महाकाली पुल योजना सुर्खेत सारिँदै



कञ्चनपुर ।

सुदूरपश्चिम प्रदेशको एक मात्रै महाकाली पुल योजना कार्यालय कर्णाली प्रदेशको सुर्खेत सारिदै छ । दशक अघि कञ्चनपुरको महेन्द्रनगरमा स्थापना भएको महाकाली पुल योजना कार्यालय पुल सेक्टर सुर्खेतको वीरेन्द्रनगर सारिन लागेको हो । संघीय सरकार मातहत रहेको पूर्वाधार विकास मन्त्रालय सडक विभागले चालु आर्थिक वर्ष २०८३–०८४ देखि महाकाली पुल योजना कार्यालयलाई पुल सेक्टर सुर्खेतमा सार्न गरेको छ ।

२१ साउन २०८३ मा सडक विभाग पुल महाशाखा चाकुपाट ललितपुरले सबै सडक डिभिजन, योजना, आयोजना कार्यालयलाई पत्राचार गरेर देशभरका पुल सडक डिभिजन र सेक्टर कार्यालयमा समायोजन गरेकाले सोही अनुरुप ठेक्का प्रक्रियादेखिका कामकाज गर्न गराउन निर्देशन जारी गरेको छ । सडक विभागले यस अघि महाकाली पुल आयोजना ६ नम्बर कार्यालयले कञ्चनपुर स्थित चारलेन महाकाली पुलसहित सुदूरपश्चिम प्रदेशका १० पुल निर्माण, दर्जनौँ पुल मर्मत सम्भार गर्दै आएको छ ।

सुदूरपश्चिम प्रदेशका विशेष गरेर पुल निर्माणको मात्रै कामकाज हेर्ने उक्त महाकाली पुल आयोजना ६ नम्बर कार्यालयलाई सुर्खेत पुल सेक्टरमा गाभ्ने तयारीले सुदूरपश्चिम अब विशेष गरेर पुल कार्यालय शुन्य प्रदेश हुन लागेको छ । हुनत सडक डिभिजन कार्यालयले पुल र सडक कार्यालय दुई जिम्मेवारी हेर्दै आएपनि विशेष गरेर पुलको मात्रै काम महाकाली पुल आयोजना तथा ६ नम्बर कार्यालय महेन्द्रनगरले हेर्दै आएको छ ।

१७ फागुन ०७३ कञ्चनपुरको महेन्द्रनगरमा स्थापना भएको उक्त कार्यालय १० वर्षमै अस्थित्व समाप्त पार्ने गरेर समायोजन हुन लागेपछि यहाँका जनता चिन्तित भएका छन् । मुख्य गरेर महाकाली नदी पारीको नेपाल भनेर चिनिने (दोधाराचाँदनी)को भुगोललाई सिधैँ नेपालसँग जोड्ने उद्देश्यका साथ महाकाली नदीमा चारलेन पक्की पुल निर्माणको जिम्मा पाएको कार्यालय नै सारिने भएपछि अन्यौलता मात्रै होईन अधुरै रहेको पुल निर्माण कार्य थप अलपत्र हुने नागरिक स्तरमा चिन्ता प्रकट भएको छ ।

हालसम्म महाकाली चारलेन पुलको ९५ प्रतिशत भौतिक र ९२.४५ प्रतिशत वित्तिय प्रगति भएको पुल निर्माण कम्पनी कुमार सिएफआईसीले पुल हस्तान्तरण समेत नगरेकै अवस्थामा कार्यालय नै कोल्याल्पस पार्ने काम भइरहेको छ ।महाकाली पुल योजना कार्यालयको त्थ्यांकका अनुसार चारलेन पुल सहित कैलालीको मोहना, शान्तिनगर, सुनिखोला, गेटा, मनहारा, बाजुराको कर्णाली, गडखेट बाउलीखेला, दोदाका साथै कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म महेन्द्र र उत्तर महाकाली राजमार्गका पुल मर्मत कार्य क्षेत्रमा रहेर मर्मत गर्दै आएको छ ।

जिल्लाका अन्य पुलहरूलाई समेत कैलाली र कञ्चनपुर सडक डिभिजन कार्यालयमा राखिएका छन । महाकाली पुल निर्माणको काम पुरा नहुँदै कार्यालय नै अन्यन्त्र सार्ने गाभ्ने भएपछि स्थानीय सहितका यस क्षेत्रका जनप्रतिनिधीहरूले खबरदारी गरेका छन । स्थानीय राजेन्द्र बहादुर चन्दले सुदूरपश्चिम प्रदेशको एक मात्र पुल आयोजना कार्यालयलाई सडक डिभिजन, कैलाली वा अन्य जिल्ला गाभ्ने कार्य विकास विरोधी भएको बताए । उनले महाकाली चारलेनको पुलसहितका अन्य प्रदेशका पुलको काम नसकिदै सारिने कार्य गरे आन्दोलनको चेतावनी दिएका छन् ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले यस क्षेत्रबाट पुल आयोजना कार्यालय खारेजी वा गाभ्ने कार्यबाट प्रदेशकै विकास निर्माणमा प्रभाव पर्ने बताए । उनले पुल कार्यालयलाई सुप प्रदेशमा शुन्य पारेर कर्णाली प्रदेश वा अन्य जिल्लामा सारेपछि पछि दैनिक कामकाजमा समेत प्रभाव, अव्यवहारिक हुने बताए । ‘यो पुल आयोजना सार्ने काम यदी भएको भए यस क्षेत्रका संसद सासद ज्यूले पनि ध्यान दिनुपर्छ, ‘उनले भने, ‘साच्चिकै सार्ने काम भएको भए सासद ज्यूले पनि ससदबाट खबरदारी गर्नुपर्छ ।’

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिह महताले मन्त्रालय वा सडक विभागबाट महाकाली पुल आयोजना कार्यालय गाभ्ने वा सार्ने विषयमा आफुले अध्ययन गरेर अघि बढ्ने बताए । सुर्खेतमा कार्यालय भएर त्यहाँदेखि महेन्द्रनगर मात्रै झण्डै ३ सय किलोमिटर दुरी अन्य पहाडी जिल्ला थप टाढाको दुरीमा भएकाले समेत अनुगमन, देखदेख, प्रत्यक्ष कामकाजदेखिका दैनिक कार्य सम्पादनमा समेत चुनौती थपिने भएकाले यस्ता अव्यवहारिक कामकाज नगर्न समेत स्थानीयले अनुरोध गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २६ गते मंगलबार