पाटेघरको ट्युमर’ भएकी सुशीलाले पाइन् पुर्नजीवन



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

चारजनाको सुन्दर परिवार । श्रीमान–श्रीमती र दुई छोरा । उनी घरमै छोरा हुर्काउँदै बस्थिन् । श्रीमान वैदेशिक रोजगारीका लागि लामो समयदेखि विदेशमा थिए । श्रीमान्को कमाईले परिवार ठिकठाक चलिरहेको थियो । छोराहरू राम्रै बोडिङ स्कुलमा पढ्थे । विदेशको कमाईले कोहलपुरमा चार कोठे घरसमेत बनाएका थिए । उनको परिवार राम्रोसँग चलिरहेको थियो । तर, सधँै सोचे जस्तो जीवन कहाँ हुँदो रहेछ । आजभन्दा साढे २ वर्ष अगाडि बाँकेको कोहलपुर–११ एकतानगरकी सुशीला सुनारको जीवनमा एकैपटक दुईवटा ब्रजपात आइलाग्यो ।

विदेशमा रहेका श्रीमान् र नेपालमा रहेकी श्रीमतीको स्वास्थ्यमा एकैपटक समस्या देखियो । कतारमा रहेका बुद्धिबहादुर सुनार स्वास्थ्य समस्याका कारण नेपाल फर्किन बाध्य भए । सुशीलापनि स्वास्थ्य समस्याका कारण थला परिन् । १७ वर्षदेखि कतारमा बसेर श्रीमती र दुई छोराको पालनपोषण गरिरहेका बुद्धिको रोजगारी खोसियो । प्यारालाइसिस भएपछि कम्पनीले उनलाई घर पठाइदियो ।

उनी भन्छन्, ‘चार वर्ष साउदी र १७ वर्ष कतारमा बिताए । मेरो स्वास्थ्यमा समस्या आएपछि कम्पनीले घर पठाइदियो । घर आउँदा श्रीमतीसमेत थला परिन् ।’ विगत दुई वर्षदेखि आफ्नो परिवार निकै समस्याबाट ग्रुजिरहेको उनको भनाइ छ । विदेशबाट फर्किन बित्तिकै उनी आफ्नो उपचारमा लागे । थेरापी लगायतको घरेलु उपचारपछि आफू हिड्डुल गर्न सक्ने भएको बताए । लगत्तै श्रीमतीको उपचारमा आफू लागेको बताए ।

सुरुमा सुशीलालाई सामान्य पेट दुख्ने समस्या देखिएको थियो । सामान्य समस्या होला भनेर आफूहरूले मेडिकलमा गएर औषधि खुवाएको बुद्धि बताउँछन् । औषधि सेवन गरेपछि केही समय पेट दुख्न छोड्ने र छोडेपछि दुख्ने समस्या बल्झिरह्यो । उनी भन्छन्, ‘धेरै समस्या भएपछि भिडिओे एक्सरे गराउँदा पाठेघरमा समस्या भएको भनियो । पाटेघरको उपचारमै केही समय बित्यो । धेरै ठाउँ जाँदा पैसापनि सकियो ।’ एकातिर आफू बिरामी, अर्कातिर श्रीमती बिरामी । कमाउने कुनै माध्यम नहुँदा उपचार र सन्तानको पढाइमासमेत समस्या आउन थाल्यो ।

उपचारकै क्रममा भेरी अस्पतालमा पुग्दा पाटेघरको ट्युमर भएको पत्ता लागेको उनले बताए । उनका अनुसार चिकित्सकले ट्युमरको अपे्रेसन गर्नुपर्ने बताए । तर, अप्रेसनको लागि डेढ वर्ष कुर्नुपर्ने भयो । श्रीमतीको स्वास्थ्य अवस्था बिग्रदै गएको र अप्रेसन गर्न लामो समय कुर्नुपर्ने भएपछि आफूले छोटो समयमै उपचार गर्ने बाटो रोजेको बुद्धिबहादुर बताउँछन् ।

‘पछिल्ला केही वर्ष जति त मैले कहिले पनि तनाव व्यहोर्न परेन । निकै दुःख पाए । छोराहरूको बिचल्ली भयो । श्रीमतीको उपचार गर्न कहाँ कहाँ पुगिन् । मैले त आशै मारिसकेको थिए सर,’ उनी भन्छन् ।

वडा कार्यालयमा पुगेपछि पलायो आशा

बुद्धिबहादुर धेरै ठाउँ पुगे । धेरै अस्पताल धाए । धेरै मान्छे गुहारे । तर कतैबाट पनि उनले आफू दुःखमा पर्दा साथ पाएनन् । गत असार महिनाको कुरा हो । एक दिन उनले आफ्नो समस्या सुनाउन वडा कार्यालय जाने निधो गरे । घरको आर्थिक अवस्थापनि नाजुक भइसकेको र श्रीमतीलाई जसरीपनि बचाउन के गर्न सकिन्छ भनेर आफू वडा कार्यालय पुगेको उनको भनाइ छ ।

