भोक र रोगसँग लड्दै देवहरिया गौशालाका चौपाया



शेरबहादुर ऐर। कैलाली ।

सडकमा छाडा छोडिएका गाई नियन्त्रण गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–७ देवहरियामा सञ्चालन गरिएको गौशाला अहिले आफैँ व्यवस्थापनको संकटमा परेको छ । गौशाला स्थापना हुँदा करिब दुई सय गाई थिए । अहिले त्यहाँ गाईको सङ्ख्या बढेर चार सयभन्दा बढी पुगेको छ । तर, गाईको सङ्ख्या बढ्दै जाँदा त्यसको अनुपातमा हेरालु, चारा, चरिचरण र पशु स्वास्थ्य सेवाको व्यवस्थापन हुन नसकेको हेरालुहरूले बताएका छन् ।

गौशाला सञ्चालनको सुरुवाती समयमा आठ जना हेरालु थिए । अहिले हेरालुको सङ्ख्या घटेर पाँच जनामा सीमित भएको छ । अर्थात् गाईको सङ्ख्या दोब्बरभन्दा बढी हुँदा हेरालुको सङ्ख्या भने घटेको छ । यसको प्रत्यक्ष असर गौशालामा रहेका गाईको हेरचाहमा परेको हेरालु राममिलन रानाको भनाइ छ । ‘गौशालाको व्यवस्थापन गर्न नसकेका कारण त्यहाँ रहेका गाईहरू मर्न थालेका छन्,’ राना भन्छन्, ‘न त पराल, घाँसलगायतको व्यवस्था गरिएको छ, न पशु चिकित्सकको व्यवस्था छ । गाई बिरामी पर्दा उपचारसमेत हुँदैन ।’

रानाका अनुसार गाई मरेपछि गौशालाको पछाडिपट्टि खाल्डो खनेर गाड्ने गरिएको छ । चार सयभन्दा बढी गाईको हेरचाहका लागि पाँच जना हेरालु मात्र हुँदा दैनिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । गाईलाई समयमै खाना र पानी खुवाउने, गोठ सफा गर्ने, बिरामी तथा कमजोर गाई पहिचान गर्ने, घाइते पशुको हेरचाह गर्ने र चरिचरणमा लैजाने जिम्मेवारी हेरालुमाथि छ । तर, सीमित जनशक्तिका कारण सबै गाईलाई आवश्यक रूपमा चराउन लैजान नसकिएको रानाको भनाइ छ ।

‘गाई थपिएको थपियै छन् । तर हेरालु थपिएका छैनन्,’ उनी भन्छन्, ‘चरिचरणको पनि समस्या छ । हेरालु कम भएकाले सबै गाईलाई चराउन लैजान सकिँदैन ।’ उनका अनुसार पर्याप्त घाँस तथा पराल नहुँदा कतिपय गाईले पेटभरि खान पाउने अवस्था छैन । लामो समयसम्म पर्याप्त आहार नपाउँदा गाई कमजोर हुँदै जाने र कमजोर गाई रोगको जोखिममा पर्ने गरेको उनले बताए ।

गौशालाको उद्देश्य सडकमा अलपत्र वा छाडा अवस्थामा रहेका चौपायालाई सुरक्षित स्थानमा राख्नु हो । तर, गौशालामै पर्याप्त खाना, पानी र उपचारको व्यवस्था नहुँदा संरक्षणका लागि ल्याइएका पशु नै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ । गौशालाको अर्को गम्भीर समस्या पशु स्वास्थ्य सेवा रहेको हेरालुहरूको भनाइ छ । गाई बिरामी परेपछि तत्काल पशु स्वास्थ्यकर्मी वा चिकित्सकको पहुँच नहुँदा उपचारमा समस्या हुने गरेको उनीहरू बताउँछन् ।

