पुग्यो । नेपालका प्रसिद्ध साहित्यकारहरू बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटासँगका साइकल प्रसङ्गहरू समेत सुन्न र पढ्न पाइन्छ । त्यसपछि साइकल सम्भवत मलाया, हङकङ, भारत र बेलायत पुगेका लाहुरेहरूले नेपाल भित्र्याएको हुनुपर्छ आम रूपमा । साइकल ५० को दशकसम्म नेपाल र नेपालीको लाइफलाइन थियो । यो तराई क्षेत्रका बासिन्दाहरूको मुख्य सवारीसाधन थियो । घरमा साइकल हुनु ५० को दशकसम्म अहिले मोटरसाइकल हुनु सरहभन्दा पनि ज्यादा सान र मानको विषय थियो भने ४० को दशकसम्म त साइकलको समेत कर तिर्नुपर्ने र आजभोलि गाडी मोटर र मोटरसाइकलको ब्लुबुक झैँ साइकलको समेत सोही प्रकारको कागजात हुन्थे, जुन अनिवार्य नवीकरणीय थियो । बिस्तारै बिस्तारै परिस्थिति, परिवेश र समय बदलिँदै गयो, योसँगै आम मानिसहरूको आर्थिक, सामाजिक र मानसिक परिस्थिति पनि बदलियो र योसँगै आम मानिसको जीवनशैली पनि फेरियो अनि कुनै समय दरबारिया राणा र राजाहरूको सान, सम्भ्रान्त सहरिया र विशिष्ट व्यक्तिहरूको लोभलाग्दो जीवनशैलीका रूपमा देखापरेको साइकल ६० को दशकसम्म आइपुग्दा गरिबीको सिम्बोल बन्न पुग्यो ।
पछिल्लो डेढ दशकयता नेपालमा फेरि साइकल पुनर्जागृत भएर आएको छ, साइकलको शैली फेरिएको छ, साइकलको ढाँचा बदलिएको छ, साइकलको स्वरुप बदलिएको छ । त्यति मात्रै होइन यसको लागत मूल्यसँगै सामाजिक मूल्य र मान्यता समेत बदलिएको छ । साइकल फेरि अब स्टाटसका रूपमा आएको छ । काठमाडौँ, ललितपुर, भक्तपुरसँगै पर्यटकीय नगरी र लाहुरेको सहर रूपमा चिनिएको पोखराबाट हुर्किँदै गएको माउन्टेन बाइकिङको संस्कृति अब पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म घनीभूत रूपमा फैलिएको छ । नेपालमा अहिले हेल्मेट लगाएर, साइकलका अलग्गै कस्ट्युम लगाएर छुट्टै र अलग देखिने गरि माउन्टेन बाइकिङमा रमाउने युवा युवतीहरूसँगै अधबैँसे र सेवानिवृत्त जीवन बिताउनेहरूको समेत सङ्ख्या बढ्दै गएको छ । नेपाल सम्भवत दक्षिण एसियामा नै साइकल कल्चर र साइकलयात्रीहरूको सङ्ख्या तीव्रतर वृद्धि भैरहेको देशका रूपमा चिनिदै गएको छ । साइकलको मोह बढेसँगै नेपालमा साइकलसँग सम्बन्धित संघ÷सस्था र क्लबहरूको सङ्ख्या समेत बढ्दै गएको छ । सहरिया परिवेशमा आम मानिसहरूलाई साइकल स्वास्थ्य जीवनशैली र व्यायामको महत्वपूर्ण साधनको रूपमा प्रयोग गरिँदै आइएको छ भने कतिपय युवा, युवतीहरू साइकललाई साहसिक खेलका रूपमा समेत ग्रहण गरि व्यावसायिक साइकल खेलमा समेत लागिपरेका छन् । साइकलमा रमाउने र रुचि राख्नेहरूको अर्को महत्वपूर्ण सौख भनेको साइकलमा देशाटन गर्नु समेत हो, यसले नेपालमा ‘साइकल पर्यटन’ नयाँ अध्याय समेत थपेको छ । पछिल्लो एक दशकयताका गतिविधि हेर्दा नेपालका ठूला सहरहरूमा मात्रै होइन नयाँ र उदाउँदा सहरहरूमा र पर्यटकीय महत्व बोकेका क्षेत्रहरूमा हरेक वर्ष साइकलमा इभेन्टहरू आयोजना हुँदै आएका छन् ।