बिरामी श्रीमतीसहित कोहलपुर नगरपालिका वडा नम्बर ११ को कार्यालयमा पुगेर आफ्नो समस्या सुनाए । वडाध्यक्ष कल्पना शर्माले उनीहरूको समस्या सुनिन् । सुशीलाको उपचारको लागि आफूले सक्दो सहयोग गर्ने आस्वासन वडाध्यक्ष शर्माले बुद्धिबहादुर परिवारलाई दिइन् । सुरुमा वडाध्यक्ष शर्माले आफूलाई खजुरा क्यान्सर अस्पतालमा जान सुझाव दिएको उनले बताए ।

सोही अनुसार आफू त्यहाँ पुग्दा तत्काल उपचार सम्भव नभएको बताएको उनको भनाइ छ । खजुरा क्यान्सर अस्पतालले सम्भव हुँदैन भनेपछि आफू निकै डराएको उनले बताए । फेरि, वडाध्यक्ष शर्मालाई भेटेर आफ्नो दुःख सुनाए । उनले कोहलपुरमै राम्रो अस्पताल रहेको र त्यहाँपनि कुरा गरिदिने वाचा गरिन् ।
वडाध्यक्ष शर्मा, सुशीला र बुद्धिबहादुर वडा कार्यालयमा आउँदा उनको स्वास्थ्य अवस्था नाजुक रहेको बताउँछिन् ।

उनका अनुसार उनीहरूको आर्थिक अवस्थासमेत नाजुक भएको देखेपछि आफूले कोहलपुर ११ स्थित एच एण्ड एच हस्पिटलसँग उपचारको लागि समन्वय गरिदिएको बताइन् । उनले भनिन्, ‘असारमा उहाँहरू वडा कार्यालय आउनु भएको थियो । वडामा आउँदा एकदमै समस्यामा हुनुहुन्थ्यो । सुशीला जीको त शरिर एकदमै फुलेको थियो ।’

सुशीलाको नाजुक अवस्था देखेपछि आफूले नगर अस्पतालबाट केही उपचार गर्न सकिन्छ की भनेर नगर अस्पतालका प्रमुखसँग कुराकानीपनि गरेको वडाध्यक्ष शर्माको भनाइ छ । स्वास्थ्य प्रमुखसँगको समन्वयमा खजुरामा जाँदा आर्थिक तथा अन्य समस्याका कारण उपचार सम्भव नहुँदा फेरि वडा कार्यालयमा आएकोसमेत उनले बताइन् । त्यतिबेलाको अवस्था सम्झदै उनी भन्छिन्, ‘मैले उहाँहरूलाई नआत्तिन भनेको थिए । कतै न कतै म केही जोहो गर्छु भनेको थिए । सोही अनुसार लामो प्रयासपछि निःशुल्क अप्रेसन भएको छ ।’

उनले एच एण्ड एच अस्पतालकी सञ्चालन डाक्टर दुर्गा रावतसँग बिरामीको अवस्थाको विषयमा सल्लाह गरेर सफल अप्रेसन भएको पनि उनले जानकारी गराइन् । यता, केहीदिन अघि पाटेघरको ट्युमरको सफल अप्रेसन सफल भएपछि बुद्धिबहादुर खुसी हुँदै आफ्नो श्रीमतीले पुर्नजीवन पाएको बताएका छन् । उनका अनुसार आफ्नो जीवनमा वडाध्यक्ष शर्मा र डाक्टर दुर्गा रावत भगवान बनेर आएको बताउँछन् । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने, ‘आज एकदमै खुसी छ । श्रीमतीको उपचार भएको छ । अध्यक्ष ज्यूको पहलमा मेरो श्रीमतीको अस्पताले निःशुल्क उपचार गराइदिएको छ ।’

एच एण्ड एच अस्पतालकी सञ्चालक दुर्गा रावतले सुशीला सुनार अस्पताल आउँदा ट्युमरका कारण दैनिक कामकाजमा समेत निकै समस्या भएकाले तत्काल अप्रेसन गर्नुपर्ने अवस्था रहेको बताइन् । आर्थिक अभावका कारणले उहाँले अप्रेसन गर्न नसकेको भन्ने थाहा पाएपछि अस्पतालले उनको निःशुल्क उपचार गराएको उनले बताइन् ।
‘मलाईँ वडाध्यक्ष ज्यूले भन्नु भएको थियो । मैले बिरामी भेट्न भनेको थिए । तर उहाँ आउँदा तत्काल अप्रेसन गर्नुपर्ने अवस्था थियो । त्यसैले हामीले तत्कालै अप्रेसन ग¥र्यौ । बिरामीको आर्थिक अवस्था कमजोर भएका कारण अस्पताल बस्दा र अप्रेसन चार्ज कुनैपनि लिएका छैनौँ ,’ उनले भनिन् । अहिले सुशीला अप्रेसन पश्चात डिस्चार्ज भइसकेकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २६ गते मंगलबार