पशु बिरामी भएको समयमै पहिचान र उपचार हुन नसके सामान्य समस्या पनि गम्भीर बन्न सक्छ । विशेषगरी वृद्ध, कमजोर, घाइते र लामो समयदेखि बिरामी गाईका लागि नियमित स्वास्थ्य परीक्षण आवश्यक हुन्छ । गौशालामा मृत्यु भएका गाईलाई खाल्डो खनेर गाड्ने गरिएको भनाइ आएपछि मृत पशुको व्यवस्थापनसमेत प्रश्नमा परेको छ । पशु मृत्युको कारण पहिचान, अभिलेखीकरण र सुरक्षित व्यवस्थापनको प्रक्रिया स्पष्ट हुनुपर्ने पशु स्वास्थ्य विज्ञहरूको मान्यता छ ।

धनगढी उपमहानगरपालिकाले विगतमा देवहरिया गौशालामा छाडा चौपाया व्यवस्थापनका लागि हेरालु तथा पशु स्वास्थ्य प्राविधिकको व्यवस्था गरिएको उल्लेख गरेको छ । नगरपालिकाले हरेक वर्ष गौशाला सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरेको दाबी गरिरहेको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२–०८३ मा ‘देवरिया, बेहडाबा र फूलवारीमा रहेका तीन वटा गौशालाका पशु चौपायाका लागि तीन हजार दुई २५ किलोग्राम युरिया मोलासेस ब्लक, बेहडाबा र फूलबारीमा दुई वटा गोबरबाट मल बनाउने मेशिन, इलेक्ट्रिकल च्याफ कटर मेशिन, दुई वटा सामान बोक्ने ठेला, पराललाई डल्लो बनाउने मेशिन वितरण गरिएको थियो ।

बेहडाबाबास्थित गौशालामा दुई सय र फूलबारीस्थित गौशालामा चारसय गाईबस्तुको लागि गोठ, गोदाम घर, स्टोर रुम, गड्यौला मल उत्पादन गर्न आवश्यक पर्ने संरचना निर्माण गरिएको थियो ।’ तर, अहिले गौशालामा काम गरिरहेका हेरालुको भनाइ त्यससँग मेल खाँदैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई कृषि तथा पशुपालन, पशु स्वास्थ्य, पशु चिकित्सा सेवा तथा स्थानीय चरण क्षेत्रको व्यवस्थापनसम्बन्धी अधिकार र जिम्मेवारी दिएको छ । स्थानीय तहले पशुपक्षी विकास तथा पशु स्वास्थ्यसम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड तथा योजना बनाएर कार्यान्वयन र अनुगमन गर्न सक्छ ।

स्थानीय चरण तथा खर्कको विकास र व्यवस्थापन पनि स्थानीय तहको कार्यक्षेत्रभित्र पर्छ । गौशालामा गाई राख्नु मात्र स्थानीय सरकारको जिम्मेवारी पूरा भएको मानिँदैन । त्यहाँ रहेका पशुको स्वास्थ्य, आहार, पानी, आश्रय, चरिचरण र उचित हेरचाहको व्यवस्थापनसमेत स्थानीय सरकारको जिम्मेवारीसँग जोडिन्छ । धनगढी उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी स्थानीय कानुनसमेत बनाएको छ । त्यसैले देवहरिया गौशालाको वर्तमान अवस्थालाई नगरपालिकाको नीति तथा कानुनी जिम्मेवारीको दृष्टिले पनि हेर्नुपर्ने हुन्छ ।

नेपालको मुलुकी अपराध संहिता, २०७४ ले पशुपक्षीप्रति निर्दयी व्यवहार गर्न निषेध गरेको छ । संहिताको दफा २९० ले आफूले पालेको पशुपक्षीलाई रोगी वा वृद्ध भएको कारण सार्वजनिक रूपमा छाड्न तथा पशुपक्षीप्रति निर्दयी वा क्रुर व्यवहार गर्न नहुने व्यवस्था गरेको छ । त्यस्तै, गाई वा गोरुलाई चोट पु¥याउने वा मार्ने नियतले गरिने कार्यलाई समेत कानुनले कसुरका रूपमा परिभाषित गरेको छ ।