सुरुवातमा काठमाडौँबाट मात्रै आयोजना हुने गरेको साइकलका इभेन्टहरू काठमाडौँबाट हराउँदै गए पनि नेपालगन्ज, पोखरामा विगत ८ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएका छन् भने भैरहवाले समेत यसलाई पछ्याउँदै आएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाले गत वर्ष साइकलमा मुस्ताङ टुरको आयोजना गरि हिमाली क्षेत्रमा समेत साइकल अभियानको नयाँ आयाम र अध्यायको सुरुवात गरि स्थानीय सरकारले नै साइकल पर्यटनको महत्व र सम्भावनालाई उजागर गरेको छ । याक अट्याक, याक रु, पोखरा ईन्ड्युरो जस्ता विदेशी साइकलका सौखिन खेलाडीलाई नेपाल भित्र्याएर आयोजना गरिने साइकलको खेल आयोजनाले नेपालमा साहसिक खेलका रूपमा साइकललाई प्राथमिकतामा राखी राज्यले समेत समन्वय र सहयोग गर्ने हो भने संसारलाई नेपाल सगरमाथा मात्रै होइन साहसले भरिएकाहरूका लागि साइकलमा अन्नपूर्ण सर्किट, मनाङ, मुस्ताङ, खप्तड र अपि, शैपाल अनि सगरमाथा आधार शिविरसम्म साइकलमा पुग्ने साहसिक यात्रा गर्न आमन्त्रण गर्न सकिन्छ । आम साइकलेहरू र युवाहरूमाझ साइकलका विशिष्ट व्यक्तिका रूपमा चिनिएका पुष्कर शाह, जसले १५५ देशको यात्रासँगै सगरमाथा समेत उक्लिएको साहसको कथा छ । साइकलमा संसार डुल्ने अर्का साहसी युवा हुन् अजित बराल । उनी अझै साइकल यात्रालाई निरन्तरता दिइरहेका छन् भने अहिले पनि दर्जनौँ नेपाली साइकलेहरू संसार साइकलमा डुलिरहेको फोटो भिडिओ सामाजिक सञ्जालहरूमा प्रशस्त देख्न पाइन्छ । योसँगै साइकलमा नेपालको महाकाली–मेची साइकल यात्रा पूरा गर्नेहरूको सङ्ख्या प्रत्येक वर्ष थपिँदै गएको छ । नेपालमा पछिल्लो दशकयता साइकल संस्कृति ह्वात्तै बढे पनि नेपाली सडक साइकलमैत्री बन्न सकेका छैनन् भने नीतिगत रूपमा पनि थुप्रै जटिलता र अप्ठ्याराहरू छन् । नेपाल जस्तो पेट्रोलियम पदार्थमा परनिर्भरता रहेको देशमा आम रूपमा साइकल संस्कृति बढ्दै जाने र किशोर तथा युवाहरूलाई मात्रै नभएर आम मानिसहरूलाई समेत छोटो दूरी साइकलमा नै आवातजावत गर्ने कुरामा जोड दिन राज्यले पनि केही नीतिगत प्रावधानसहित प्रोत्साहन र साइकल पूर्वाधारमा लगानी गर्नु आवश्यक छ । आज जुन ३ अर्थात् विश्व साइकल दिवस सम्पूर्ण साइकलप्रेमीहरूमा विश्व साइकल दिवसको शुभकामना ।









प्रतिक्रिया दिनुहोस्