राजनीतिको चौथो घुम्तीमा धवलशमशेर



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको राजनीतिका एक अग्रणी नेता डा. धवलशमशेर राणा यतिखेर आफ्नो जीवनको निकै संवेदनशील समयमा छन् । उमेरले ६४ वर्ष पुगेका र क्यान्सरबाट भर्खरै उन्मुक्ति पाएका डा. राणा यहीबेला आफ्नो राजनीतिक जीवनको चौथो तथा सर्वाधिक चुनौतिपूर्ण घुम्तीमा रहेका छन् । उनले आफू महामन्त्री रहेको र प्रतिक्षित अध्यक्षको रूपमा रहेका पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर नयाँ दल गठन गर्ने अभियान चलाइरहेका छन् ।

उक्त दलको सभापति आफैँलाई घोषित गरेर राणाले पूर्वकम्युनिष्ट हुँदै अहिले राजा र हिन्दु राष्ट्र स्थापनासमेत विविध माग राखेर अभियान चलाइरहेका विवादित पृष्ठभूमिका दुर्गा प्रसाईको साथमा उक्त दल स्थापना गर्ने भनेर अभियानमा छन् । दलको नाम उनले जयनेपाल पार्टी राख्ने उद्द्योष गरेका छन् भने मुख्य एजेण्डा हिन्दु राष्ट्र तथा राजसंस्था र आर्थिक समृद्धि हुने बताइरहेका छन् । धवलको अहिलेसम्मको राजनीतिक यात्रा अस्थिरतापूर्ण रहेको छ ।

राप्रपाबाट राजनीति सुरु गरेका उनले राप्रपासँगै रुष्ट भएर पहिलोपटक संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि उनी स्थानीय तहको मेयर बन्न एमालेमा प्रवेश गरे भने पछि पुनः राप्रपामै फर्किए । आफ्नो विचारधारासँग नमिल्ने संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो स्थानीय सरकारको निर्वाचनमा उनी उम्मेदवार बनेर सरकार प्रमुख बनेर स्थानीय सरकार नै चलाए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा आफ्नो विचारधारा नमिल्ने उही एमालेकै साथ लिएर संसद्सम्मको यात्रा तय गरे ।

अहिले उनले राजसंस्था र हिन्दु राष्ट्रकै एजेण्डामा राजनीति गरिरहेको आफ्नो प्रिय पार्टी राप्रपालाई अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति विमत्ति जनाएर उक्त पार्टीकै विकल्पको रूपमा अर्काे पार्टी बनाउन कस्सिएर लागेका छन् । आफ्नो राजनीतिक आबद्धतामा आएको अस्थिरतालाई उनले सधैँ परिस्थितिको उपज भन्दै टार्दै आएका छन् भने अहिले नयाँ दल खोल्ने अभियानलाई पनि परिस्थितिको आवश्यकता भनेका छन् । भारतबाट राजनीतिशास्त्रमा डिग्री र अमेरिकाबाट नगर व्यवस्थापनमा पीएचडी गरेका प्राज्ञिक राजनीतिज्ञ डा. राणाको जीवनको अहिलेको चौथो घुम्तिलाई चासोका साथ हेरिएको छ ।

पहिलो घुम्ती ः प्रजातन्त्रको पुनस्थापनाको बेला समातेको अवसर

पञ्चायत ढलेपछि राजा र दरबारको छत्रछायाँमा स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट धवलशमशेरले २०४९ सालमा राजनीतिक पाइला चालेका थिए । प्रजातन्त्र पुनस्थापनाको नेतृत्व गरेको बाँकेका तीनवटै क्षेत्रमा जितेको नेपाली काँग्रेसको जगजगी रहेका बेला राप्रपाको युवा संघको नेतृत्व गरेका उनले राप्रपालाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

तर, २०५१ को आम चुनावमा उनलाई राप्रपाले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर संसदीय प्रतिस्पर्धामा उत्रिए । तर, त्यतिबेला बाँकेका तीनवटै क्षेत्रमा राप्रपाका उम्मेदवारले जित्नेगरी चलेको लहरसामु राणाले जित्ने कुरै थिएन । तीव्र महत्वाकांक्षा बोकेका राणाले शक्तिको छाता खोजिरहेका बेला २०५२ सालमा उनी नेकपा एमाले प्रवेश गरे । एमाले प्रवेशको दुई वर्षमै २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा उनी नेपालगन्ज नगरपालिकाको मेयर निर्वाचित भए । त्यसपछि उनको पालामा भएका केही परिणाम देखिने कामले उनी नेपालगन्जको राजनीतिको स्थापित अनुहार बने ।

दोस्रो घुम्तीः ‘पुरानो घर’ पुनरागमन र संविधानसभाको धक्का

माओवादी द्वन्द्व र राजनीतिक अस्थिरताका बीच धवलको वैचारिक मोह मोडियो । आफूले ‘आदर्श’ मान्ने राजसंस्था ढल्नुअघि नै उनी एमाले छाडेर पुरानै घर राप्रपा फर्किए । २०६३ को राजनीतिक परिवर्तनपछि राप्रपाको जिम्मेवार पदमा पुगेका उनको मुख्य ध्येय संसद् छिर्नु नै थियो । तर, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएपछि उनको संसदीय यात्रामा पुनः विराम लाग्यो ।