गाईलाई कुटपिट नगर्नु मात्र पशु कल्याण होइन । संरक्षणको जिम्मेवारी लिइसकेपछि आवश्यक खाना, पानी, आश्रय तथा उपचार उपलब्ध गराउने विषय पनि पशु कल्याणसँग जोडिन्छ । यद्यपि, देवहरिया गौशालामा कानुन उल्लंघन भएको निष्कर्षमा पुग्नुअघि सम्बन्धित निकायले स्थलगत अनुगमन, स्वास्थ्य परीक्षण, मृत्यु भएका पशुको विवरण र अन्य प्रमाणको आधारमा छानबिन गर्नुपर्ने हुन्छ ।

देवहरिया गौशालामा देखिएको समस्या केवल गाईको सङ्ख्या धेरै भएको विषयमा सीमित छैन । यो स्थानीय सरकारको व्यवस्थापन क्षमता र सार्वजनिक स्रोतको उपयोगसँग समेत जोडिएको विषय हो । गौशालामा चार सयभन्दा बढी गाई हुँदा समेत दैनिक आवश्यक पर्ने घाँस, पराल र दानाको व्यवस्थापन गर्न नसक्नु उपमहानगरपालिकाको कमजोरी देखिन्छ ।

देवहरिया गौशालाको तत्कालीन आवश्यकता गाईको सङ्ख्या गन्नु मात्र होइन, तिनको स्वास्थ्य र बाँच्ने अवस्था सुनिश्चित गर्नु हो । पहिलो चरणमा गौशालामा रहेका सबै गाईको स्वास्थ्य परीक्षण आवश्यक देखिन्छ । बिरामी, घाइते, वृद्ध र अत्यन्त कमजोर गाई छुट्याएर विशेष उपचार र पोषणको व्यवस्था गर्नुपर्छ । त्यसपछि चार सयभन्दा बढी गाईका लागि दैनिक आवश्यक पर्ने चारा, दाना र पानीको वैज्ञानिक हिसाब निकालेर नियमित आपूर्ति सुनिश्चित गर्नुपर्छ ।

चरिचरनका लागि पर्याप्त क्षेत्र नभए वैकल्पिक व्यवस्था खोजिनुपर्छ । हेरालुको सङ्ख्या पनि गाईको सङ्ख्या र कामको भारअनुसार पुनरावलोकन गर्न आवश्यक छ ।पशु स्वास्थ्य सेवाका लागि नियमित रूपमा पशु चिकित्सक वा दक्ष प्राविधिकको पहुँच सुनिश्चित गरिनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा, गौशालाको अभिलेख पारदर्शी हुनुपर्छ । गौशाला सडकमा छाडा गाई हटाउने ठाउँ मात्र होइन । त्यहाँ पुगेपछि ती पशु स्थानीय सरकारको संरक्षणमा हुन्छन् । त्यसैले सडकबाट गाई उठाएर गौशालामा पु¥याएपछि सरकारको जिम्मेवारी सकिँदैन । त्यहीँबाट वास्तविक जिम्मेवारी सुरु हुन्छ ।

देवहरियाको चार सयभन्दा बढी गाईको अवस्था अहिले यही जिम्मेवारी कति पूरा भइरहेको छ भन्ने प्रश्नको ऐना बनेको छ । चार सय गाई, पाँच हेरालु र सीमित स्रोतसाधनबीच देवहरिया गौशालाले एउटा गम्भीर प्रश्न गरिरहेको छ– छाडा चौपाया व्यवस्थापनको नाममा बनाइएको गौशाला साँच्चिकै संरक्षणको केन्द्र बनेको छ कि व्यवस्थापनको बोझ थुपार्ने ठाउँ ?

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २६ गते मंगलबार