सल्यान ।
जिल्लाबाट जडीबुटीको व्यावसायिक संकलन तथा निकासी बढ्दै जाँदा स्थानीय अर्थतन्त्रमा समेत योगदान पुुगेको छ । गत आर्थिक वर्ष २०८२–८३ मा जिल्लाबाट २२ लाख ६८ हजार १६५ किलो जडीबुटी निकासी हुँदा त्यसबापत करिब २३ करोड ३६ लाख रूपैयाँँ जिल्लामा भित्रिएको हो । डिभिजन वन कार्यालय सल्यानका अनुसार जिल्लाका १० वटै स्थानीय तहका राष्ट्रिय वन तथा निजी आवादीबाट संकलन गरिएको जडीबुटी विभिन्न बजारमा निकासी भएको हो ।
कार्यालयको तथ्यांकमा जडीबुटीको बिक्रीबाट २३ करोड ३६ लाख ८१ हजार ५०० रूपैयाँँ जिल्लामा भित्रिएको उल्लेख छ । जडीबुटीको कारोबारसँगै सरकारलाई प्राप्त हुने राजस्वमा समेत वृद्धि भएको छ । गत आर्थिक वर्षमा विभिन्न १३ प्रजातिका जडीबुटी निकासीबाट २३ लाख ३३ हजार ७०० रूपैयाँँ राजस्व संकलन भएको थियो ।
कार्यालयका सूचना अधिकारी ललितजंग खड्काले जिल्लाबाट टिमुर, रिठा, तेजपात, काउलोको बोक्रा, चुत्रो, गुजरगानो, अमला, घोडताप्रे, दालचिनीको बोक्रा, गुर्जो, कचुर, झ्याउ र कालिकाठको दानालगायत जडीबुटी निकासी भएको जानकारी दिए ।
उनका अनुसार जडीबुटी कारोबारमा टिमुरको हिस्सा सबैभन्दा ठूलो देखिएको छ । गत आर्थिक वर्षमा जिल्लाबाट ३ लाख २७ हजार २४५ किलो टिमुर निकासी भएको थियो । टिमुर निकासीबाट मात्रै १७ करोड ९९ लाख रूपैयाँँ जिल्लामा भित्रिएको सूचना अधिकारी खड्काले बताए । टिमुरबाट १० लाख १६ हजार रूपैयाँँ राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ । जिल्लाबाट निकासी हुने जडीबुटीमध्ये टिमुरको बजार मूल्य तथा माग उच्च रहेकाले यसको कारोबारले स्थानीय संकलकदेखि व्यापारीसम्मलाई प्रत्यक्ष आर्थिक लाभ पु¥याउँदै आएको छ ।
टिमुरको संकलन तथा निकासी विशेषगरी छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा बढी हुने गरेको कार्यालयले जनाएको छ ।टिमुरपछि रिठा र चुत्रो सल्यानका प्रमुख निकासीजन्य जडीबुटी हुन् । गत आर्थिक वर्षमा पाँच लाख ५४ हजार २३२ किलो रिठा निकासी हुँदा त्यसबाट दुुई करोड २१ लाख रूपैयाँँ जिल्लामा भित्रिएको छ । त्यस्तै आठ लाख ६२ हजार १७५ किलो चुत्रो निकासीबाट एक करोड ८९ लाख रूपैयाँँ जिल्लामा भित्रिएको कार्यालयले जनाएको छ । रिठाको संकलन तथा निकासी त्रिवेणी र छत्रेश्वरी गाउँपालिका तथा बागचौर नगरपालिकामा बढी हुने गरेको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा गुजरगानोबाट ७५ लाख ५४ हजार रूपैयाँँ, तेजपातबाट २४ लाख रूपैयाँँ, काउलोको बोक्राबाट २३ लाख ५० हजार रूपैयाँँ र अमलाबाट ५ लाख ४० हजार रूपैयाँँ जिल्लामा भित्रिएको छ । त्यस्तै, घोडताप्रेबाट एक लाख ८० हजार रूपैयाँँ, दालचिनीबाट ५१ हजार रूपैयाँँ, गुर्जोबाट ९० हजार रूपैयाँँ, कचुरबाट दुुई लाख रूपैयाँँ, झ्याउबाट १० लाख रूपैयाँँ र कालिकाठको दानाबाट चार लाख ५० हजार रूपैयाँँ आम्दानी भएको कार्यालयले जनाएको छ ।
चुत्रोको बोक्रा बनगाड कुपिण्डे नगरपालिका, कुमाख र दार्मा क्षेत्रमा बढी संकलन हुने गरेको छ । तेजपात भने कालिमाटी, त्रिवेणी र कपुरकोटलगायत क्षेत्रमा बढी पाइने तथा संकलन हुने गरेको कार्यालयको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा जिल्लाबाट १७ लाख ३९ हजार किलोभन्दा बढी जडीबुटी संकलन तथा निकासी भएको थियो । गत आर्थिक वर्षमा यो परिमाण बढेर २२ लाख ६८ हजार किलोभन्दा बढी पुगेको हो ।
यस हिसाबले एक वर्षमै जडीबुटी संकलन तथा निकासीको परिमाणमा करिब पाँच लाख २९ हजार किलोभन्दा बढी वृद्धि भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा जडीबुटीबाट १९ लाख ३९ हजार रूपैयाँँभन्दा बढी राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा राजस्व पनि बढेको कार्यालयले जनाएको छ । जिल्लाबाट ठूलो परिमाणमा कच्चा जडीबुटी बाहिरिँदा त्यसबाट आउने आम्दानीले स्थानीय अर्थतन्त्रमा योगदान गरे पनि यसको मूल्य अभिवृद्धिको ठूलो हिस्सा जिल्लाबाहिर जाने सम्भावना उत्तिकै छ ।
टिमुर, रिठा, चुत्रो, तेजपातलगायतका जडीबुटीको स्थानीयस्तरमै प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गर्न सके जिल्लाले अहिलेको भन्दा धेरै आर्थिक लाभ लिन सक्ने देखिन्छ । जडीबुटी संकलनमा संलग्न स्थानीय बासिन्दा, सामुदायिक वन, निजी जग्गाधनी, संकलक र व्यापारीबीचको मूल्य शृंखला व्यवस्थित गर्न सके यसको प्रत्यक्ष लाभ ग्रामीण तहसम्म पु¥याउन सकिने सम्भावना रहेको विज्ञहरू बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्