तेस्रो घुम्ती ः उपमहानगरमा पुनरागमन र राजनीतिमा पुनरोदय

संसदीय चुनावमा धक्का लागे पनि स्थानीय राजनीतिमा उनको पकड कायमै थियो । २० वर्षपछि २०७४ मा भएको स्थानीय चुनावमा उनी काँग्रेसको साथ लिएर राप्रपाबाटै पुनः नेपालगन्ज उपमहानगरको मेयर चुनिए र पार्टीको केन्द्रीय महामन्त्री पनि बने । तर, २०५१ सालमा पहिलोपटक चुनाव लडेका उनलाई संसद् भवन छिर्न झण्डै तीन दशक कुर्नुप¥यो । अन्ततः २०७९ को आम निर्वाचनमा पुनः उनी फरक आदर्श र फरक गन्तव्य भएको एमालेसँग सहकार्य गर्न पुगे । एमालेको साथ लिएर राप्रपाको ‘हलो’ चिन्हबाट तेस्रो प्रयासमा २८ वर्षपछि प्रतिनिधिसभा सदस्य (सांसद) बन्ने सफलता पाए ।

चौथो घुम्ती ः राप्रपासँगको सम्वन्धविच्छेद र नयाँ दलको परीक्षा

गणतान्त्रिक संसद्मा पुगेपछि पनि उनको राजनीतिक असन्तुष्टि र यात्रा रोकिएन । उनले पार्टीभित्र अध्यक्ष राजेन्द्र लिङ्देनसँग कार्यशैलीगत प्रश्नहरू गरिरहे । विशेषगरी राजसंस्था र हिन्दु राष्ट्रको आन्दोलन आक्रामक बनाएर लैजानुपर्ने उनको जोडमा लिङ्देनले साथ दिएनन् । उनी कम्युनिस्ट पार्टीबाट सिधा राजावादी कित्तामा आइपुगेका दुर्गा प्रसाईंको पछि लागेर आन्दोलनमा साथ दिन पुगे ।

अध्यक्ष लिङ्देनसँग कार्यशैलीगत विमत्ति भएपछि उनले अन्ततः राप्रपाको महामन्त्री पद र पार्टी नै त्यागेर उनले पुनः नयाँ राजनीतिक अभियान सुरु गरेका छन् । अभियन्ता दुर्गा प्रसाईंसँग मिलेर ‘जय नेपाल पार्टी’ गठनको अन्तिम तयारीमा जुटेका उनी स्वयं सभापति र प्रसाईं सर्वोच्च नेता रहने तय गरिएको छ । सनातन हिन्दु अधिराज्य, राजसंस्था, प्रजातन्त्र, आर्थिक उन्नति अनि लघुवित्त, सहकारीपीडित र सुकुम्वासीका मुद्दालाई मुख्य एजेन्डा बनाउने दाबी गरेर धवलशमशेर फेरि अर्को कठिन तर महत्वाकांक्षी राजनीतिक अभियानको घुम्तीमा मोडिएका छन् ।

‘मेरो राजनीतिक जीवनको जोखिम र अवसर दुवै हो’

डा. धवलशमशेर राणा अहिले उनले सुरु गरेको नयाँ अभियान आफ्नो राजनीतिक जीवनको लागि चुनौती र अवसर दुवै भएको बताए । मिसन टुडेसँग कुरा गर्दै डा. राणाले आफूले देशको भलोका लागि जोखिम उठाउन तयार रहेको पनि बताए । उनले भने, ‘राजनीति आफैँमा जोखिमपूर्ण क्षेत्र हो । मैले अहिले जुन अभियान चलाइरहेको छु । यो पनि जोखिमरहित छैन । तर म केमा ढुक्क छु भने अहिले मैले उठाएको अभियानले देशको भलो गर्छ । म यसका लागि जस्तोसुकै जोखिम उठाउन पनि तयार छु ।’

डा. राणाले आफूले सुरु गरेको अभियानमा सुरुवाती रूपमा पाएको साथले आफूलाई उत्साहित बनाएको बताए । अहिले आफू दल गठनका लागि घनीभूत छलफलमा रहेको र छलफलका क्रममा नागरिकहरू जोडिने क्रम तीव्र रहेको बताए । ‘हामीले छलफलका क्रममा पार्टीको नाम जय नेपाल पार्टी र हामीले अघि सारेको एजेण्डाबाट आर्षित भएर धेरै मानिसहरू जोडिँदै हुनुहुन्छ । आगामी स्थानीय तहको निर्वाचनका लागि म फलानो ठाउँबाट उम्मेदवार हुन्छुसमेत भनेर आउनेहरूसमेत छन् । मलाई विश्वास, हाम्रो पार्टीले जनताको ऐतिहासिक साथ पाउनेछ,’ उनले भने ।

डा. राणाले राजसंस्था र हिन्दु राष्ट्र पक्षमा जनमत बढिरहेको र उक्त जनमतको प्रतिनिधित्व अब जय नेपाल पार्टीले गर्ने पनि दाबी गरे । आफ्नो गृहजिल्ला बाँकेमा राप्रपा परित्याग गरेका नेता कार्यकर्ताहरू पनि जय नेपाल पार्टीमै समाहित हुने पक्का भइसकेको उनले जानकारी दिए । उनले भने, ‘बाँकेवासीबाट मैले सधैँ माया र साथ पाएको छु । यो देशको भलोका लागि चालिएको नयाँ अभियानमा पनि उत्तिकै साथ पाउने विश्वास लिएको छु ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २६ गते मंगलबार