जुम्ला ।
सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण घट्दै गइरहेका बेला कर्णाली प्रदेश सरकारले पनि विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधारमा लगानी बढाएको छ । विद्यालय भवनदेखि घेराबार, पर्खाल र खेलमैदान निर्माणसम्मका पूर्वाधारलाई प्राथमिकता दिँदै प्रदेश सरकारले सामुदायिक विद्यालयको आधारभूत संरचना सुधार गर्ने कार्यक्रम अघि बढाएको हो । यसैक्रममा सामाजिक विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा जिल्लाका आठ स्थानीय तहअन्तर्गतका २३ सामुदायिक विद्यालयमा शैक्षिक तथा खेल पूर्वाधार निर्माण गर्ने भएको छ । ती विद्यालयमा मात्रै झण्डै चार करोड ८० लाख रूपैयाँँ लगानी हुने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार विद्यालयको आवश्यकता र स्थानीय तहबाट माग भई आएका योजनालाई प्राथमिकताका आधारमा छनोट गरी पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको हो । छनोट भएका विद्यालयमा पक्की भवन, घेराबार, पर्खाल तथा खेलमैदान निर्माण गरिनेछ । सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाका अनुसार चालु आर्थिक वर्ष २०८३–०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत २३ वटा विद्यालयका योजनालाई कार्यान्वयनमा लैजान विद्यालयहरूलाई सम्झौताका लागि अनुरोध गरिएको छ ।
२३ विद्यालयमध्ये २० वटा विद्यालयमा प्रतिविद्यालय २० लाख रूपैयाँँ लागतका पूर्वाधार निर्माण हुने उनले बताए । यस्ता योजनामा विद्यालयको आवश्यकता र उपलब्ध स्थानअनुसार भवन, घेराबार, पर्खाल तथा खेलमैदान निर्माण गरिने उनको भनाइ छ । बाँकी तीन विद्यालयका लागि फरक लागतका योजना स्वीकृत भएका छन् । तीमध्ये एउटा विद्यालयका लागि ३० लाख रूपैयाँँ र दुई विद्यालयका लागि २५÷२५ लाख रूपैयाँँका योजना रहेका छन् ।
यसरी उपभोक्ता समितिमार्फत मात्रै जिल्लाका २३ विद्यालयमा करिब चार करोड ८० लाख रूपैयाँँ बराबरका पूर्वाधार निर्माण हुने कार्यालयको भनाइ छ । तर विद्यालय पूर्वाधारमा हुने लगानी यतिमै सीमित छैन ।सामाजिक विकास कार्यालयका अनुसार चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत करिब चार करोड ८० लाख र ठेक्कामार्फत करिब ६ करोड रूपैयाँँ बराबरका शैक्षिक पूर्वाधार निर्माण गर्ने लक्ष्य छ । यसअनुसार जिल्लाभर करिब ११ करोड रूपैयाँँ बराबरको भौतिक पूर्वाधार निर्माण हुने भएको हो ।
साथै मन्त्रालयले कर्णाली प्रदेशका विभिन्न जिल्लामा शिक्षा क्षेत्रको विकासका लागि शैक्षिक पूर्वाधार निर्माणलाई समेत प्राथमिकता दिँदै आएको छ । जिल्लास्तरमा सामाजिक विकास कार्यालयमार्फत सामुदायिक विद्यालयको भौतिक संरचना सुधारका योजना कार्यान्वयन भइरहेका छन् । विद्यालय भवन जीर्ण हुनु, पर्याप्त खेलमैदान नहुनु, घेराबारको अभाव तथा विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित सिकाइ वातावरण नहुनुजस्ता समस्यालाई सम्बोधन गर्न यस्ता योजनाले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जुम्लामा पनि स्थानीय तह र विद्यालयबाट आएका मागलाई आधार बनाएर योजनाको प्राथमिकता निर्धारण गरिएको कार्यालयले जनाएको छ । योजना छनोटअघि फिल्डमै पुगेर स्थलगत सर्वेक्षण गरिएको र सम्बन्धित स्थानीय तहसँग समन्वय गरिएको प्रमुख बुढाको भनाइ छ । कार्यालयले साउनमै सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको उनले जानकारी दिए ।
‘चालु आर्थिक वर्षभित्रै भौतिक विकासका काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पूर्वाधार निर्माणसँगै शिक्षण सिकाइ, शिक्षकको दक्षता र विद्यार्थीको प्रतिभा विकासमा समेत लगानी आवश्यक छ’ उनले भने, ‘भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । भने सुविधायुक्त शैक्षिक संरचना निर्माणसँगै शैक्षिक बहस, प्रतिभा पहिचान र शिक्षकको पेशागत दक्षता अभिवृद्धिका कार्यक्रमलाई समेत अघि बढाइएको छ ।’
विद्यालयमा हुने करिब ११ करोड रूपैयाँँको पूर्वाधार लगानीले तत्काल भौतिक संरचना थप्ने भए पनि यसको वास्तविक उपलब्धि भने ती संरचनाले विद्यार्थीको सिकाइ वातावरण, विद्यालयको आकर्षण र शैक्षिक गुणस्तरमा कति सुधार ल्याउँछन् भन्नेमा निर्भर हुनेछ । त्यसैले निर्माणसँगै संरचनाको दिगो व्यवस्थापन र प्रभावकारी उपयोगलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्