धनगढी ।
सुदूरपश्चिममा १ हजार ४७३ सवारी दुर्घटना हुँदा २०५ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८२–०८३ मा प्रदेशका नौ वटै जिल्लामा भएका सवारी दुर्घटनामा २०५ जनाको मृत्यु भएको हो । दुर्घटना परी मृत्यु हुनेमा १६४ पुरुष र ४१ महिला रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा १ हजार ३८१ जना गम्भीर घाइते भएका तथा १ हजार १६२ जना सामान्य घाइते भएका भने सो दुर्घटनामा २०५ वटा सवारी साधान संलग्न रहेका छन् । सो एक वर्षको अवधिमा मोटरसाइकल दुर्घटनाबाट ८५ जना,तीन पाङ्ग्रे सवारी दुर्घटनाबाट १६ जना,चार पाङ्ग्रे निजी सवारी साधन दुर्घटनाबाट ५० जना,सावर्जनिक सवारी साधन दुर्घटनाबाट ५० जना र अन्य सवारी साधन दुर्घटनाबाट ४ जनाको मृत्यु भएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।
सबैभन्दा बढी दुर्घटना चालकका कारणले भएको जानकारी दिँदै उनले यान्त्रिक कारण, यात्रुका कारण, सडक तथा चौपायाका कारण दुर्घटना भएका जानकारी दिए ।गत आर्थिक वर्षमा लागुऔषध सेवन गरी सवारी चलाउने ५५ जना चालकलाई कारबाही गरिएको जानकारी दिँदै लागुऔषध सेवन गरी सवारी चलाउने २० जनाको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय पठाइएको उनले जानकारी दिए ।
बारका आधारका शुक्रबार र शनिबार बढी दुर्घटना हुने गरेको उनले जानकारी दिए । उनका अनुसार गत आवमा भएका दुर्घटनामा शुक्रबार २३१ र शनिबार २७२ वटा सवारी दुर्घटना भएका छन् । तीन वर्षको सवारी दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष दुर्घटनामा वृद्धि भएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । आर्थिक वर्ष २०८०–०८१ मा प्रदेशभरी ३०९ वटा सवारी दुर्घटना भएकामा आर्थिक वर्ष २०८१–०८२ मा १ हजार २०३ र गत आर्थिक वर्ष २०८२–०८३ मा १ हजार ४ सय ७३ वटा सवारी दुर्घटना भएका छन् ।
चालु आर्थिक वर्ष २०८३–०८४ को साउन महिनाको २४ गतेसम्ममा प्रदेशभरी १५९ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको, ७९ जना गम्भीर घाइते भएका, १७१ जना सामान्य घाइते भएका तथा २३२ वटा सवारी साधन दुर्घटनामा संलग्न रहेका प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । सडक विस्तार, सवारी साधनको बढ्दो चाप, ट्राफिक संकेत, ट्राफिक बत्तीजस्ता पूर्वाधारको विकास गर्न नसकिँदा परम्परागत रूपमैै ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यताका कारण ट्राफिक व्यवस्थापनमा चुनौती रहेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्